रूपन्देही निरन्तर उत्कृष्ट

रूपन्देही निरन्तर उत्कृष्ट

बुटवल : ०५६ सालमा रूपन्देहीका विद्यार्थी मनोज बोहोरा एसएलसी परीक्षामा नेपाल प्रथम बने। न्यु होराइजनका विद्यार्थी मनोज नै लुम्बिनी क्षेत्रकै पहिलो बोर्ड फस्ट हुन्। सम्भवत : पश्चिमाञ्चल विकास क्षेत्रमा तेस्रो बोर्ड फस्ट विद्यार्थी।मनोजले एसएसली टप गरेको १८ वर्ष पुग्यो। त्यसयता रूपन्देहीले विद्यालय तहको शैक्षिक विकासमा ठूलो फड्को मारेको छ। रूपन्देहीको बुटवल शैक्षिक हबकै रूपमा चिनिएको छ, पढ्नकै लागि काठमाडौं पुग्नुपर्छ भन्ने मान्यतालाई तोड्न थालेको छ।

०५६ यता रूपन्देहीले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको एसएलसी अहिलेको एसईईको नतिजा नै विद्यालयको शैक्षिक गुणस्तरको मापदण्ड मानिन्छ। ०५६ पछि ०५८ मा बोर्ड सेकेन्ड पवन शर्मा र ०५९ मा बोर्ड फस्ट विशाल ज्ञवाली पनि रूपन्देहीको होराइजनका विद्यार्थी हुन्। ०६० मा एभरेस्टका विशाल खनाल बोर्ड फस्ट बने।

०६२ सालमा बोर्डफस्टको घोषणा रोकिए पनि रूपन्देहीबाट उत्कृष्ट हुने क्रम भने रोकिएको छैन। १७ औं वर्ष अर्थात् ०७३ सालमा रूपन्देहीका दुई जना विद्यार्थीले जीपीए ४ ग्रेड ल्याए। यस ग्रेड ल्याउने मुलुकका तीन विद्यार्थीमध्ये रूपन्देहीका तीनै जना हुनुले पनि यो क्षेत्रको शैक्षिक गुणस्तर अब्बल छ भन्ने देखिन्छ। ०७३ मा रामापुर रिभाइबलका आदर्श पाण्डे र आवर पिसल्यान्ड एकेडेमीका निशान्त पाण्डेले ४ जीपीए ल्याएका थिए। ०७२ मा पनि रूपन्देहीकै सुनगाभा पब्लिक माविकी समीक्षा सुवेदीले ४ जीपीए प्राप्त गरिन्। यसबीचमा रूपन्देहीका झण्डै एक दर्जन विद्यार्थी विद्यालय तहको अन्तिम परीक्षा एसएलसी वा एसईईमा पहिलो÷दोस्रो भएका छन्।

यस्तो नजिता निजी विद्यालयमा मात्रै होइन, सामुदायिकमा पनि छ। न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय भन्छन्, ‘रूपन्देहीले शैक्षिक विकासमा ठूलै छलाङ मारेको छ। यहाँ विद्यालय र विद्यार्थी संख्या मात्रै होइन, गुणस्तर पनि निकै बढेको छ।’

शैक्षिक गुणस्तर विकासमा सामुदायिक विद्यालयमा जागरण नै चलेको छ। शैक्षिक नतिजामा निजी विद्यालयको हाबी देखिएपछि पछिल्लो पाँच वर्षमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निकै वृद्धि भएको छ। सामुदायिक विद्यालयमै पढ्न पाऊँ भन्दै सयौं विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुने गरेका छन्।

मुलुककै नमुना विद्यालयको पुरस्कार जितेको कालिका माध्यमिक विद्यालयमा मात्रै झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन्। रूपन्देहीको कालिका, कान्ति, नवीन औद्योगिक, शान्ति नमुना उत्कृष्ट बन्दै आएका विद्यालय हुन्। शान्ति नमुनाकी विद्यार्थी भावना अर्याल बोर्डमा द्वितीय भएकी थिइन्। छात्रातर्फ भने नेपाल प्रथम नै। तर, बोर्ड फस्टको घोषणा प्रचलन नभएकाले उनको दाबी मात्रै मानियो।

०७१ र ०७२ मा प्राविधिकतर्फ उत्कृष्ट बनेको कालिका मावि ०७३ मा सबैतर्फ उत्कृष्ट बन्यो। बुटवलकै कान्ति मावि प्रदेश ५ कै उत्कृष्ट भयो। ‘उत्कृष्ट नतिजा ल्याएकै कारण कालिकाले तीन वर्ष मुलुकमै उत्कृष्टको सम्मान पायो, प्रधानाध्यापक घनश्याम पाठक भन्छन्, ‘पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आइरहेको छ।’

विद्यालय तहको गुणस्तर वृद्धि भएकै कारण प्रदेश ५ को मुख्य शैक्षिक केन्द्रका रूपमा बुटवल विकास हुँदै गएको छ। विद्यालय तहदेखि उच्च तहसम्मका लागि बुटवल उत्कृष्ट छ।

जिल्ला शिक्षा कार्यालय रूपन्देहीको तथ्यांकअनुसार विद्यालय तहमा १ लाख ९३ हजार ५ सय ८८ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये १ लाख १६ हजार ५ सय १ विद्यार्थी सामुदायिक विद्यालयका हुन्। ८ सय १४ विद्यालयमध्ये ३ सय ६४ विद्यालय सामुदायिक छन्। पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको विद्यालय निरीक्षक हरि विष्टले बताए। यस वर्षको एसईईमा रूपन्देहीबाट १७ हजार ४ सय ५५ विद्यार्थी सामेल हुँदै छन्।

बुटवल साविक लुम्बिनी अञ्चलको मुख्य शैक्षिक केन्द्र हो। उत्कृष्ट विद्यालय भएकै कारण अभिभावकहरूको विश्वास बढ्दै छ। कुनै समय शैक्षिक हबको रूपमा रहेको पाल्पाको तानसेनलाई ओझेलमा पार्दै बुटवलले शैक्षिक विकासमा फड्को मारेको छ। तीव्र गतिको विकास भने करिब डेढ दशकअघिदेखि मात्रै हो।

रूपन्देहीका विद्यालयले प्रयोगात्मक कक्षामा जोड दिएका छन्। जसकारण गुणस्तर बढेको हो। कमजोर मानिने दक्षिणी क्षेत्रका विद्यालयमा पनि भौतिक पूर्वाधार विकासको काम थालिएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएपछि शैक्षिक गुणस्तरको विकासमा काम सुरु भएको छ।

बुटवलस्थित नवीन औद्योगिक माविमा प्रयोगात्मक कक्षा हुन्छन्। समुदायसँग विद्यार्थीलाई जोडेर गरिने प्रयोगात्मक कक्षाले सिकाइ उपलब्धिदर बढेको छ। विद्यालयका प्रअ प्रेम बस्नेत भन्छन्, ‘सिकाइ उपलब्धि बढाउने अनेक उपाय अलवम्बन गरेर पठनपाठन गराएका छौं।’

कालिका माविले विद्यार्थीलाई नै शिक्षकमा रूपमा पढाउने अभ्यास गराउँछ। यसले विद्यार्थीलाई पढ्नुपर्छ भन्ने विकास गराएको छ। कमजोर स्रोत साधनबीच पनि जिल्लाका सामुदायिक विद्यालयको नतिजा अब्बल हुँदै गएको छ।

उच्च शिक्षामा पनि उस्तैै

एसएलसी र एसईईमा आधा दर्जन बोर्डफस्ट निकालेको रूपन्देही उच्च शिक्षाका लागि पनि अब्बल मानिन्छ। पछिल्लो दशक बुटवल शैक्षिक हबका रूपमा विकास हुँदै गएको छ। यस क्षेत्रमै सुविधासम्पन्न कलेजहरू सञ्चालनमा रहेकाले उच्च शिक्षाका लागि राजधानी काठमाडौं धाउनै नपर्ने शिक्षासम्बद्ध सरोकालवालाहरू बताउँछन्।

रूपन्देहीको विशेषगरी बुटवलमा ए लेभलदेखि उच्च सुविधा भएका शैक्षिक प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्। एसईई पास गरेका विद्यार्थीले कानुन, कृषि प्राविधिकदेखि लिएर होटल म्यानेजमेन्ट, नर्सिङ, विज्ञान विषयसम्म बुटवलमै पढ्न सकिने व्यवस्था छ।

बुटवलमा अध्ययरनरत विद्यार्थीहरू व्यवस्थापनमा पटक-पटक पश्चिमाञ्चल प्रथम भएका छन् भने विज्ञानमा काठमाडौंका नामी कलेजभन्दा राम्रो नतिजा ल्याएका छन्। व्यवस्थापन विषयमा न्यु होराइजन, तिलोत्तमा, एम्स, एचिभर्स कलेज बढी विश्वासिलामा मानिन्छन्। विज्ञान संकायका लागि ए लेभल सञ्चालन गरिरहेको बुटवल पब्लिक सहितका तिलोत्तमा, अक्सफोर्ड, होराइजन, मणिमुकुन्द, दीप उच्च मावि अब्बल रहेका छन्। ग्लोरियस, क्यानन्, एभरेस्ट, सिद्धार्थ, प्यारामाउन्ट माविले समेत व्यवस्थापन र विज्ञान विषय चलाएका छन्। विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको बढी चाप छ।

रूपन्देहीमा कृषि, स्वास्थ्य, इन्जिनियरिङ, शिक्षा, व्यवस्थापन, मानविकी, कानुन, पत्रकारिता विषयको अध्यापन हुने गरेको छ। सुविधायुक्त कलेज भए पनि बुटवलबाट एसईई पास गर्नेमध्ये ४० प्रतिशत विद्यार्थीहरू अध्ययनका लागि बाहिर जाने गरेका छन्।

जिल्लामै गुणस्तरीय शिक्षा दिने कलेजहरू भएकाले आथिर्क भार पर्ने गरी काठमाडौं वा अन्यत्र जानुनपर्ने अभिभावकको बुझाइ छ। नेपालगञ्जपूर्वका विद्यार्थीले अध्ययन गर्ने शैक्षिक केन्द्र नै बुटवल बनेको छ।

नर्सिङ, होटल म्यानेजमेन्टका कक्षाहरू समेत बुटवलमा सञ्चालन छन्। सुविधासम्पन्न विज्ञान प्रयोगशाला भएका कलेजहरू आधा दर्जनभन्दा बढी रहेका छन्। वातानुकुलित कक्षाकोठा, यातायात सुविधा, सहुलियत शुल्क बुटवलका विशेषता हुन्। अभिभावककै निगरानीमा रहेर उच्च शिक्षा लिनका लागि पनि बुटवलकै कलेज रोज्ने गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.