निर्वाचन समीक्षामा जुट्यो कांग्रेस
काठमाडौं : निर्वाचन सम्पन्न भएको तीन महिना बितेपछि कांग्रेसले त्यसको समीक्षा गर्न लागेको छ। शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा उसले निर्वाचन समीक्षालाई प्रमुख एजेन्डा बनाएको छ।
निर्वाचनमा पराजयसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएकाले मुख्य रूपमा त्यसै विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। निर्वाचनलगत्तै युवा नेताहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै समीक्षामा जुट्न दबाब दिएका थिए। तर सभापति देउवाले आफू सरकारबाट बाहिरिएपछि महासमिति भेला बोलाउने आश्वासन नेताहरूलाई दिएका थिए।
सभापति निकट स्रोतका अनुसार वैशाख अन्तिम साता कांग्रेसले महासमिति बैठक गर्ने आन्तरिक तयारी गरिरहेको छ। केन्द्रीय कार्यसमिति बैठकले नै यसको निर्णय लिनसक्ने नेताहरूले जनाएका छन्।
निर्वाचनको समीक्षाका लागि बैठक डाकिएसँगै पछिल्लो समयमा पार्टीभित्रका गुटगत भेला तीव्र भइरहेको छ। बुधबारदेखि नुवाकोटमा सुरु भएको जिल्ला कोषाध्यक्षको भेलामा शीर्ष नेताहरू सभापति देउवामाथि खनिएका थिए भने देवापक्षधर नेताहरूले त्यसको प्रतिरोध गरेका थिए।
शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन समीक्षा प्रमुख एजेन्डा।
निर्वाचनमा पार्टीले हार व्यहोरेपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले माघ ४ गते कांग्रेसका प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई आ–आफ्नो निर्वाचन क्षेत्रको बारेमा रिपोर्टिङ गर्न निर्देशन दिएको थियो। सबै जिल्लाबाट रिर्पोर्टिङ आइसकेको कांग्रेसको अनुशासन समिति संयोजक रमेश रिजालले बताए। स्थानीय तह निर्वाचनमा दोस्रो भएपछि सभापति देउवाले रिजालको नेतृत्वमा तीन सदस्यीय पार्टीको अनुशासन समिति बनाएका थिए। समिती पछिल्लो समय देशैभरिबाट निर्वाचनसम्बन्धी पार्टीको आन्तरिक उजुरी संकलन गरेर छानबिन सुरु गरेको छ। उक्त रिपोर्टमाथि कार्यसमिति बैठकमा छलफल हुने रिजालले जानकारी दिए। उनका अनुसार करिब २० जिल्लाको बारेमा भने यसअघिकै बैठकमा कुरा भइसकेको छ।
नेता बालकृष्ण खाँणले संघीय संरचनामा जाने, पदाधिकारी थप्नेलगायत विषयमा अनौपचारिक छलफल सुरु भए पनि निर्णय भइनसकेको बताए। कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको अभिलेख चुस्तदुरुस्त राख्ने व्यवस्था पनि मिलाएको छ। बैठकमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मले बोलेको कुरालाई टिपोट गरेर पार्टी कार्यालयमा सुरक्षित राख्न लागिएको हो।