सुपर सिक्स पुग्ने नेपालको सम्भावना जीवितै

सुपर सिक्स पुग्ने नेपालको सम्भावना जीवितै

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको बिहीबार जिम्बाबेमा खेलिएको स्कटल्यान्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको छ । एक सय ५० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले ५१ बल बाँकी रहँदै जित हात पार्‍यो । लगातार दोस्रो खेलमा पराजित भए पनि नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना भने जीवितै छ । आफ्नो पहिलो खेलमा नेपाली टोली जिम्बाबेसँग पराजित भएको थियो ।

स्कटल्यान्डलाई जित दिलाउन कप्तान कायल कोइट्जरले अविजित ८८ रन बनाए । एक सय ३६ बलको सामना गरेका कोइट्जरले तीन छक्का र सात चौका हिर्काए । क्रेग वालेन्सले १७, कालुम म्याकलिडले १५ र म्याथु क्रसले १४ रन बनाए । नेपालका वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले पनि एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले लगातार विकेट गुमाउँदा निर्धारित ५० ओभर पनि खेल्न सकेन । नेपाली टोली ४७.४ ओभरमै केवल एक सय ४९ रन बनाउँदै अलआउट भयो । नेपालको पालिमा कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । वसन्त रेग्मीले अविजित २४ रनको योगदान गरे । ७५ बल खेलेका पारसले १० चौका प्रहार गरे । ५१ बल खेलेका वसन्तले एक चौका हिर्काए । यसैगरी सोमपाल कामी १८, रोहितकुमार पौडेल १५ र सन्दीप लामिछानेले ६ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले एक र दिलीप नाथ चार रनमा आउट भए ।

स्कटल्यान्डका बलर स्टुवार्ट ह्वाइटिंगमले तीन विकेट लिए । सफ्यान सरिफ र अलास्दायर इभन्सले दुई÷दुई तथा रिची वेरिङ्टोन र टम सोलले एक÷एक विकेट हात पारे ।

लगातार तीन खेल जितेको स्कटल्यान्ड ६ अंकसहित समूह ‘बी’को पहिलो स्थानमा छ । नेपालले सुपर सिक्स चरणमा पुग्ने आफ्नो बाँकी दुई खेलम अफगानिस्तान र हङकङलाई हराउनुपर्नेछ भने अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

समूह ‘ए’ र ‘बी’का शीर्ष तीन÷तीन टोलीले सुपर सिक्स चरणमा पुगेर विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.