शेरबहादुर भन्छन्: कम्युनिष्टले मनोमानी गरे, अधिनायकवाद आइसक्यो
चितवनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन नेतृत्वको सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन् ।
भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउँदै यसलाई 'अधिनायकवाद' को संज्ञा दिए ।
'सरकारले एकलौटी गर्न खोजे जस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो', उनले भने, 'मनोमानी बढ्यो ।' पत्रकारहरुको अर्को प्रश्नमा सभापति देउवाले कम्युनिष्टमाथि व्यङ्ग्य गरे । 'अब विकास गर्छन्, अधिनायकवादको', देउवाले भने ।
एक सय दिन सरकारको हनिमुन समय भएको भन्दै उनले आफूहरुले काम हेरिरहेको जिकिर गरे। 'सुरुकै कामबाट धड्काधड्की विकास भएको छ', देउवाले व्यङ्ग्य गर्दै भने, 'कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।'
पार्टी कमजोर भएको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले दुई पार्टी मिलेपछि निर्वाचनमा जितहार हुने कुरा स्वाभाविक भएको बताए । देउवाले प्रजातन्त्रको रक्षाका लागि लड्ने पनि बताए । 'प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस निरन्तर लडिरहन्छ', उनले भने । रासस