कर्मचारी–जनप्रतिनिधि तिक्तता

कर्मचारी–जनप्रतिनिधि तिक्तता

गाईघाट : सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकारी उपसचिव नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुव्र्यवहार गरेपछि तिक्तता बढेको छ। सडक निर्माणमा अवरोधपछि जानकारी लिन गएका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, प्रदेशसभा सदस्य कला घले, कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठबीच भनाभन चलेको थियो। त्यही बेला कटारी–१ का वडासदस्य काशीराज पोखरेललगायतले चैत १० गते श्रेष्ठमाथि हातपात गरेको जनाइएको छ।

श्रेष्ठले सोमबार जिल्ला प्रशासन कार्यालयमा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष शंकर सिंह, कटारी खसीवासका वडासदस्य काशीराज पोखरेल र तल्लो कटारी–४ की सदस्य लीला अधिकारी दनुवारमाथि कारबाही माग गर्दै निवेदन दिएका छन्। आधिकारिक ट्रेड युनियन महासंघका अध्यक्ष देवराज कोइरालालगायतले पनि प्रेस विज्ञप्तिमार्फत कारबाही माग गरेका छन्। जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले कानुनी कारबाही गर्न माग गरेका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुने बताए। ‘उक्त घटनालाई लिएर कर्मचारीको ज्ञापनपत्र प्राप्त भएको छ’, उनले भने, ‘चौदण्डीगढी नगरपालिकामा वडाध्यक्षहरूले बोर्ड बैठकमै झगडा गरे भन्ने सुनेको छु।’

कर्मचारीका कानुनी अधिकार जनप्रतिनिधिले नबुझ्ने र जनप्रतिनिधिको क्षेत्राधिकार कानुनमा प्रस्ट नुहँदा समस्या परेको सरकारी अधिकारीको भनाइ छ। ‘कतिपय कानुन पुराना छन्’, खड्काले भने, ‘अहिले जनप्रतिनिधिले सडक बनाउने भन्दै जंगलमा डोजर लगाउन पाउँदैनन्, सार्वजनिक जग्गा बाँड्न पाउँदैनन्। कटारीमा पनि श्रेष्ठले सडक निर्माण नरोकेको भए हामी कारबाही गथ्र्यौं।’

यसरी भयो घटना

खसीवासको राष्ट्रिय वन क्षेत्रमा स्काभेटर प्रयोग गरी सडक निर्माण भइरहेका बेला सेक्टर वन कार्यालय कटारीले चैत १० गते बिहान काम रोकी चालक राज कटुवाल र तुलसी बुढाथोकीलाई पक्राउ गरेको थियो। श्रेष्ठले उनीहरूलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएपछि सांसदको टोली सेक्टर कार्यालय पुगेको थियो। स्थलगत अनुगमन गर्न सांसदले गरेको अनुरोधलाई श्रेष्ठले अस्वीकार गरेपछि वडासदस्य पोखरेल जाइलागेको स्थानीय जनप्रतिनिधि स्वीकार गर्छन्।

श्रेष्ठले भने आफूमाथि कुटपिटसमेत भएको आरोप लगाएका छन्। ‘मेरो कार्यकक्षमा प्रवेश गरी मलाई जथाभावी गालीगलौज गर्दै छातीमा लात हाने’, उनले भने, ‘जे पनि हुन सक्छ भन्दै धम्क्याए। लात खाएपछि म केही बोल्न सकिनँ, त्यसपछि म गाईघाटतिर भागें।’

उनका अनुसार खसीवास वन क्षेत्रमा सडकको काम वन ऐन ०४९, वन नियमावली ०५१ विपरीत थियो। ‘मैले कर्तव्य पूरा गर्दागर्दै अनावश्यक रूपमा ममाथि हातपात भयो’, उनले भने, ‘म मातहतका कर्मचारीको जीउज्यानको सुरक्षा व्यवस्था मिलाइदिनुपर्‍यो।’

जिल्ला वन प्रमुख भण्डारीले वन अतिक्रमण गर्ने चेष्टा र सडकका नाममा रूखबिरुवा क्षति पु¥याउने जनप्रतिनिधिको अज्ञानताले समस्या आएको बताए। ‘कानुनी रूपमै समस्या छ’, उनले भने, ‘त्यसकै शिकार हुनुभयो श्रेष्ठजी। जनप्रतिनिधि हाम्रो अधिकार भन्ने हामी हाम्रो अधिकार भन्ने।’

कटारीका मेयर श्रेष्ठले जनताको काम नगर्ने कर्मचारीलाई ‘जनकारबाही’ हुने चेतावनी दिए। जनताका लागि सडक निर्माण गर्दा रोक्ने श्रेष्ठलाई सम्झाउने प्रयास गर्दा केही भनाभन भएको उनले सुनाए। फिल्ड हेर्न जान आग्रह गर्दा अस्वीकार गरेपछि बाहिर तान्न खोजेको उनको भनाइ छ।

उपमेयर भीमकुमारी राउतले जनतासँग पैसा माग्ने, जनताको काम नगर्नेलाई सम्झाएको बताइन्। ‘वनमा डढेलो लागेको छ, नियन्त्रण गर्दैन’, उपमेयर राउतले भनिन्, ‘जनताको घरमा डढेलो पस्न लागिसक्यो, कर्मचारी कार्यालयमा बस्दैनन्, त्यसो भएकाले केही सम्झाएको मात्र हो।’

रोकियो बोर्ड बैठक

चौदण्डीगढी नगरपालिकामा वडाध्यक्षहरूको झगडाले बोर्ड बैठक नै रोकिएको छ। दोस्रो नगरसभाको तयारीका लागि बसेको बोर्ड बैठकमा दुई वडाध्यक्षले झगडा गरेका थिए। बैठक चलिरहेका बेला वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउतमाथि १० का वडाध्यक्ष रामकुमार खड्काले हातपात गरेपछि बोर्ड बैठक रोकिएको हो। राउतमाथि खड्काले पानीको बोतल प्रहार गरेको वडा नम्बर २ का अध्यक्ष सन्तोष सुवेदीले बताए।

‘पहिला खड्काले बोतल प्रहार गरे, त्यसपछि हातले हिर्काउन खोज्दा मैले रोकेको हुँ’, उनले भने, ‘बैठक बहिष्कार गरेर हामी हिँड्यो, बैठक नै रोकियो।’

राउतले भने मेयर खगेन्द्र राईको निर्देशनमा आफूमाथि कुटपिट भएको बताए। ‘बैठकमा खड्काले अपशब्द प्रयोग गरे, मैले बोल्न खोज्दा मेयरकै निर्देशनमा सुनियोजित ढंगले आक्रमण भयो’, उनले भने, ‘खड्काले हातखुट्टा भाचिदिन्छु, तँलाई जहाँ भेट्यो त्यही सिध्याउँछु भन्दै धम्की पनि दिएका छन्।’

मेयर राईको प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन। उपमेयर रीताकुमारी चौधरीले वडाध्यक्षबीचको झगडापछि बैठक रोकिएको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.