गौरी गाईको मासु भाग लगाउँदै गर्दा चार पक्राउ

गौरी गाईको मासु भाग लगाउँदै गर्दा चार पक्राउ

हेटौंडा : संरक्षित वन्यजन्तु गौरी गाईको सिकार गर्ने चार जनालाई पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेका छन्। गौरी गाईको सिकार गरी मासुको तयारी गर्दागर्दै मनहरी गाउँपालिका ४ मुलखोलाबाट पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुलखोलाका ३४ वर्षीय सूर्यबहादुर गोले, ५४ वर्षीय सिंगराम स्याङ्तान, ५८ वर्षीय मानबहादुर मुक्तान र ३६ वर्षीय लालबहादुर थिङ रहेका छन् । गाउँलेको सहभागितामा गौरी गाई मारेर मासु काटिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट तीन क्विन्टल गौरीगाईको मासु, मासु काट्न प्रयोग भएका हतियार बरामद भएको निकुञ्जका वार्डेन हरिभद्र आचार्यले बताए ।

शुक्रबार दिउँसो सुराकीको आधारमा पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको तितुङले जानकारी दिए । अनुसन्धानपछि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिने आचार्यले बताए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तितिुङका अनुसार गाउँमा एक सय जनाको हाराहारीमा मानिस भेला भई गौरी गाई मारेर मासु काटिरहेका थिए । ‘नेपाली सेनासहितको हाम्रो टोली पुग्नासाथ गाउँलेहरु भागे’, उनले भने । घटनाको बारेमा अनुसन्धान भइरहेको र पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको वार्डेन आचार्यले बताए ।

उनका अनुसार गौरी गाई, गँैडा, बाघ, हात्ती, हिउँ चितुवा, कस्तुरी र ध्वाँसेको सिकार गरेमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.