‘लालपुर्जा पाएपछि स्थानीय दंग’

‘लालपुर्जा पाएपछि स्थानीय दंग’

परासी : गाउँ ब्लकको करिब १६ धुरमध्ये १२ धुर जग्गामा सरावल गाउँपालिका तिलौलीका नन्दु चौधरीले घर बनाएका छन्। तर, पुर्जा नहुँदा बैंक र सहकारीमा धितो राखेर ऋण निकाल्न त परै जाओस् आफ्ना छोराछोरीलाई नामसारी गरेर दिनसमेत उनले सकेका थिएनन्। तर जग्गाको धनीपुर्जा पाएपछि उनले खुसी हुँदै भने, ‘हाम्रो पुस्ता कहिलेदेखि यहाँ आएर बसे थाहा छैन। बाजेले पनि आफ्नो बाजे यहीँ बसेको सुनाउनुहुन्थ्यो। वर्षौदेखि आफ्नो हुन नपाएको जग्गा पाउँदा ढुक्क भइयो।’ चौधरीले साढे १२ धुरको जग्गाधनी प्रमाण पुर्जा पाएका छन्।

जग्गाको भोगाधिकार नपाउँदा वर्षांैदेखि नापी कार्यालय र भूमिसुधार धाउँदै आएका मगरमुढा गाउँकी लौरानी चौधरी पनि पक्की घर रहेको जग्गाको पुर्जा पाएपछि दंग छिन्। ‘जेनतेन घर त बनाइयो तर पुर्जा नहुँदा कतिबेला सरकारले हटाउने हो भन्ने पिरलो थियो अब ढुक्क भइयो’, आफ्नो फोटो टाँसेको जग्गाधनी पुर्जा हेर्दै चौधरीले भनिन्। चौधरीको ९ धुर जग्गामा पक्की घर छ। उनले सोही जग्गाको धनीपुर्जा पाएकी हुन्।

घरनजिकै नम्बरी जग्गा भए पनि बस्तीमा घर बनाएका अधिकांश स्थानीयलाई घर बनाएको जग्गाको पुर्जा नहुँदा पिरलो थियो। पश्चिम नवलपरासीका विभिन्न स्थानमा गाउँ ब्लकको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई नापी कार्यालयले मंगलबारदेखि पुर्जा वितरण गर्न सुरु गरेपछि स्थानीय खुसी भएका हुन्।

०२४ सालमा नाप नक्सा हुन नसकेका जग्गालाई गाउँ ब्लकका रूपमा छुट्ट्याइएको थियो। घना बस्ती भएकाले तत्कालीन समयमा उक्त जग्गाको नाप नक्सा हुन सकेको थिएन। नौ वर्ष अघिबाट नापी कार्यालय परासीले उक्त जग्गाको सर्वे नापी गर्न सुरु गरेको थियो। नाप नक्सासहित अन्य सबै प्रक्रिया सकेपछि नापी कार्यालयले सरावल गाउँपालिकाको मनरीमा सार्वजनिक कार्यक्रम आयोजना गरी जग्गाधनी पुर्जा वितरण गरेको हो।

प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सरावल गाउँपालिका (तत्कालीन सरावल, मनरी र तिलकपुर गाविस)का नौ सय ११ जनालाई जग्गाधनीलाई पुर्जा प्रदान गरी मंगलबार धनीपुर्जा वितरणको शुभारम्भ गरेका हुन्। सरावल गाउँपालिकामा गाउँ कुल पाँच सय हेक्टर गाउँ ब्लकको जग्गा छ। पुर्जा वितरण कार्यक्रम असारसम्म रहने नापी अधिकृत सुग्रिव यादवले जानकारी दिए। पश्चिम नवलपरासीका सात स्थानीय तहमध्ये बर्दघाट नगरपालिकाबाहेक अन्य स्थानीय तहमा पुर्जा वितरण गरिनेछ।

सरकारले ०६१ सालमा गाउँ ब्लकको नाप नक्सा गरी पुर्जा वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ०६५ सालदेखि नवलपरासीमा नाप नक्सा गर्ने कार्य सुरु भएको थियो। पूर्वीजिल्लाको नवलपुर र बर्दघाट नगरपालिकामा पाँच वर्षअघि गाउँ ब्लकमा बसोबास गर्दै आएका स्थानीयलाई पुर्जा वितरण गरिएको थियो। पूर्वीनवलपरासीका केही स्थानमा त्यस्ता प्रकृतिका जग्गा रहेकाले प्रक्रिया अघि बढेको नापी अधिकृत यादवले जानकारी दिए।

यादवका अनुसार पश्चिम जिल्लाका विभिन्न स्थानमा रहेका एक हजार ५४ बस्तीलाई गाउँ ब्लकका रूपमा घेरेर छुट्ट्यइएको थियो। उक्त ब्लकमा बसोबास गर्ने करिब ८ हजार घरधुरीलाई यस आर्थिक वर्षको असारसम्म पुर्जा वितरण गर्ने कार्यक्रम छ। पुर्जा पाउनेमा एक स्थानीय तहमा ४ देखि ९ सय घरधुरी छन्। घडेरीका रूपमा प्रयोग गर्दै आएका जग्गाको मात्र पुर्जा दिइएको हो। एक व्यक्तिले १० धुरदेखि दुई कठ्ठासम्म जग्गाधनी पुर्जा पाएका छन्। पुर्जा पाएपछि उक्त जग्गा नम्बरी जग्गासरह भएको छ।


पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको ‘गाउँ ब्लक’ जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्दै प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी। हरि शर्मा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.