बैठक ढिलाइमा ध्यानाकर्षण
विराटनगर : प्रदेशसभा बैठक निर्धारित समयमै सञ्चालन गर्न प्रदेश १ का सांसदले सभामुखको ध्यानाकर्षण गराएका छन् । सातौं बैठकमा बोल्ने प्रदेश सांसदले निर्धारित समयमै बैठक सञ्चालन गर्ने वातावरण मिलाउन सभामुख प्रदीपकुमार भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।
बैठक बिहीबार १२ बजेका लागि तोकिए पनि डेढ घन्टा ढिलो सुरु भएको थियो । दोस्रो बैठक पनि ढिलो गरी सुरु भयो । सांसदलाई उपलब्ध गराउन नियमावली फोटोकपी गर्न ढिलाइ हुँदा बुधबारको बैठक पनि दुई घन्टा ढिलो सुरु भएको थियो ।
बिहीबारको बैठकमा सभामुखले उपलब्ध गराएको समयमा बोल्दै सांसद सर्वध्वज साँवा लिम्बूले बैठक समयमा नभए के गर्ने भन्ने प्रश्न गर्दै समयमै सुरु गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए । भने, ‘१ बजे भन्यो ३ बजे सुरु हुन्छ, १२ बजे भन्यो १ बजे सुरु हुन्छ । बैठक समयमै हुनुपर्छ ।’
सांसद हीराकुमार थापाले समयमै सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने बताए । भने, ‘समयमा सूचना सम्प्रेषण गर्ने व्यवस्था गर्नुपर्छ ।’बिहीबारको बैठकले प्रदेशसभा नियमावली २०७४ संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको छ । नियमावली मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस भन्ने प्रस्ताव पेस गरेकामा त्यसउपर उषाकला राईले संशोधन प्रस्ताव राखेकी थिइन् । नियमावलीको मस्यौदा बुधबारको बैठकमा पेस गरिएको थियो । बिहीबारको बैठकमा संयोजक अधिकारीले विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
सांसद राईले नियमावलीको परिच्छेद ९ को शून्य समयको बारेमा राखिएको तीन मिनेट समयमा सहमति रहेको तर प्रश्नोत्तर र शून्य समय मर्ज गरेको भए प्रश्नोत्तर काट्नुपर्ने संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव संशोधनसहित सभामुख भण्डारीले बैठकमा निर्णयार्थ पेस गरेपछि सर्वसम्मतिले पारित भएको हो । अब मस्यौदामा उल्लेख भएको प्रश्नोत्तरको सट्टा शून्य समयमा समावेश गरिएको छ ।
सांसद केदार कार्कीले प्रदेशसभा नियमावली सर्वसम्मतले पारित भएजस्तै अरू विषयमा पनि सहमति हुनुपर्ने बताए । अर्को बैठक चैत १४ गते १ बजे बस्ने भएको छ ।