नकबजनी मुद्दाका ८५ वर्षीय कैदीको मृत्यु
गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए।
नकबजनी (घरको भित्तो फोरेर चोर्ने काम) मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहरको चैत ६ गते पखाला लागेर बिरामी भएपछि जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको थियो।सोमबार उपचारकै क्रममा उनको मृत्यु भएको जेलर ठाकुरले जानकारी दिए।
कैदी मुसहरलाई अत्यधिक पखाला लागेको, जीउ सुन्निएको र क्षयरोगको समेत संकेत देखा परेको थियो। मृतक कैदी मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ। रासस