कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मुख्यमन्त्री शाहीको उद्घोष
भक्तपुर : प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ प्रदेश गरिबी र आर्थिक अभावबीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरेर भ्रष्टाचारमुक्त प्रदेशका रुपमा परिचित गराउने बताए ।
देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा टेवा पुुर्याउने भन्दै शाहीले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताए ।
प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना गतिविधिलाई तिब्रताका साथ कायान्वयनमा ल्याउने बताए । प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा समस्या देखिएको उनले स्वीकार गरेका छन् ।
कर्णाली प्रदशेलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उनले बताए । उनले सामाजिक सञ्जालले विकासका गतिविधि भन्दा पनि विकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने बताए ।