तस्करीको सुन हराउँदा भरियाको हत्या

तस्करीको सुन हराउँदा भरियाको हत्या

विराटनगर : प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सुन तस्कर गोरे एवं रूपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ। आफ्नो सहयोगीका रूपमा रहेका उर्लाबारी-७ का ३५ वर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

शाक्य तीन वर्षदेखि भरियाका रूपमा कार्यरत रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए। ‘चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको छ’, एसपी बीसीले भने।

उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो। फागुन १५ गते शाक्यको अपहरण भएको थियो। उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ। भारततर्फ कटाउन खोज्दै गर्दा विराटनगर-३ को दुर्गा चोकनजिकै गोधुली मार्गमा काभ्रे मन्डनदेउपुर गाउँपालिकाका २९ वर्षीय टेकराज मल्ल ठकुरीले चलाएको बा.१२च ५९६३ नम्बरको स्कर्पियोमा प्रहरीले फागुन १९ गते शव फेला पारेको थियो।

प्रहरीले स्कर्पियो र त्यसकै पछाडि गुडिरहेको मे.१च ५३९५ नम्बरको गाडीसहित चालक ठकुरी, उर्लाबारी-५ का ३७ वर्षीय मने भनिने मोहन काफ्ले र उर्लाबारी-७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्कीलाई नियन्त्रणमा लिएको थियो। शाक्यसहित काफ्ले र कार्कीलाई उप्रेतीले सुन तस्करीमा भरियाका रूपमा प्रयोग गर्दै आएको खुलेको छ। काफ्ले र कार्कीलाई पनि सुन लुकाएको आरोप उप्रेतीले लगाउँदै आएका थिए।

‘चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याएको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई भरियाको हत्या गरेको खुलेको छ।’ -अरुणकुमार बीसी, मोरङ प्रहरी प्रमुख

प्रहरीले घटनामा संलग्न अर्का अभियुक्तलाई पनि पक्राउ गरेको छ। झापा मेचीनगर नगरपालिका-१३ का ३० वर्षीय लाक्पा शेर्पालाई फागुन २५ गते बिर्तामोड प्रहरीले पक्राउ गरेर मोरङ प्रहरीको जिम्मा लगाएको हो। उप्रेतीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ। उनकै नेतृत्वमा भएको घटनामा १२ जनाभन्दा बढीको संलग्नता खुलेको र अन्य अभियुक्त पनि पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन भएको जनाइएको छ। ‘प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उप्रेती मुख्य अभियुक्त रहेको पत्ता लागेको छ’, बीसीले भने।

उप्रेतीविरुद्ध शाक्य परिवारले प्रहरीमा जाहेरी दिइसकेको छ। उक्त घटनाविरुद्ध गठित संघर्ष समितिले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएको छ।

गत वर्ष पुस २१ गते यूएईबाट नेपाल ल्याइएको ३३ किलो सुन पक्राउ काण्डमा उप्रेतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.