ओलीप्रति मधेसी नेता विश्वस्त

ओलीप्रति मधेसी नेता विश्वस्त

काठमाडौं : मधेसवादी दलका नेताले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र विश्वासको वातावरण बनाउन सफल हुने बताएका छन्। शनिबार अन्नपूर्णसँग शनिबार कुराकानी गर्दै उनीहरूले ओली पहिलो पटक प्रधानमन्त्री हुँदा दुई देशबीच आदान-प्रदान भएको ‘ननपेपर डकुमेन्ट’ को कार्यान्वयनमा दुवै सरकारले प्रतिबद्धता जनाउने विश्वास व्यक्त गरे।

सो ननपेपर डकुमेन्ट तत्कालीन परराष्ट्रमन्त्री कमल थापामार्फत भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई दिइएको थियो। स्वराजले सो पेपर भारत भ्रमणमा गएका तत्कालीन आन्दोलनकारी सात मधेसवादी दलका नेतालाई उतिखेर भारतीय विदेश मन्त्रालयमा भएको भेटघाटका क्रममा दिएकी थिइन्।

‘प्रतिनिधिसभामा तीन चौथाइभन्दा बढी मत प्राप्त गरेका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइका साथ अघि बढाउँछन् भन्ने विश्वास छ,’ राष्ट्रिय जनता पार्टी, अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले भने, ‘ओली प्रधानमन्त्री नहुँदाको अवस्थाका अभिव्यक्ति र सो समयमा भारतले उहाँप्रति देखाएको सोचबारे अर्काबीच स्पष्ट हुँदै नयाँ उचाइमा सम्बन्ध विस्तार गर्नुको विकल्प छैन। यस्तो स्पष्टताले नेपाल-भारत सम्बन्ध फलदायी बनाउनेछ।’

ओलीले नेपालका कम्युनिस्टले उठाउँदै आएका १९५० को सन्धिलगायतमा पुनरवलोकन गर्न जोड दिने उनले बताए। नेपाल-भारत सम्बन्ध समयसापेक्ष गराउन तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र तत्कालीन एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले झैं नेपाल र नेपालीको बृहत् हित र चासोका विषयमा भारतलाई सहमतिमा ल्याउन ओली सफल हुने विश्वास मधेस र मधेसीले गरेको झाले बताए।

सीमा क्षेत्रका बासिन्दाले भारतीय रुपैयाँ १६० देखि १७० सम्ममा किन्नुपर्ने समस्या तथा सीमा क्षेत्रका दर्जनौं समस्या समाधानमा ओली सरकार सफल हुने मधेसी नेताले बताए। कोसी ब्यारेज र यसअन्तर्गतका संरचनाको नियमित मर्मत र सम्भार नहुँदाको डुबान, बाँकेको लक्ष्मणपुर बाँध, कपिलवस्तुको मौहलीसागर बाँध, रुपन्देहीको रसियावाल खुर्दलोटन बाँधलगायतबाट नेपालको तराई क्षेत्रमा बर्सेनि पर्ने डुवानको समस्यालाई प्रधानमन्त्रीले विशेष एजेण्डाका रूपमा अघि बढाउने आशा मधेसी नेताको छ।

paperराजपाका अर्का नेता राजेन्द्र महतोले ओली भ्रमणमा राष्ट्रिय हितका महत्वपूर्ण एजेन्डा उठ्ने बताए। उनले भने, ‘भारत सरकारबाट नेपालमा सञ्चालित दर्जनौं आयोजना अझै द्रुतगतिमा अघि बढाउन र विशेष आयोजना ल्याउन ओली सफल हुनुहुनेछ।’

राजपा अध्यक्ष मण्डलका अर्का अध्यक्ष महेन्द्रराय यादवले भने, ‘पहिलोपटक प्रधानमन्त्री भएर भारत जानुअगावै संविधान संशोधनमार्फत मधेसीको माग पूरा गर्छु भनेको २५ महिनापछि उहाँ पुनः त्यसतर्फ जाँदै हुनुहुन्छ भने हाम्रो माग पूरा हुनुपर्छ।’

दुई देशबीचको पुरानो सम्बन्धलाई अझै मजबुत गराउने कुरामा ओलीलाई सफलता मिल्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘ओलीले सम्बन्ध विस्तारलाई नयाँ ढंग, आधार र प्रक्रियाका साथ अघि बढाउनै पर्छ।

उहाँसँग यसको विकल्प छैन। संविधान संशोधनलाई प्रक्रियामा लग्दै भारत जाँदा उहाँकै कद बढ्छ।’ एक प्रश्नको उत्तरमा उनले भने, ‘संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता र प्रक्रिया अघि बढे राजपा सरकारमा जान सक्छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.