प्रचण्डको निर्देशन लगत्तै चापागाउँ दोबाटो सडकखण्डको काम अघि बढ्यो
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन लगत्तै ललितपुरको चपागाउँ दोबाटोदेखि खुमलटारसम्मको सडक तत्काल कालोपत्रे हुने भएको छ। लामो समयसम्म पनि बाटो कालोपत्रे नभएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए।
ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए। स्थानीयले बाटो बन्द गरेर विरोध गरेलगत्तै प्रचण्डले तत्काल निर्माण गर्न निर्देशन दिएका हुन्।
ठेकेदारले भने विभिन्न बहाना बनाएर आलटाल गर्दै आएकोमा उक्त क्षेत्रका स्थानीय व्यक्तिले अध्यक्ष प्रचण्डलाई सडक तत्काल कालोपत्रे गर्न पहल गरिदिन अनुरोध गरेका थिए।
अध्यक्ष प्रचण्डले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौता अनुरुप अघि नबढदा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्या समेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न मुख्य सचिव, यातायात सचिव र विभागका निर्देशकसँग छलफल गरेका थिए।
प्रचण्डसँगको छलफलका आधारमा ठेकेदारले कालोपत्रे कार्य तत्काल अघि बढाउने भएको हो। कालोपत्रे कार्य अघि बढाएपनि ढिला सुस्ती भएपछि प्रचण्ड सचिवालयको पहलमा स्थानीय प्रशासन, स्थानयवासी र ठेकेदारबीच चैत्र १५ गतेभित्र सुरुको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडक खण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको छ।
सुरुको पाँचसय मिटरपछि निकै ठूलो मात्रामा फोहोर फालिएको कारण तत्काल काम अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड सचिवालयले फोहोर व्यवस्थापनका लागि समेत महानगरपालिकासँग पहल सुरु गरेको छ। उक्त फोहोरको व्यवस्थापन भएपछि बाँकी खण्डसमेत कालोपत्रे गर्न सुरुगरिने र सबै काम वैशाख १५ भित्र गर्न ठेकेदार पक्ष सहमत भएको छ।
निजी निवास पुग्न प्रचण्डले समेत सोही बाटो प्रयोग गर्छन्।