किन निष्क्रिय बने एमालेका भ्रातृसंगठन ?
काठमाडौं : पार्टीका भ्रातृसंगठनको गतिविधि लामो समयदेखि शून्य बनेपछि एमालेको केन्द्रीय अनुशासन आयोगले तिनको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ। आयोगले फागुन २९ गते बैठक बसेरै सामाजिक चासोका विषयमा भ्रातृसंगठनको निष्क्रियताप्रति चिन्ता प्रकट गरेको हो।
निर्वाचनका बेला अग्रमोर्चामा खटिएका अनेरास्ववियु, अनेमसंघ, युवा संघ, पेसागत महासंघलगायत २२ वटा भ्रातृसंगठनको गतिविधि अहिले शून्यप्रायः छ। केही समयदेखि देशका विभिन्न भागमा बलात्कार, हत्या र बोक्सीजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को बढिरहेको तर त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकाले सरकारलाई दबाब दिन भ्रातृसंगठनलाई आयोगले दबाब दिएको छ। ‘वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी, अनेमसंघ, युवा संघलगायत जनसंगठन तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार उदासीन र मुकदर्शक बन्नु गम्भीर विषय हो’, आयोगले भनेको छ, ‘कतै पार्टीपंक्ति राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गएको संकेत त होइन ? ’
आयोग अध्यक्ष अमृत बोहराले महिला हिंसा, अन्धविश्वास र हत्याजस्ता गतिविधि प्रतिदिन बढ्दा पनि सरकारले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेका बेला जनप्रतिनिधिमूलक र तल्लो तहसम्म काम गर्ने भ्रातृसंगठनको मौनताले जनचासोको विषयमा उनीहरूको उदासीनता दर्शाएको बताए।
अनेमसंघकी अध्यक्ष गोमा देवकोटा महिलासँग जोडिएका मुद्दामा आवाज उठाउने र नेतृत्व तथा सरकारलाई डेडिकेसनसमेत दिने काम गरेको बताउँछिन्। उनले तराईमा भइरहेका बोक्सी तथा बलात्कारका घटना नियन्त्रणका लागि अनेमसंघले स्थलगत अध्ययन दबाब दिनेसम्मका गतिविधि सञ्चालन गरिरहेको दाबी गरिन्। ‘हामीले आफ्नो तर्फबाट सक्दो भूमिका खेलेका छौं, हाम्रा गतिविधिको प्रचार मात्रै नभएको हो’, उनले अन्नपूर्णसँग भनिन्।
अनेमसंघकी महासचिव थममाया थापा मन्त्री छन्। त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाबाट सांसद बनेकी छन्। सदन र सडकको आन्दोलन एउटै व्यक्तिले गर्न नमिल्ने भन्दै संगठनबाट राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन।
‘हामीले आफ्नो तर्फबाट सक्दो भूमिका खेलेका छौं, हाम्रा गतिविधिको प्रचार मात्रै नभएको हो।’गोमा देवकोटा, अध्यक्ष, अनेमसंघ
‘शैक्षिक शुल्क वृद्धि नियन्त्रणलगायत आमचासोका विषयमा हामीले काम गर्न सकेका छैनौं।’
– एन महर, महासचिव, अनेरास्ववियु
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि अधिवेशन गर्ने समय घर्किसके पनि पार्टी एकताका लागि गृहकार्य भइरहेकाले पार्टीले अधिवेशन नगर्न निर्देशन दिएको छ। ‘नेतृत्व पुनर्गठन गर्नुपर्ने कुरामै हामी अलमलिएका छौं, शैक्षिक शुल्क वृद्धि नियन्त्रणलगायत आमचासोका विषयमा हामीले काम गर्न सकेका छैनौं’, अनेरास्ववियुका महाचिव एन महरले भने।
युवा संघको नेतृत्व सम्हालेका राजीव पहारी पनि अहिले सांसद छन्। संघ–संगठनको सम्मेलन तथा एकता गर्दा कसरी जाने आदि विषयमा अलमल भएकाले जनजीविकाका विषयले ठाउँ पाउन नसकेको उनी बताउँछन्। ‘भ्रातृसंगठन अरू कुरामा अलमल गरिरहँदा जनजीविकाको विषय छायामा परेको छ’, उनले भने।