वेतन कर्णालीलाई २५ अर्ब ऋण

वेतन कर्णालीलाई २५ अर्ब ऋण

काठमाडौं : वेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न दुईवटा वाणिज्य बैंकले सहवित्तीयकरणमा २५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । नेपाल एसबीआई बैंक र नबिल बैंक लिमिटेडले बैकिङ सहवित्तीयकरण समूह गठन गरेर ६ सय ८८ मेगावाटको वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा लगानी गर्न बिहीबार सञ्चयकोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको अधिकांश सेयर लगानी रहेको यो जलविद्युत् आयोजना सुर्खेतको चौकुनेस्थित वेतानमा निर्माण हुनेछ । यो आयोजना बनाउन १८ महिनाभित्रै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने गरी प्रक्रिया अगाडि बढेको कर्मचारी सञ्चय कोषका कार्यबाहक प्रशासक दीपक रौनियारले बताए । उनले भने, ‘७० अर्ब रुपैयाँ लगानीको यो आयोजनामा २५ अर्ब रुपैयाँ दुई वाणिज्य बैंकको अगुवाईमा जुट्ने भयो ।’ २१ अर्ब रुपैयाँ सेयर पुँजीबाट गरी ४५ अर्ब रुपैयाँको जोहो भइसकेकाले बाँकी रकम जुटाउन समस्या नहुने रौनियाले बताए । अब आयोजना निर्माण गर्दै गर्दा बाँकी रकम जुट्ने र अन्य व्यवस्थाको पनि तय भइसकेको जानकारी रौनियारले दिए ।

बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय स्रोत जुटाउने कर्मचारी सञ्चय कोष र दुई वाणिज्य बैंकबीच भएको सम्झौताले यो आयोजना निर्माणमा सकारात्मक सन्देश प्रभाव भएको बुझाइ पनि रौनियारको छ । सम्झौतामा रौनियार, नेपाल एसबीआई बैंक लिमिटेडको प्रमुख कार्यकार अधिकृत (सीईओ) अनुकूल भटनागर र नबिल बैंकका सीईओ अनिलकेशरी शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

२०७४ साल वैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत पुँजी २० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ छ । यो आयोजनामा साढे पाँच लाख सञ्चयकर्ताको ४० प्रतिशत सेयर स्वामित्व हुनेछ । कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको सेयर स्वामित्व हुने जानकारी रौनियारले दिए ।

यो आयोजना बनाउन २१ अर्बको स्वपुँजी भए पनि बाँकी ४९ अर्ब ऋण जुटाउने जिम्मेवारी कोषकै हुनेछ । कोषले बैंक वित्तीय संस्थाको सहवित्तीयकरण, गैर बैंकिङ वित्तीय संस्था, ठूला कोष, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्था र वित्तीय उपकरणहरू अवलम्बन गर्ने निकायबाट आवश्यक रकम जुटाइने पनि उल्लेख छ ।

नबिल बैंकका सीईओ शाहले आयोजना बनाउने डीपीआर सकिएको, विद्युत् खरिद सम्झौता (पीपीए) भएको, आर्थिक स्रोतको व्यवस्थापन मिलेर सहजीकरण भएको आयोजनामा मात्रै बैकले लगानी गर्छ भन्ने धारणालाई फरक रूपमा यो आयोजना भएको बताए । उनले लगानीको अनुकूल वातावरण बनाउन बैंकले लगानी गर्ने सम्झौता गरेको जानकारी दिए ।

एसबीआईका सीईओ भटनागरले पनि कोषले अगाडि बढाएको आयोजनामा लगानी गर्न वित्तीय संस्था उत्सुक भएकाले नै अगुवाई गरेर ऋण लगानी गर्न चाहेको बताए । उनले नर्मल आयोजनाको तुलनामा यसमा लगानी गरेर अलि फरक बन्न चाहेको पनि उल्लेख गरे ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले आयोजनाको प्रारम्भिक चरणमा नै वित्तीय संस्थाको ऋण लगानी गर्ने चासोलाई सकारात्मक रूपमा लिए । उनले भने ‘आयोजना निर्माण गर्न यस्तो समझदारीले थप हौसल्ला दिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.