ओलीको रेललाइन र जलमार्ग योजनामा मोदीको साथ !
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री बनेका बेला भारतको नाकाबन्दी थियो । नाकाबन्दीबाट अस्तब्यस्त बनेको देश र निराश बनेका जनतामा आशा र विश्वास बढाउन ओलीले घर घरमा ग्यास, रेल्वे लाइन र नेपालकै पानी जहाजको सपना बाँडेका थिए ।
चर्को नाकाबन्दीबीच ओलीले बोलेका ती कुरा उनी दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारतकै राजधानी नयाँ दिल्लीमा पुगेर कार्यान्वयनको प्रयास थालेका छन् ।
तीन दिने भारत भ्रमणका क्रममा रहेका ओली र समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट गरेको सम्बोधनका क्रममा जलमार्ग र रेलमार्गले उच्च प्राथमिकता पाएको हो ।
ओली भन्दा पहिले सम्बोधन गरेका मोदीले नेपालको राजधानी काठमाडौँसम्म भारतीय रेल्वे पुर्याउने कुरामा आफूहरुबीच सहमति भएको खुलासा गरे । उनले भारतीय नदी तथा समुद्रसम्म नेपालको पहुँच र पानीजहाज चलाउने ओलीको सपना पनि पुरा गर्न आफूहरु तयार रहेको बताए ।
दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा ओली र मोदीले अब नेपाल नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको आर्थिक समृद्धिका लागि मिलेर कारम गर्ने पनि दुवै नेताले बताए ।
ओलीलाई मोदीको साथ ?
दुवै नेताको सम्बोधनमा नेपालमा रेल्वे लाइन र समुद्रसम्मको पहुँच उच्च प्राथमिकतामा परेका थिए । मोदीपछि सम्बोधन गरेका प्रम ओलीले रक्सौल नाका हुँदै वीरगन्जबाट राजधानी सहर काठमाडौँसम्म भारतीय रेल लैजान दुवैजना तयार भएको उल्लेख गरे ।
काठमाडौँ-दिल्ली सीधा रेलमार्ग जोड्नका लागि निर्माण थाल्ने सहमति दुई नेताबीच भएको छ । मोदीले सम्बोधनका क्रममा यो कुरा प्रष्टसँग राखेका थिए ।
‘नेपाल अब भूपरिवेष्ठित देश रहिरहँदैन, उसलाई हामी अब समुद्रसँग जोड्छौँ’, ओलीलाई दिल्लीमा स्वागतसहित मन्तव्य दिँदै मोदीले भने, ‘सगरमाथाको देशलाई अब सागरसम्म जोडिनेछ, समुद्रमा नेपालको पानीजहाज चल्नेछ ।’
मोदीले काठमाडौँलाई अब सीधै भारतसम्म रेल लाइनले जोड्ने पनि बताए । ‘काठमाडौँबाट अब हामी भारतसम्म सीधा जोड्न रेल लाइनले जोड्छौँ’, मोदीले भने, ‘जलसंशाधन र ऊर्जासम्बन्धी प्रोजेक्टमा पनि हामी संयुक्त काम गर्छौँ’
पुरा होला ओलीको सपना ?
