गर्भवतीलाई एसएमएसबाट निम्तो

गर्भवतीलाई एसएमएसबाट निम्तो

बैतडी : जिल्लाको पाटन नगरपालिका-१ सकारकी पार्वती दमाई गर्भजाँच गराउन स्वास्थ्यचौकी पुगिन्। महिला स्वास्थ्य स्वयंसेविका दमन्ती भट्टराईको मोबाइलमा एसएमएस आएपछि उनले पार्वतीलाई स्वास्थ्यचौकीमा पुर्‍याएकी हुन्। ‘मैले गाउँका सबै गर्भवतीको नाम मोबाइलबाटै इन्ट्री गराएकी थिएँ। पार्वतीलाई चार महिना हुनेबित्तिकै पहिलो पटक गर्भजाँच गराउने समय भयो भनेर मेरो मोबाइलमा एसएमएस आयो’, उनले भनिन्, ‘त्यसपछि पार्वतीलाई स्वास्थ्य संस्थामा गर्भजाँच गराउन ल्याएकी हुँ।’

सरकारकै नर्मा भट्टराईले यसपटक स्वास्थ्य संस्थामै बच्चा जन्माइन्। यसअघिका बच्चा घरमै जन्माएकी नर्माले पहिलो पटक स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुन्। महिला स्वास्थ्य स्वयंसेविका बिस्ना पन्तले नर्माको नाम मोबाइलमार्फत इन्ट्री गरेपछि उनले बच्चा पाउने समय भयो भनेर एसएमएस आयो। एसएमएस आएपछि बिस्नाले नर्माको अवस्था बुझिन्। एसएमएस आएकै एकदुई दिनमा नर्मालाई व्यथा लाग्यो अनि उनलाई स्वास्थ्यचौकीमा पुर्‍याइयो। र उनले उतै बच्चा पाइन्। ‘मैले मेरो गाउँका सबै गर्भवतीको नाम मोबाइलमार्फत इन्ट्री गराएकी छु। यसले मलाई पनि उनीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सजिलो भएको छ’, उनले भनिन्।

जिल्लाको पुरचौडी नगरपालिका तल्लादेहीकी मनीषा बोहराको नाम गर्भवतीको लिस्टमा दर्ता भइसकेको छ। महिला स्वास्थ्य स्वयंसेविका कलावती ढुंगालले मोबाइलबाट एसएमएस पठाएपछि मनीषाको नाम दर्ता भएको हो। ‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले गर्भवतीको नाम एसएमएसमार्फत दर्ता गर्नेबित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको सिस्टममा पनि दर्ता हुन्छ’, उनले भनिन्, ‘त्यसको जानकारी हामीलाई पनि प्राप्त हुन्छ। दर्ता भएकाहरूको नाम जुन स्वयंसेविकाले दर्ता गराएको हो, उनकै मोबाइलमा गर्भजाँच गराउन र सुत्केरी गराउन एसएमएस जान्छ। यसले संस्थागत सुत्केरी र नियमित गर्भजाँच गराउनेको संख्या बढेको छ।’ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल प्राप्त भएपछि गाउँका सबै गर्भवती महिलाले नियमित गर्भजाँच गराउन थालेको तल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउदले बताए।

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि एसएमएसमार्फत गर्भजाँच र सुत्केरी गराउन जानकारी दिन थालिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिकल मोबाइलको सहयोगमा मातृमृत्यु र बालमृत्युदर घटाउन जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि एसएमएसमार्फत गर्भजाँच र सुत्केरी गराउन जानकारी दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोसीले बताए। ‘अहिले जिल्लाका १० मध्ये आठ स्थानीय तहका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई मोबाइल वितरण गरिसकिएको छ’, उनले भने।

मोबाइल पाएका महिला स्वास्थ्य स्वयंसेविकाले एसएमएसमार्फत गर्भवतीहरूको नाम दर्ता गराउने गरिरहेका छन्। उनीहरूले दर्ता गराएको नाम हाम्रो सिस्टममा दर्ता हुन्छ। त्यसपछि गर्भवती महिलालाई ४, ६, ८ र ९ महिना हुँदा गर्भजाँच र सुत्केरी हुने सम्भावित मितिमा एसएमएस जान्छ। एसएमएस गएपछि महिला स्वास्थ्य स्वयंसेविकाले उनीहरूलाई स्वास्थ्य संस्थामा पुर्‍याउँछन्। स्वास्थ्य संस्थामा नपुगेकै कारण कुनै पनि महिला र बच्चाको मृत्यु नहोस् भन्ने आफूहरूको उद्देश्य रहेको उनले बताए।

आफूहरूलाई मोबाइल प्राप्त भएपछि गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनी-२ की महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले बताइन्। ‘पहिला हामीले घरमै गएर खबर गर्नुपथ्र्यो’, उनले भनिन्, ‘कतिपय बेला बिर्सिने पनि हुन्थ्यो। अहिले हामीले नाम दर्ता गराएकाको जाँच गराउने समयबारे एसएमएस आउँछ। यसले सजिलो भएको छ।’

मोबाइल प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा मासिक एक सय रुपैयाँका दरले सम्बन्धित स्थानीय तहले रिचार्ज गरिदिने पनि गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.