पसल नहट्दा पुनर्निर्माण अवरुद्ध

पसल नहट्दा पुनर्निर्माण अवरुद्ध

 

ललितपुर : पाटन दरबार स्क्वायर परिसरमा रहेको हरिशंकर मन्दिरको दक्षिण–पश्चिमपट्टिको पेटी अतिक्रमण गरेर सयौं वर्षदेखि सञ्चालित पसल हटाउन नसक्दा पुनर्निर्माण प्रभावित भएको छ।

सत्रौं शताब्दिमा बनेको मन्दिर तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको छ। तर, पेटी ओगटेर सञ्चालन भइरहेका पसलका कारण पुनर्निर्माणको काम अघि बढ्न नसकेको ललितपुर महानगरले जनाएको छ। पछिल्लोपटक पुस १४ मा पुरातत्व विभाग, गुठी संस्थान र महानगरको संयुक्त बैठकले १५ दिनभित्र पसल हटाउन आग्रह गर्दै जारी गरेको सूचनासमेत कार्यान्वयन हुन सकेको छैन। तीन महिना बितिसक्दा पनि पसल खाली नगरी व्यापारीहरूले असारसम्म समय मागेको ललितपुरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।

पुनर्निर्माणको काममा बाधा नपु¥याउन आग्रह गरेको महर्जनले बताए। त्यहाँ पसल सञ्चालन गर्न एक सय ५७ वर्षपहिले नै स्वीकृति दिइएको कागजात भेटिएको उनले जानकारी दिए। अहिले त्यहाँ ५६ वटा पसल सञ्चालित छन्।

दरबार हेरचाह तथा सम्पदा संरक्षण पुरातत्व विभागका प्रमुख काजी प्याकुरेलका अनुसार दरबार स्क्वायर परिसरमा सयौं वर्ष नाघेका पसल सञ्चालनमा छन्। ती पसल मन्दिरको आयआर्जन नभएका बेला पूजाआजाको खर्च जुटाउन सञ्चालन गर्न दिइए पनि कसैको स्वामित्वमा नरहेको जानकारी दिए। उनले भने, ‘व्यापारीहरूले वर्षौंदेखि ती पसल ओगटिरहेका छन्।’

 पाटन दरबार परिसरस्थित हरिशंकर मन्दिरको पेटी अतिक्रमण गरेर वर्षौंदेखि सञ्चालित पसलले ६ वर्षदेखि भाडासमेत नतिरेको गुठी संस्थानको दाबी।

चार पुस्तादेखि सञ्चालित ती पसलले डेढ सयदेखि हजार रुपैयाँसम्म भाडा दिँदै आएको तर ६ वर्षयता त्यो पनि नतिरेको गुठी संस्थानले जनाएको छ। गुठी संस्थानअन्तर्गत ४० वटा पसल सञ्चालनमा रहेको उनले जानकारी दिए। उनले भने, ‘६ वर्षदेखि कसैले भाडा तिरेका छैनन्। ती पसललाई लामो समयदेखि हटाउन प्रयास गरिएको हो तर सकिएको छैन। उनीहरू नहटेको खण्डमा विकल्प सोच्नेछौं,’ गुठी संस्थानका प्रमुख, शैलेन्द्र पौडेलले भने, ‘हरिशंकर मन्दिरको पेटी ओगटेका दुईवटा पसल तत्काल खाली गर्न निर्देशन दिएका छौं।’

दरबार स्क्वायर क्षेत्रमा पुरातात्विक सामान मात्रै बिक्री गर्न पाउने प्रावधान भए पनि व्यापारीले कपडा, घडी, चियालगायत पसल सञ्चालनमा गरिरहेका छन्। सस्तो भाडाका ती सटर व्यापारीले महँगो शुल्क लिएर अरुलाई भाडामा लगाएको स्थानीय बताउँछन्। सो क्षेत्रमा बिचौलियाले एउटा सटरबापत एकदेखि डेढ लाखसम्म लिने गरेको उनीहरूको दाबी छ। गुठी संस्थानले करार ऐन २०५६ बमोजिम नयाँ सम्झौता गर्न आउन पटक–पटक आग्रह गर्दा व्यापारीहरू अटेर गरेर बसेका थिए।

विश्व सम्पदा सूचीमा सूचीकृत हरिशंकर मन्दिर बनाउने जिम्मा लिएको ‘काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारले १२८ वर्षपहिलाको तस्बिरमै ती पसल देखिएको बताए। ६ करोड लागत अनुमान गरेर ८÷९ महिनापहिला नै पुनर्निर्माण सुरु भए पनि पसल–सटरका कारण काम गर्न असहज भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.