स्थानीयकै पहलमा एकीकृत बस्ती

स्थानीयकै पहलमा एकीकृत बस्ती

 

बगुवा (गोरखा) : भूकम्पले विस्थापित भीमसेनथापा गाउँपालिका-५ बगुवाका बासिन्दाले आफ्नै पहलमा एकीकृत बस्ती निर्माण गरेका छन्। साविक बगुवा गाविस-४ र ५ का रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ र नयाँगाउँका १ सय ३८ घरधुरीका बासिन्दाले आफ्नै पहलमा मिलनबस्ती नामको एकीकृत नमुना बस्ती निर्माण गरेका हुन्।

एकीकृत मिलनबस्ती पुनर्निर्माण तथा विकास समिति नामको समिति बनाई स्थानीयले लामाचौरमा सामूहिक बस्ती बनाइरहेका हुन्। उक्त बस्तीमा घर बनाउन शनिबार जग्गा वितरण गरिएको छ। प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य हरिराम पराजुलीले गाउँलेलाई लालपुर्जा वितरण गरेका हुन्।

यसअघि सार्वजनिक र व्यक्तिको नाममा रहेको दुई सय रोपनी जग्गालाई एकीकृत गरी फेरि व्यक्तिको नाममा लालपुर्जा बनाएर वितरण गरिएको मिलनबस्ती मिलन समाजका महासचिव रामहरि श्रेष्ठले जानकारी दिए। उक्त जग्गामध्ये १ सय ५ रोपनी जग्गामा निजी घर बनाइने र बाँकीमा सामुदायिक भवन, स्वास्थ्य चौकी, विद्यालय, ढल, खेलमैदान, प्रतीक्षालयजस्ता संरचना निर्माण गर्ने समितिको योजना रहेको महासचिव श्रेष्ठले जानकारी दिए।

मिलन बस्तीमा अहिले ३० वटा घर निर्माणको काम भएको श्रेष्ठले जानकारी दिए। अति विपन्न, एकल महिला, दलितको ३० घर अक्सफाम नामक गैरसरकारी संस्थाले बनाउने जिम्मा लिएको छ।

‘एकीकृत मिलनबस्तीमा ढल, खानेपानी, सडक, बिजुलीबत्ती, विद्यालयजस्ता संरचना पुनर्निर्माण प्राधिकरणले निर्माण गर्नेछ’, कार्यकारी समितिका सदस्य पराजुलीले भने, ‘साथै जीविकोपार्जनका लागि व्यावसायिक तालिम, जनचेतना कार्यक्रम, सशक्तीकरणजस्ता कार्यक्रम पनि गरिनेछ।’ स्थानीय आफैं जुटेपछि यस्तो बस्ती बन्न सक्नेछ भन्ने मिलन बस्तीले नमुना देखाउने उनले विश्वास व्यक्त गरे।

‘यो बस्ती एउटा यस्तो नमुना हो, जसले भूकम्पपीडित अन्य बस्तीका बासिन्दालाई पनि एकीकृत बस्ती निर्माणका लागि प्रेरित गर्नेछ’, पराजुलीले भने, ‘स्थानीय आफंै जुटे भने सरकारले पनि सहयोग गर्नेछ भन्नेबारे यो बस्तीले नमुना प्रस्तुत गर्नेछ।’

समितिले सो जग्गालाई समुदायअनुसार आठ विभिन्न क्लस्टरमा विभाजन गरेको थियो। ‘सिंगै जग्गालाई आठ वटा क्लस्टर बनायौं। क्लस्टर प्रमुख तोक्यौं’, मिलनबस्ती सेवा समाजका महासचिव श्रेष्ठले भने, ‘पहिले क्लस्टरप्रमुखलाई गोला थुतेर क्लस्टर तोकियो। फेरि प्रत्येक क्लस्टर प्रमुखले गोला थुताएर सबैलाई घडेरी जग्गा उपलब्ध गरायौं।’

मिलनबस्तीमा १ घरलाई ५ आना तीन पैसा तीन दामका दरले जग्गा उपलब्ध गराइएको छ। सो जग्गामा एउटै ढाँचामा घर बनाउने समितिको योजना छ। ‘सबै घर एकै खालका हुनेछन्। त्यसका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन जगतकुमार श्रेष्ठ, जो स्थानीय पनि हुनुहुन्छ, उहाँले नक्सा बनाउनुभएको छ’, उक्त वडाका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने, ‘एउटै रङको वातावरणमैत्री जस्ताको छानो, बार्दली निकालिएको परम्परागत घर बन्नेछ।’ घर बनाउन इन्टरलक गरिएको इँटा पनि सोही ठाउँमा उत्पादन गरिएको उनले बताए। बस्तीको माझमा २० फुट चौडा बाटो, सामूहिक गोठ आदि बनाइने श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.