उत्पादनमा लागत घटाउनु जरुरी : मुख्यमन्त्री पौडेल
हेटौंडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनको लागत घटाई विदेशबाट आयात हुने कृषिजन्य सामानसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शनिबार आयोजना गरेको आगामी वर्षको भिजन कार्यशालामा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिए। कृषिमा युवालाई आकर्षण गर्न कृषि करमा छुट दिनुपर्ने पौडेलको भनाइ छ। किसानलाई सरकारले संरक्षण गर्दै वैदेशिक रोजगारीमा गएकालाई नेपालमै कृषि पेशामा आकर्षित गर्ने उत्पादनको मोडल पनि तयार गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले भूमि संरक्षण गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए। जग्गाको उर्वर क्षमता वृद्धि गर्दै जमिनको क्षमताअनुसारको कृषि उत्पादन गर्नुपर्नेमा लामाले जोड दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि व्यवसायी तथा विज्ञ मित्रराज दवाडीले प्रतिईकाई उत्पादकत्व नबढे समृद्धि सम्भव नभएको धारणा राखे।
प्रदेशलाई कम्तीमा धान, गहुँ र मकैमा आत्मनिर्भर बनाउनुुपर्ने उनको भनाइ थियो। कृषि विज्ञ अरुण केसीले उत्पादन तथा किसानको आम्दानीमा दोब्बर गर्नको लागि वातावरणमैत्री कृषि आवश्यक रहेको औंल्याए। कार्यक्रममा धान विज्ञ भोलामानसिंह बस्नेत र अन्तरजातीय मकै तथा गहुँ सुधार केन्द्रका डा. अरुण केसीले कार्यपत्रमार्फत सरकारलाई सुझाव दिएका थिए।
३ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्ने गरी नीति तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको मन्त्रालयका सचिव डा. वंशी शर्माले जानकारी दिए। मन्त्रालयले दिगो भूमि व्यवस्थापन, कृषि र सहकारीको माध्यमबाट प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने उद्देश्य राखेको जनाएको छ।
कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवद्र्धन गर्ने तथा निर्यात गर्ने अवस्था सिर्जना गर्ने गरी प्रमुख लक्ष्य निर्धारण गरिएको छ। मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रारम्भीक खाकामा एकीकृत कृषि, पशु सेवा, भूमि र सहकारी क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने उद्देश्य राखिएको जानकारी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस !