एमालेबाट फोरम हुँदै माओवादीमा पुगे अजम्बर
काठमाडौँ: सङ्घीय समाजवादी पार्टी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट पार्टीमा फर्किएका उनलाई शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरिस डाँडामा स्वागत गरे ।
माओवादीमा प्रवेश गर्दै उनले फोरममाथि आरोपको निशाना साँधे । 'फोरम नेपाल सरकारमा जान पनि खोज्ने र आन्दोलन पनि गर्न खोज्दै दोधारे नीतिमा फसेकाले पार्टी त्यागेको हुँ', उनले भने, 'पहिचान र संघीयतबारेका विमति संविधान संशोधनबाट टुंगो गर्ने सहमति भइसकेको छ । सरकारमा जाने तर आन्दोलनको बाटो पनि नछाड्ने फोरमको अव्यावहारिक कुरामा असहमति रहेकाले माओवादीमा प्रवेश गरेँ ।'
उनले मूलधारको पार्टीबाटै मुलुक निर्माणमा सहभागी हुने चाहना पुरा गर्न माओवादीमा प्रवेश गरेको पनि बताए ।एमालेका तत्कालीन उपाध्यक्ष अशोकुमार राईसहित बाहिरिएर काङमाङसहितले संघीय समाजवादी नेपाल खोलेका थिए ।
तर त्यस पार्टीले गतिलो प्रभाव नछाडेपछि मधेसी जनाधिकार फोरममा बिलय भएको थियो । संघीय समाजवादीमा उपमहासचिव बनेका उनी पछिल्लो समय फोरममा सचिवको भूमिकामा थिए ।
२०४० सालदेखि नै तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको अध्यक्ष पनि भएका थिए । २०६५ मा भएको एमालेको आठौँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका उनले २०६९ मा एमाले छाडेका थिए ।
कांग्रेसको पनि साथ पाएर अजम्बर भोजपुर प्रदेश सभा क मा उम्मेदवार बनेका अजम्बर एमालेका उम्मेदवर राजेन्द्र राईसँग फराकिलो मतले पराजित भएका थिए ।