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अब नेपालको विकासले गति लिने बताए । ‘नेपाल-भारतबीच सदियौँदेखि सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ’, उनले सम्बोधनका क्रममा भने, ‘अब हामी हरेक क्षेत्रबाट एकअर्कालाई जोडेर अघि बढ्ने छौँ ।’
सम्बोधनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश मात्रै नभएको पनि दाबी गरे । उनले सम्बोधनका क्रममा भने, ‘नेपाल ल्यान्ड लक मुलुक मात्रै होइन, ल्यान्ड लिङ्क्ड मुलुक पनि हो । अब वाटर लिङ्क्ड पनि हुन्छ । कन्फयूज हुनु पर्दैन, अब विकासले गति लिन्छ ।’
उनले नेपाल ल्याण्ड लिंकबाट वाटर लिंक कनेक्टिभिटीमा जोडिने बताए । उनले नेपालको तीब्र आर्थिक विकास र समृद्धिका लागि दिल्लीबाट लगानीको आह्वान पनि गरेका छन ।
नेपालको संविधानमा असन्तुष्टि जनाउँदै दुई वर्षअघि नाकाबन्दी गरेका मोदीले दोस्रो पटक ओली दिल्ली आएपछि खुलेर स्वागत मात्र गरेनन्, नेपालका लागि विकासको खाका पनि आफैँले प्रस्तुत गरे ।
बाचा पुरा गर्लान् मोदीले ?
ठुला नदीदेखि हुलाकी सडकसम्मका परियोजनामा भारतले वर्षौँदेखि होल्ड गरेको अवस्थामा मोदीले ओलीको जलमार्गमा र रेल्वेमा साथ दिने बचन पनि दिएका छन् ।
'नेपालको विकासमा भारत हातेमालो गर्न तयार रहेको छ', उनले भने, नेपालको तीव्र आर्थिक विकासको चाहनालाई साकार पार्न जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता हामीले गरेका छौँ ।'
मोदीले अब नेपाल नयाँ युगमा प्रवेश गर्ने बताएका छन् । 'नेपालको विकासमा भारत भागिदारीको लामो इतिहास छ', उनले भने, 'आर्थिक विकास र समृद्धिमा पछिसम्म सक्दो सहयोग हुनेछ, अब नेपाल नयाँ युगमा प्रवेश गर्नेछ ।’
भुपरिवेष्ठित देश नेपाललाई समुद्रसँग जोड्ने पारवहन अधिकारप्रति मोदी सकारात्मक देखिएका छन् । उनले नेपालको जलमार्गको सपनालाई साकार गर्न भारतले जस्तोसुकै सहयोग गर्ने बताए । 'सगरमाथाको देशलाई सागरसम्म जोड्नका लागि भारतले सहयोग गर्नेछ', उनले भने, 'काठमाडौं र दिल्लीसम्म रेलमार्ग मार्ग जोड्ने कुरामा ओलीजी र म सहमत भएका छौँ ।'
के के भने मोदीले ?
१. नेपालको समुन्द्रसम्म केनेक्टिभीटी, सगरमाथाको देशलाई सागरसँग जोड्ने
२. अहिलेसम्म नेपाल ल्याण्ड लिंक्ड थियो वाटर लिंक्ड हुन्छ
३.काठमाडौँदेखि दिल्लीसम्म रेलमार्ग बनाउन सहमत
४.वीरगन्ज-रक्सौल एकीकृत चेक पोष्ट उद्घाटनको जानकारी
५. तराईको सडक र पेट्रोलियम पाइपलनको कनेक्टिभिटी
६. स्वास्थ्य, शिक्षा कृषिको आधुनिकीकरणमा सहयोग
७. अर्गानिक खेती, कृषि अनुसन्धान र कृषि शिक्षामा सहयोग
८. ओलीको जल संशाधान र ऊर्जा विकास सहकार्य गर्न सहमत
९. अरुण तेस्रो, पञ्चेश्वर, सप्तकोशी र सुनकोशी विद्युत तथा बाँध बनाउन सहमत
१०. रक्षा र सुरक्षा विषयमा गम्भीर छलफल
११. ओपन बोर्डर दुरुपयोग रोक्न सहमत
१२. रामायण र बुद्धिस्ट सर्किटको विकास सहयोग बढाउने
१३. नेपालको संघीय लोकतन्त्र व्यवस्था मजबुद गर्न सहयोग गर्ने
१४. विकासका साझा लक्ष्यः 'हाम्रो सब साथ सबका विकास' र ओलीजीको 'समृद्ध नेपाल, सुखी नेपाल'