गाउँपालिकाको उपहार : गर्भवती महिलालाई पौष्टिक आहार

गाउँपालिकाको उपहार : गर्भवती महिलालाई पौष्टिक आहार

गुल्मी : अशिक्षा र गरिबीका कारण छत्रकोट गाउँपालिकाअन्तर्गतका धेरै आमाले घरमै सन्तान जन्माउने गर्छन्। दलित र जनजातिको बाहुल्य रहेको यस गाउँपालिकाका केही गाउँमा महिला घरमै सुत्केरी हुने गरेका छन्। गर्भवतीले नियमित स्वास्थ्य जाँच पनि गराउँदैनन्। पछिल्ला केही वर्षदेखि अस्पतालमा गएर गर्भजाँच गराउने र सुत्केरी हुने क्रम वृद्धि हुँदै गए पनि अपेक्षाकृत नतिजा हासिल हुन सकेको छैन।

अघिल्लो आर्थिक वर्षमा साविकका पल्लीकोटका तीन वडामा संस्थागत सुत्केरी अभियान थालिएको थियो। अभियानपछि ६ प्रतिशत मात्र संस्थागत सुत्केरीलाई ९४ प्रतिशतमा पुर्‍याइएको छ। साविकका तीन वडामा अभियान पूर्णरूपमा सफल भएपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा यस अभियानलाई सबै वडामा सञ्चालन गर्ने अभियान थाल्यो। ‘अझै पनि गाउँका महिला अस्पताल पुगेर सुत्केरी नहुने चलन कायमै छ’, गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले भने, ‘त्यसले ६ वटै वडामा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’

घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था जोखिममा पर्ने भएकाले अभियानलाई प्राथमिकता दिनुका साथै बजेट विनियोजन पनि गरिएको अध्यक्ष पन्तले जानकारी दिए। अभियानअन्तर्गत गर्भवती महिलाको प्रत्येक घरधुरीमा नीलो झन्डाभित्र सेतो किनारामा गर्भवती महिलाको संकेत देखिएको झन्डा राखिएको उनले बताए। ‘नीलो झन्डा राखेपछि गर्भवती महिलाको घर हो भनेर चिनिन्छ’, पन्तले भने, ‘गाउँका सबैले उनीहरूलाई सहानुभूति दिन्छन्।’ गर्भवती महिला पानी लिन जाँदा पँधेरामा छिटो पालो दिने, सबैले पौष्टिक आहारको व्यवस्था गर्नेजस्ता परिवर्तन अभियानपछि देखिन थालेको उनले जानकारी दिए।

गर्भवती महिलाको घरमा नीलो झन्डासँगै पौष्टिक ‘प्याकेज’को कार्यक्रमलाई सँगै लगिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए। ‘गर्भवती भएका बेला पौष्टिक आहाराको विशेष ख्याल गर्नुपर्ने हुन्छ’, उनले भने, ‘हरेक बार, खाना चार भन्ने नारासहित पौष्टिक प्याकेज वितरण गरेका छौँ।’ शक्ति दिने, वृद्धि विकास गर्ने, सुरक्षा र पशुजन्य पौष्टिक आहारा गर्भवती महिलालाई उपलबध गराउने उनले बताए।

सवैलाई झोलामा राखेर कोदो, गेडागुडी, अण्डा, फलफूललगायत सामग्री पहिलो चरणमा प्रदान गरिएको छ। ‘किशोरीदेखि ज्येष्ठ नागरिकलाई समेत समेटेर अभियान थालेका छौँ’, पन्थीले भने। किशोरीलाई लक्ष्य गरी माध्यमिक र निम्नमाध्यमिक विद्यालयमा सुरक्षित महिनावारी अभिमुखीकरण, गर्भवती महिलाका लागि पौष्टिक आहारासहित घरको धुरीमा नीलो झन्डा र ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम अभियानले स्वस्थ समाज निर्माण हुने विश्वास गरिएको छ।

व्यक्तिको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले एकीकृत अभियानका रुपमा कार्यक्रम थालिएको गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिइन्। ‘गर्भवती महिलालाई समाजमा कतिपयले हेपाह नजरले हेर्ने गरेको देखिन्छ’, उनले भनिन्, ‘यस्तो बेला परिवारले ख्याल गर्नुपर्छ। कतिपय आफ्नै पतिबाट हेपिएका छन्।’ जंगलमा हिँड्दाहिँड्दै, घरमा बस्दाबस्दै कतिपय महिला सुत्केरी हुने गरेको उदाहरण दिँदै उनले घरमा सुरक्षित सुत्केरी सामग्रीको पूर्वतयारीबारे पनि स्वास्थ्यकर्मीलाई आग्रह गरेकी छन्।

९० दिन पूरा भएका गर्भवती महिलाको घरमा नीलो झन्डा राखेर उनीहरूलाई विशेष हेरचाहको व्यवस्था मिलाइने भण्डारीले जानकारी दिएकी छन्। गर्भवती भएका बेला कम्तीमा चारपटक नियमित गर्भजाँच गराउनुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तहमा पाइने पोषणयुक्त खाद्य परिकारलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ। ‘वडास्तरमा पुगेर गर्भवतीसँग अन्तरक्रिया हुनेछ’, गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले भने, ‘गर्भवती महिलाले आफ्ना पीडा खुलेरै राख्छन्। त्यसपछि थप कार्यक्रम अघि बढाइनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.