यी हुन् माओवादीका नयाँ प्रदेश इन्चार्ज
काठमाडौं : माओवादी केन्द्रको कार्यालय बैठकले शनिबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका मातृका यादव, वर्षमान पुन, शक्ति बस्नेत मन्त्री बनेका छन्। देव गुरुङ पार्टीको मुख्य सचेतक बनेका छन् भने गोपाल किरातीलाई पार्टीले कारबाही गरिसकेको छ। प्रदेश इन्चार्जले अर्को महत्वपूर्ण जिम्मेवारी लिएपछि माओवादी केन्द्रले पाँचवटा प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। प्रदेश ३ र ७ को भने जिम्मेवारी यथावत राखिएको छ। ३ मा हितमान शाक्य र ७ मा लेखराज भट्ट इन्चार्ज छन्।
प्रदेश १
शनिबारको बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिएको छ। कार्कीले प्रतिनिधिसभा सदस्य चुनावमा झापा १ बाट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। एमालेसँग पार्टी एकताका विषयमा सहमति जनाएपछि आफ्नो संयोजकत्वमा माओवादी केन्द्र पुर्नगठनको घोषणा गरेपछि गोपाल किरातीलाई पार्टीले कारबाही गरेको थियो। किराती पार्टी कारबाहीमा परेपछि प्रदेश १ नेतृत्वबिहीन बनेको थियो।
प्रदेश २
प्रदेश २ का इन्चार्ज मातृका यादव वाणिज्य तथा आपूर्तिमन्त्री बनेपछि विश्वनाथ साहलाई जिम्मेवारी दिइएको छ। साह नारायणकाजी श्रेष्ठ माओवादीमा समायोजन हुँदासँगै आएका नेता हुन्। पुराना कम्युनिस्ट नेता साह पूर्व शान्ति मन्त्रीसमेत हुन्। यसअघि समेत मातृका यादवले माओवादी छोडेर नयाँ पार्टी गठन गरेपछि साह प्रदेश २ को माओवादी इन्चार्ज बनेका थिए।
प्रदेश ४
प्रदेश ४ को इन्चार्ज रहेका देव गुरुङ पार्टीको प्रमुख सचेतक बनेपछि हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ। गोरखाको गाईखुरमा २०११ सालमा जन्मिएका पाण्डे पूर्वमन्त्री हुन्। लामो समयसम्म मास्टरी गरेका पाण्डे ०५२ सालमा हेडमास्टरबाट राजीनामा दिएर भूमिगत भएका थिए। पाण्डे पूर्व सामान्य प्रशासन मन्त्री हुन्।
प्रदेश ५
प्रदेश ५ का इन्चार्ज वर्षमान पुन ऊर्जामन्त्री बनेपछि मणि थापालाई जिम्मेवारी दिइएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयोजक शर्मा मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीका नेता माओवादी केन्द्रमा प्रवेश गर्दा सँगै प्रवेश गरेका थिउ। कुनै पनि लाभको पद नलिएका शर्मा अहिले प्रचण्ड निकटमा रहेका पार्टीको काममा सक्रिय छन्। शालिन स्वभावका नेता शर्मा जनवादी गीतकार समेत हुन्।
प्रदेश ६
शक्ति बस्नेत वन तथा वातावरण मन्त्री बनेपछि जनार्दन शर्मा ‘प्रभाकर’ प्रदेश ६ को इन्चार्जको जिम्मेवारी दिइएको छ। पूर्व गृहमन्त्री र ऊर्जा मन्त्रीका रुपमा राम्रो काम गरेर चर्चामा रहेका शर्मा माओवादीका प्रभावशाली युवा नेता हुन्। शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्।