राजधानीमा घोडचढी तालिम

राजधानीमा घोडचढी तालिम

काठमाडौं : टुँडिखेलमा घोडेजात्राको रौनक हेर्र्ने शनिबार दर्शकहरूको भीड खचाखच थियो। तर, घोडेजात्राको रौनक भने प्रत्येक वर्ष खस्किँदो छ। ‘राजधानीमा घोडाको महŒव आज घोडेजात्रामा मात्र सीमित हुँदैछ। कि विवाहका बेला बग्गी गुडाउन प्रयोग हुन्छ, त्यत्ति हो’, नेपाली सेनाका अवकाश प्राप्त हबलदार हरिशरण श्रेष्ठ भन्छन्।

‘सहरबजारमा घोडा पाल्न त्यत्तिकै गाह्रो छ। दिनको चारपटक खुराक दिनै पर्‍यो। त्यसमा पनि घोडाको आयु जम्मा बीस वर्षको मात्र हुन्छ। सुल नामक रोग लागेमा यो छिनमै मर्नसक्छ। त्यसैले त अचेल घोडा सोखका लागि र वेडिङ अर्गनाइजिङ संस्थाले मात्र पाल्छन्’, लामो समय घोडाको स्याहारमा संग्लग्न श्रेष्ठ आफ्नो अनुभव सुनाउँछन्। घोडाले चना, मकैको च्याँख्ला, घाँस, पराल र सख्खर खान्छ। ‘घोडाको आनीबानी थाहा पाउनु आवश्यक छ, घुलमिल हुन जान्नुपर्छ, हैन भने घोडा सम्हाल्न सकिन्न’, उनले थपे। अवकाशपछि वेडिङ नेपालमा घोडाको रेखदेखमा उनी विगत सात महिनादेखि संग्लग्न छन्।

नेपालीमा एउटा उखान छ, घोडा चढ्ने लड्छ। तर, राजधानीलगायत सहरमा घोडा चढ्ने वातावरण छैन। घोडाको महŒव घोडेजात्रामा मात्र सीमित हुने अवस्था आएपछि घोडेजात्राको अवसर पारेर वेडिङ नेपालले फाइङ हर्स एकेडेमीको औपचारिक सुरुआत गरेको छ। नेपाल वेस्टर्न एसोसिएसनका वरिष्ठ उपाध्यक्ष भिक्टर जबरा र नायक कर्मा शाक्यले शनिबार कार्यक्रम उद्घाटन गरेका थिए।

घोडसवारीमा दक्ष बनाउने उद्देश्यले एकेडेमीको कोर्स सञ्चालन गरेको वेडिङ नेपालका अध्यक्ष महमद फाजिलले जानकारी दिए। हर्स राइडिङ सिक्न चाहनेलाई तालिम दिएर दक्ष बनाइने उनले बताए। नेपालमा घोडा चढ्ने इच्छा धेरैलाई छ तर ठाउँको अभाव छ। घोडा चढ्ने संस्कृति विकास गर्न नयाँ योजनाहरू ल्याउनुपर्ने उनको विचार छ। वेडिङ नेपालसँग हाल भारतबाट ल्याइएका ११ घोडा छन्।

घोडचढीको मज्जा लिन आएका राजु स्थापित घोडा चढ्न पाउँदा निकै उत्साहित थिए। घोडा चढ्दा केही डर पनि लाग्छ तर निकै फरक अनुभूति हुन्छ। उनले खुसी हुँदै भने, ‘यस्तो फरक खालको अनुभव लिन पाउने ठाउँहरू बढ्दै जानुपर्छ जसबाट नयाँ पुस्ताले पनि केही सिक्न पाऊन्।’ घोडचढी गर्दा दुई सय रुपैयाँको टिकट काट्नुपर्छ।

वेडिङ नेपालका मार्केटिङ हेड सोनिया श्रेष्ठले वेडिङ सेरोमोनीमा घोडाको माग बढी हुने बताइन्। ‘भिक्टोरिया बग्गी, एसी बग्गी, पटियाला बग्गी आदिको बढी माग हुन्छ’, उनले भनिन्। वेडिङ नेपालले विवाहका लागि आवश्यक बग्गी र घोडा व्यवस्था गर्दै आएको छ। अहिले फाइङ हर्स एकेडेमीको सुरुआत गरेसँगै वेडिङ नेपालले घोडचढीमा तालिम पनि दिने भएको हो। फ्लाइङ हर्सको तालिम ललितपुरको धापाखेलमा गराइनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.