निकुञ्जभित्र माछा खान निषेध

निकुञ्जभित्र माछा खान निषेध

कसरा : चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ घडियाल गोही संरक्षण गर्न आफ्नो क्षेत्रभित्र माछा खान रोक लगाएको छ। निकुञ्जले नयाँ वर्षको अवसर पारेर वैशाख १ देखि नै निकुञ्ज कार्यालय अन्तर्गतका सबै सेक्टर, रेन्ज पोस्ट, हात्तीसार शाखा, प्रवेशद्वार, सुरक्षा पोस्टमा माछा खान प्रतिबन्ध लगाइएको चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ। निकुञ्जका अनुसार मध्यवर्ती क्षेत्रमा समेत माछा खान रोक लगाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पोखरी वा खोला कहाँको हो छुट्याउन नसकिने भएकाले सबै प्रकारका माछा खान पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिए। ‘वैशाख १ बाट निकुञ्जभित्रका कुनै पनि सुरक्षाकर्मी र कर्मचारीले पोखरीमा पालेको माछासमेत खान निषेध गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘विश्वमा दुर्लभ मानिएको घडियाल गोही संरक्षणका लागि पनि हामीले यो निर्णय गरेका हौं।’ निकुञ्जको निर्णयविपरीत कुनै पनि कर्मचारीले माछा खाएको सूचना पाए कारवाही गरिने उनले बताए।

निकुञ्ज आसपासका स्थानीयले माछा मारेर खाँदा दुर्लभ गोही मासिँदै गएकाले संरक्षणका लागि फरक कदम चालिएको ढकालको भनाइ छ। ‘निकुञ्ज आसपासका सर्वसाधारणलाई माछा मार्न प्रतिबन्ध लगाउँदा निकुञ्जका कर्मचारीमाथि नै अनेकौं आरोप लाग्ने गरेकाले निकुञ्जभित्र कसैले पनि माछा खान नपाउने नियम बनाइएको हो’, प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘निकुञ्जबाहिर खानबाट रोक्न मिल्दैन तर भित्र सबैले नियमपालन गर्नैपर्छ।’ गतवर्ष मात्र तियारी जालमा पर्दा एउटा घडियाल गोही मरेको थियो। दुर्लभ वन्यजन्तु संरक्षण गर्न पहिले कर्मचारी नै अनुशासित हुनुपर्ने भन्दै राम्रो कामको सुरूवात आफैंबाट गरिएको उनको भनाइ छ।

चितवन निकुञ्जले बरामद गरेको तियारी जाल। तस्बिर : तुलमान गुरूङ

स्थानीयले लुकीछिपी तियारी जाल प्रयोग गर्ने र करेन्ट लगाएर माछा मार्दा अतिसंकटापन्न घडियाल गोही नै मासिने चिन्ता बढेको निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रभित्र पर्ने नारायणी, राप्ती र रिउलगायत नदीमा घडियाल गोही पाइन्छ। निकुञ्जमा मात्र करिब साढे ४ सयभन्दा बढी गोही रहेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। उनका अनुसार घडियाल गोही मात्रै १ सय ६६ वटा छन्। मगर गोही संख्या ३ सयभन्दा बढी रहेको उनले बताए। मुख्य आहारा माछा जोगाए गोही संरक्षण गर्न सकिने उनी बताउँछन्। ‘माछा नै गोहीको मुख्य आहारा हो’, उनले भने, ‘त्यसैले गोही संरक्षण गर्न माछा जोगाउनु अति आवश्यक छ।’

शनिबारदेखि वन्यजन्तु सप्ताह

वन्यजन्तु संरक्षणसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न निकुञ्जमा ‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’ नारासहित शनिबार वन्यजन्तु सप्ताह सुरू भएको छ। नयाँ वर्षको पहिलो साता निकुञ्जसहित मध्यवर्ती क्षेत्रभित्रका विभिन्न संघसंस्थाहरूले बर्सेनि सप्ताह मनाउँदै आएका छन्। यस वर्ष गैंडासहित बाघ संरक्षणमा जोड दिइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

बाघ र गैंडाको मुख्य वासस्थान भएकाले निकुञ्जको इज्जत बढेको भन्दै अर्यालले भने, ‘त्यसैले यी वन्यजन्तु संरक्षण र संवद्र्धनमा हामीले विशेष भूमिका निर्वाह गर्नैपर्छ।’ गैंडा र बाघको संख्या बराबर बनाउन संरक्षण तीव्र बनाउनुपर्ने निकुञ्जले जनाएको छ। तर यसका लागि मानव र वन्यजन्तुबीच द्वन्द्व अन्त्य गर्नुपर्ने उनी बताउँछन्।

आइतबार निकुञ्ज आसपास सरसफाइ गरियो। सप्ताहमा वन्यजन्तु संरक्षणबारे अन्तरक्रिया, वन्यजन्तुको आनीबानी, प्रांगारिक खेती, संरक्षणसम्बन्धी जानकारीमूलक प्रस्तुतिलगायत विभिन्न कार्यक्रम गरिने निकुञ्जले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.