खड्काको अन्त्येष्टि आज
काठमाडौं : दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको आइतबार अन्त्येष्टि हुने भएको छ। भारत, नयाँदिल्लीमा मृत्यु भएका उनको शव शनिबार राति काठमाडौं ल्याइएको छ। शनिबार राति साढे १० बजे काठमाडौं ल्याइएको खड्काको शव आइतबार बिहान ९ बजे १ बजेसम्म पार्टी कार्यालयमा राख्ने कांग्रेसले जनाएको छ। खड्काको निधनमा कांग्रेसले शोक वक्तव्य जारी गर्दै आइतबार बस्ने भनेको पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकसमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ।
शनिबार राति साढे १० देखि आइतबार बिहानसम्म खड्काको शव उनकै निवासमा रहनेछ। निवासबाट शव पार्टी कार्यालय लगेपछि त्यहाँ पार्टीका नेतादेखि कार्यकर्ताले खड्कालाई श्रद्धाञ्जली दिनेछन्। दिउँसो १ बजे पार्टी कार्यालयबाट शवयात्रा निकालेर खड्कालाई पशुपति आर्यघाट पुर्याउने कार्यक्रम रहेको कांग्रेस पार्टी कार्यालयले निकालेको प्रेस नोटमा उल्लेख छ। दिउँसो ३ बजे खड्काको पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम छ।
भ्रष्टाचार मुद्दामा जेल परे पनि कांग्रेस संगठनमा उनको व्यापक प्रभाव थियो। खड्का पछिल्लो १३औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। दाङ जिल्लाबाट ०४६ पछिका लगातार तीनवटै निर्वाचन जितेका खड्का पहिलो संविधानसभामा भने पराजित भएका थिए। ०४६ पछिका विभिन्न सरकारमा पटक-पटक मन्त्री बनेका खड्का गृहमन्त्रीका रूपमा बढी चर्चित थिए। प्रहरी प्रशासनमा प्रभाव राख्ने खड्का पार्टीभित्र तलको नेता-कार्यकर्तालाई संरक्षण गर्ने नेताका रूपमा चिनिन्थे।
०५८ सालमा वर्तमान कांग्रेस सभापति देउवाविरुद्ध ‘असन्तुष्ट समूह’मार्फत सक्रिय खड्का पछि देउवाकै नेतृत्वमा गठन भएको प्रजातान्त्रिक कांग्रेसमा महामन्त्रीसमेत बने। खड्का पार्टीभित्र प्रभावशाली त थिए नै ! सत्ताको खेलमा पनि उत्तिकै प्रभावी थिए।
उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलालगायतले विज्ञप्ति निकाल्दै श्रद्धाञ्जली प्रकट गरेका छन्। कांग्रेसका विभिन्न भ्रातृसंगठनले समेत विज्ञप्ति निकाल्दै निधनप्रति शोक जनाएका छन्। प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य शीर्ष नेतासमेतले शोक व्यक्त गरेका छन्।
ओलीले शुक्रबार अबेर साँझ आफ्नो सचिवालयको फेसबुक पेजमार्फत श्रद्धाञ्जली प्रकट गरेका छन् भने माओवादी पार्टीका तर्फबाट प्रवक्ता फम्फा भुसालले शनिबार प्रेस विज्ञप्ति निकाल्दै शोकसन्तप्त परिवार र आफन्तमा समवेदना व्यक्त गरेकी छन्।
३० महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका खड्का फागुन पहिलो साता पुनः बिरामी परेपछि उपचारका लागि डाक्टरको सल्लाहमा परिवारले उनलाई दिल्ली लगेका थिए। एपोलो अस्पतालमा ३९ दिनको उपचारपछि शुक्रबार साँझ उनको निधन भएको थियो।