वडामा छैनन् सचिव

वडामा छैनन् सचिव

बैतडी : जिल्लाका ८४ वडामध्ये अधिकांशमा वडासचिव नहुँदा सेवाग्राही मारमा परेका छन्। सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भने पनि कर्मचारी अभावमा सेवा पाउन नसकेको नागरिकको गुनासो छ। जिल्लाका ८४ मध्ये ४२ वडामा सचिव नभएका सम्बन्धित स्थानीय तहले जनाएका छन्। ‘हाम्रो गाउँपालिकाको ६ वटा वडामध्ये एउटामा पनि सचिव छैन। प्राविधिक सहायकहरूलाई सचिवको काम गर्नेगरी जिम्मेवारी तोकेका छौं।’ शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले भने, ‘अन्य काम प्राविधिक सहायकमार्फत गराए पनि घटना दर्ताका लागि समस्या भएको छ। घटना दर्ताका लागि पञ्जिकाधिकारी हुनुपर्छ, तर हाम्रोमा एक जना पनि सचिव छैनन् कसरी काम चलाउनु ? ’

सचिव नहुँदा वडाले दिनुपर्ने सेवा प्रभावित भएको अध्यक्ष साउदले बताए। ‘जनप्रतिनिधि आएको ९ महिना बढी भइसक्यो। कर्मचारी व्यवस्थापन गर्न सकिएको छैन। सुरुमै नागरिक निराश हुन थालेका छन्।’ उनले भने, ‘कर्मचारी व्यवस्थापनका लागि जिल्लामा कुरा राखे पनि अहिलेसम्म समस्या समाधान भएको छैन।’

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको ६ वडामध्ये ३ वटामा सचिव छैनन्। सचिव भएका वडामा समेत सचिव कार्यालयमा नबस्ने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गुनासो गरे। उनले भने, ‘आधामा सचिव छैनन्, भएकामा पनि सचिव बस्दैनन्। विद्युत्, इन्टरनेट आदिको समस्या देखाउँछन्।’

कर्मचारी अभावमा सेवाग्राहीलाई सेवा दिन नसकिएको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। ‘सिगासका ९ वडामध्ये ७ वटा वडामा सचिव छैनन्। गाउँपालिकामा पनि कर्मचारीको त्यस्तै समस्या छ। म आफैं चिठी दर्तादेखि लिएर अरू कामसमेत गरिरहेको छु। सेवाग्राहीलाई व्यक्तिगत घटना दर्तामा साह्रै समस्या भएको छ,’ उनले भने, ‘जनताले काम भएन भन्ने गुनासो गर्छन्, स्थानीय तहमा कर्मचारी नहुँदा साह्रै सकस परेको छ।’

सचिव भएका वडामा समेत सचिव कार्यालयमा नबस्ने गाउँपालिकाका अध्यक्ष नै बताउँछन्।

जिल्लाको पुरानो दशरथचन्द नगरपालिकाका पनि सबै वडामा सचिव छैनन्। ‘कर्मचारी आउने जाने क्रम चलिरहेको छ। एक दुई वडामा सचिव कम छन्। यस्तै काम चलाइरहेका छौं।’ प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले भने, ‘कर्मचारी अभावमा सेवा प्रदान गर्न समस्या हुन्छ।’

उता पुरचौंडी नगरपालिकामा पनि १० वडामध्ये ७ वटा वडासचिवविहीन रहेको नगर प्रवक्ता गौतमप्रसाद भट्टले बताए। उनले भने, ‘जनप्रतिनिधिहरूले नीतिनियम, योजना बनाउने हो तर कार्यान्वयन गर्ने त कर्मचारीले नै हो। वडामा सचिव नहुँदा काम गर्नै गाह्रो भएको छ।’

दोगडाकेदार गाउँपालिकाका पनि दुई वडामा सचिव छैनन्। सचिव भएका वडाका कर्मचारी पनि गाउँपालिकामा काजमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। ‘गाउँपालिकामा एक जना लेखापाल मात्रै नयाँ कर्मचारी छन्। अरू सबै वडाका सचिव र प्राविधिकले काम चलाइरहेका छौं।’ उनले भने, ‘कर्मचारी नहुँदा काम गर्न समस्या भएको छ।’

डिलासैनी गाउँपालिकामा ७ मध्ये ४ वटा वडामा सचिव छैनन् भने सुर्नया गाउँपालिकाका पनि ३ वडामा सचिव छैनन्। वडा कार्यालयमा सचिव नहुँदा कामकाजका लागि गाउँपालिका धाउनुपरिरहेको स्थानीयले गुनासो गरेका छन्। ‘पहिला पहिला व्यक्तिगत घटना दर्ता गर्न गाविसमा पुग्नुपथ्र्यो। सहजै दर्ता पनि हुन्थ्यो। अहिले सचिव नहुँदा गाउँपालिकामा कर्मचारी खोज्दै हिँड्नुपरिरहेको छ।’ सिगास गाउँपालिका थालाकाँडाका पदम रोकायाले भने, ‘सिंहदरबार गाउँमा आयो भन्थे खोइ, हाम्रा समस्या त अझै समाधान भएका छैनन्।’

स्थानीय तह र वडामा सचिव नभएको विषयमा जिल्लामा पटक पटक छलफल गरेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। उनले भने, ‘हामी स्थानीय तहमा कर्मचारी अभावका विषयमा जानकार छौं। तर माथिबाटै कर्मचारी आएका छैनन्। स्थानीय तहमा कर्मचारीको समस्या समाधानका लागि पहल गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.