विदेशबाट मतदान गर्न पाउने व्यवस्था गर्न विवेकशीलको माग
काठमार्डौ : विवेकशील साझा पार्टीले विदेशमा रहेका नागरिकको मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्न आवश्यक कानुन बनाउन माग गरेको छ । चैत ७ गते सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
सर्वोच्चको आदेशको स्वागत गर्दै विवेकशीलले नीतिगत तहमा नेपाल सरकारले यस अघि नै प्रतिवद्धता जनाएको र सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरेको हुँदा आवश्यक कानुनको यथाशिघ्र निर्माण गरी विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने कानुनी व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार, संघीय संसद र निर्वाचन आयोग समक्ष अनुरोध गरेको छ ।
लाखौंको संख्यामा देशको युवा जनशक्ति विदेशमा कार्यरत रहेको र देशको अर्थतन्त्र नै रेमिटेन्समा आधारित रहेको सन्दर्भमा सर्वोच्च आदेश लोकतान्त्रिक अधिकारका हिसावले मात्र नभएर प्राकृतिक न्यायको सिद्धान्तका दृष्टिले समेत वाञ्छनीय रहेको विवेकशीलका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।