कांग्रेस बैठकमा नरहरिले भने: पुरानै ढर्राले अब पार्टी चल्दैन
काठमाडौं: मंसिरमा भएको निर्वाचनको समिक्षाका लागि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेता नरहरि आचार्यले शनिबार आफ्नो धारणा राखेका छन् ।
वैचारिक नेताको छवि बनाएका उनी गम्भीर विरामी परेको २६ महिनापछि कांग्रेसको बैठकमा सहभागी भएर शनिबार आफ्नो धारणा राखेका हुन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएकै दिन गम्भीर विरामी परेका आचार्यले २६ महिनापछि केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै अब पुरानो शैलीमा चलेर काम नभएको बताए ।
'कांग्रेस अब पुरानै ढर्रामा अल्मलिनु हुँदैन । केन्द्रीय कार्यसमितिमा नयाँ साथीहरु आइपुग्नु भएको छ । ती साथीहरुले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिन रुपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्छ', उनले भनेका छन्, 'कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनु पर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ ।'
लामो उपचारपछि स्वास्थ्यमा सुधार भएका आचार्यले पार्टी र संगठनको चिन्ता गर्दै करिब १० मिनेटसम्म आफ्ना लिखित भनाइ राखे । आचार्यले सम्बोधनका क्रममा पार्टी संगठनलाई पुर्णता दिनुपर्ने र विधान संसोधन गर्नुपर्ने बताएका थिए ।
आचार्यले बैठकमा के भने ?
२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत
नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ। नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनमतले देखाएको छ। यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नु पर्नेछ। यतिखेर वस्तपुरक र कठोर समिक्षा समीक्षा जरुरी छ। तर आरोप–प्रत्यारोपले मात्रै कांग्रेस माथि आइपरेको यस चुनौतीको सामना गर्न सकिन्न।
कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ। संघीय लोकतान्त्रिक गणराज्य नेपालको संविधान हामीले निर्माण गर्यौं। तर संविधान भित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं। कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो। तर आफैले गरेको परिवर्तन पछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ।
१ निर्वाचनमा कांग्रेसको हार
निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावका मुखमा पार्टी एकता गरेर जाने बाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रुपमा लिएर रणनीति बनाउनु पथ्र्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस दोस्रो पार्टी हुनु स्वभाविकै थियो ।
२ कांग्रेस पुरानै ढर्रामा
कांग्रेस अब पुरानै ढर्रामा अल्मलिनु हुँदैन । केन्द्रीय कार्यसमितिमा नयाँ साथीहरु आइपुग्नु भएको छ । ती साथीहरुले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिन रुपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्छ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनु पर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ ।
३ पार्टी संरचनालाई पूर्णता
कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिट्टो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नु पर्दछ ।
४ संघीय गणतन्त्रको पूर्णता
कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउदै जानुर्पछ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले बौद्धिक बहस चलाउनु पर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दीर्घकालिलीन रुपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ ।
एउटै बैठकमा सबै कुरा पुरा हुन सक्दैनन्। कामहरु छिटोछिटो गर्दै जानुपर्दछ। विधानमा भनिएका कतिपय कुरा पूरा हुन बाँकी छन्, कतिपूर्ण हुनसक्छन् तिनलाई पूर्णता दिदैजानु पर्दछ। पार्टीको विधान संशोधनमा जानु पर्ने, थप विषयहरुमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ।
जय नेपाल !
तपाईको साथी
नरहरि आचार्य