‘कर्मचारी अभावका कारण काम प्रभावकारी हुन सकेन’
मुसीकोट : प्रदेश मन्त्रालयमा कर्मचारीको अभावका कारण प्रदेश सरकारले प्रभाकारी रुपमा काम अगाडि बढाउन नसकेको कर्णली प्रदेशका भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री बिमला केसीले बताएकी छिन्।
बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा प्रेस चौतारी र प्रेस सेन्टर रुकुम पश्चिमले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री केसीले प्रदेशमा रहेका बिभिन्न मन्त्रालयहरुमा आवश्यक परेका कर्मचारीहरुको एक तिहाई पनि उपस्थिती नभएकोले कर्माचारी आपुर्तीका लागि केन्द्र सरकारसँग माग गरिएको बताइन्।
मन्त्री केसीले विभिन्न बिधेयकहरुको अभावका कारण पनि प्रदेश संसदले काम गर्न नसकेको गुनासो गरिन्। प्रदश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्न कानुन अधिकृत नहुदाँ पनि कानुनी जटिलता खड्किएको उनको भनाई थियो। ‘संघीय व्यवस्थाको सुरुवाती चरणमा भएका कारण हामी यतिबेला अभावका बिचबाट पनि काम गरिहेका छौ।’
मन्त्री केसीले भनिन्, ‘अभाव हुदाँहुदै पनि हामी कर्णली प्रदेशको कामलाई द्रुत गतिमा अगाडी बढाउन हर दिन मेहनत गरिहेका छौ।’
प्रदेश सभाको पहिलो बैठकबाट कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा केन्द्रित रहेर २१ बुदेF निर्णय समेत गरेर काम थालिएको बताउदै मन्त्री केसीले अगामी आर्थिक बर्षको बजेट असार १ गते नै आउने बताइन्। पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीका साथै कर्णली प्रदेश सभा सदस्यद्धय रातो कामी र देवी ओली तथा ५ नं. प्रदेश सभा सदस्य आशा स्वर्णकारको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा बोल्ने सबै संसदहरुले संघीय व्यस्थामा रुकुम पश्चिम र पूर्वको विकासका लागि बिशेष जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए।