सप्तकोसीमा सुरु भयो जेटबोट, १४ किमी दुरी १५ मिनेटमै

सप्तकोसीमा सुरु भयो जेटबोट, १४ किमी दुरी १५ मिनेटमै

चतराः सुनसरीको बराह नगरपालिका–१ र उदयपुरको बेलाका नगरपालिका–८ को सिमानामा रहेको सप्तकोसी नदीबाट जेटबोटको आइतबार सफल परीक्षण गरिएको छ ।

प्राविधिकसहितको टोलीले सफल परीक्षण गरेसँगै जल पर्यटनको प्रचुर सम्भावना रहेको सप्तकोसीमा जेटबोट सञ्चालन गर्न बाटो खुलेको हो । तीन करोड रुपैयाँको लागतमा बराह क्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले चतरालाई आधार बनाएर बोट सञ्चालनको तयारी गरेको हो ।

पर्यटन व्यवसायीहरू सन्तोष भण्डारी, पर्शुराम राई (कवि), अमित साह र हरिकुमार श्रेष्ठ सहितको टोलीले जेटवोट सञ्चालन गर्न लागेका हुन् । यसमा मिलन साह, विमलमान श्रेष्ठ, ओमप्रसाद रेग्मी र लक्ष्मीप्रसाद रेग्मी सेयर सदस्य छन् ।

बराह क्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारीका अनुसार स्थानीयस्तरमा जल पर्यटनको विकासका लागि बोट सञ्चालन गर्न चार वर्षदेखि अध्ययन भइरहेको थियो ।

‘अध्ययन लगायतका प्राविधिक पक्षका सबै काम सकेर जेटबोट खरिद गरियो,’ उनले भने, ‘परीक्षण पनि सफल भएका कारण सञ्चालनमा कुनै समस्या रहेन ।’ भण्डारीका अनुसार बोट सञ्चालनका लागि दुई वर्ष अघि अनुमति लिइएको छ ।

उनले जल पर्यटनको प्रचुर सम्भावना रहेको सप्तकोसीमा पहिलो पटक ठुलो लगानीमा बोट सञ्चालन गर्न लागिएको बताए । ‘बोट सञ्चालनका लागि सबैतिरबाट सहयोग पाएका छौँ,’ उनले भने, ‘परीक्षण सकिएपछि एक-दुई दिन भित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याइने छ ।’

पहिलो चरणमा चतरादेखि भोजपुर, धनकुटा र उदयपुरको संगमस्थल सिम्लेसम्म १४ किलोमिटर दुरीमा बोट सञ्चालनको तयारी गरिएको जानकारी भण्डारीले दिए ।

उनका अनुसार बोटले १४ किलोमिटर दुरी १५ मिनेटमै पार गर्छ । १४ किलोमिटर दुरीमा एकजनाको चार सय रुपैयाँ भाडा लिने तयारी सञ्चालकले गरेका छन् ।

प्रालिका म्यानेजिङ डाइरेक्टर विमलमान श्रेष्ठका अनुसार जल यात्राका लागि जर्मनीबाट इन्जिन र फिनल्याण्डबाट बडी झिकाइएको हो । ‘बोट पूर्ण रूपमा तयार भएर सफल परीक्षण सकिएको छ,’ उनले भने, ‘सर्वसाधारणलाई जल यात्रामार्फत गन्तव्यसम्म पुग्न सजिलो होस भनेर बोट सञ्चालन गर्न लागिएको हो ।’

श्रेष्ठले साढे तीन मेट्रिक्टन क्षमताको बोटमा एक पटकमा ३० जनाले यात्रा गर्न सक्ने बताए । ‘बोट सञ्चालन गर्न पानीको बहाव, भेल र छालले कुनै असर गर्दैन’, उनले भने, ‘दुई फिटसम्म पानी भएको ठाउँमा चलाउन सकिन्छ ।’

यसअघि बाँध फुटाएर सप्तकोसीले क्षति पु¥याएका बेला सर्वसाधारणलाई नदी वारपार गर्न सजिलो होस भनेर चितवनबाट हायर गरेर बोट ल्याइएको थियो । ‘त्यति बेला ल्याएको बोटको इन्जिन एकदमनै पुरानो थियो,’ श्रेष्ठले भने, ‘केही समय चलाएपछि मर्मत गर्दा पनि चलाउन सकिएन ।’

सप्तकोसीमा पाँच वर्ष अघि सुम्निमा जल यातायातले १२ जना क्षमताको स्ट्रिम बोट पनि चलाएको थियो । दुर्घटनापछि बोटले निरन्तरता पाउन सकेन । दुर्घटनामा एक यात्रु बेपत्ता भएका थिए ।

श्रेष्ठका अनुसार अहिलेको बोट चलेपछि भोजपुरको हतुवागढी र आमचोक गाउँपालिका, धनकुटाको खाल्सा छिन्ताङ गाउँपालिका, सुनसरीको बराह नगरपालिका र उदयपुरको बेलाहा तथा चौदण्डीगढी नगरपालिका लगायतका बासिन्दाले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने छन् ।

बोट सञ्चालक समितिका सदस्य पर्शुराम राई ९कवि० ले हवाई र सडक यात्रामा बढेको यात्रुहरूको चापलाई मध्यनजर गर्दै जलयात्रा गराउन बोट सञ्चालन गर्न लागिएको बताए ।

‘गाडीमा चारदेखि आठ घण्टासम्म समय लगाएर यात्रा गर्नु पर्ने बाध्यता छ,’ राईले भने, ‘बोट सञ्चालनसँगै समय घटेर १५ मिनेटमा झर्ने छ ।’ जेटबोटको यात्रा सहज, आरामदायी, सुरक्षित, भरपर्दो र छिटोछरितो हुने उनले बताए । राईले जेटबोट सञ्चालनलाई थप विस्तार गर्दै लैजाने योजना रहेको पनि सुनाए ।

जेटबोट परीक्षणको बराह नगरपालिकाका मेयर निलम खनाल र बेलाका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले निरीक्षण गरेका छन् । मेयर खनालले स्थानीय स्तरमा जेटबोट सञ्चालन गर्दै जल पर्यटन प्रवर्द्धनमा नगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने बताए ।

उनले भने, ‘यसमा थप लगानी बढाउन र सहयोग गर्न सरकारलाई पनि आग्रह गरिरहेका छौँ ।’ मेयर थापाले जेटवोट संचालनसंगै जल पर्यटन विकासको आधार तयार हुने बताए । ‘जेटवोट संचालनसंगै यसले रोजगारीको सिर्जना पनि गर्छ,’ उनले भने, ‘स्थानीय स्तरको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्छ ।’

सुनसरीको छिमेकी उदयपुरको बेलाका नगरपालिकामा प्याराग्याइडिङ्को पनि सफल परीक्षण भइसकेको बेलाका ७ का नुनीराम राईले बताए । भने, ‘यहाँ र्‍याफ्टिङको पनि पर्याप्त सम्भावना छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.