दलित बस्तीबाट भर्ना अभियान
मलंगवा : गोडैता नगरपालिका-१ स्थित बहादुरपुरका एक सय २७ बालबालिका आइतबार विद्यालय भर्ना भएका छन्।‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको हो।
आइतबार २५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको गोडैता नगरपालिका कार्यालयले जानकारी दिएको छ। दलित समुदायको बाहुल्य रहेको बस्तीमा प्राथमिक विद्यालय रहे पनि बालबालिका पढ्न गएका थिएनन्।
कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित नहोऊन् भनेर सबैभन्दा पहिले दलित बस्तीबाट भर्ना अभियान सुरु गरिएको मेयर देवेन्द्र रायले बताए। १२ वडा रहेको नगरपालिकामा सबैभन्दा बढी वडा नम्बर १ का बालबालिका विद्यालयको पहुँचबाहिर रहेको मेयर रायले जानकारी दिए। शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउनका लागि अब अरू वडामा पनि घरदैलो कार्यक्रम गरिने उनको भनाइ छ।
‘बच्चालाई जन्म दिएर मात्र हुँदैंन’, भर्ना अभियान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साहले भने, ‘आफ्नो बच्चालाई राम्रो शिक्षा दिनु अभिभावकको पहिलो कर्तव्य हो।’
उनका अनुसार पहिले गोडैतामा अन्य जिल्लाका विद्यार्थी पढ्न आउँथे। तर, हिजोआज यही नगरपालिकाका विद्यार्थी बाहिर पढ्न गइरहेकामा उनले असन्तुष्टि जनाए। ‘शिक्षाले नै समाज परिवर्तन हुने भएकाले विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई जसरी पनि विद्यालयमा ल्याउनुपर्छ’, उनले भने।