सुतिरहेकै ठाउँमा घाँटी रेटी हत्या
हेटौंड : पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ मा सोमबार राति एक जनाको हत्या भएको छ । करिब ५५ वर्षीय सुर्यबहादुर स्याङ्तानको शव आफ्नै ओछ्यानमा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए ।
करिब राति १२ बजे उनको हत्या भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश श्रीमलको टोली घटनास्थलमा पुगेको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको र शव पोष्टमाटमको लागि हेटौंडा ल्याउन थालिएको उनले जानकारी दिए । सोमबार राति हत्या भएको भन्ने खबर आएपछि अनुसन्धानको लागि सुर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको बकैया–३ स्थित हात्तिसुडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेले बताए ।
हत्याको आरोपमा पक्राउ परेकी ठुलीमायाका श्रीमान भने विदेशमा रहेका पाण्डेले जानकारी दिए ।हत्याको कारण भने खुलेको छैन् । मृतक सुर्यबहादुरका पाँचजना छोरा छन् । उनीहरुमध्ये दुई जना बैदेशिक रोजगारीमा गएका छन् भने तीनजना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ।