वीरगञ्ज नाकाबाट इन्धन ढुवानी ठप्प

वीरगञ्ज नाकाबाट इन्धन ढुवानी ठप्प

वीरगन्जः भारतबाट वीरगन्ज नाका हुँदै इन्धन ढुवानी गर्ने नेपाली ट्याङकर चालकहरु सोमबारदेखि आन्दोलन थालेका छन् । आफना सहकर्मीलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको भन्दै ट्याङकर चालकहरु सोमबारदेखि इन्धन ढुवानी ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् ।

वीरगन्जको सीमावर्ती भारतीय सहरमा रहेको इण्डियन आयल कर्पोरेशन (आइओसी) को डिप्पोमा आइतवार इन्धन लोड गर्न गएको ना ३ ख ९६३९ नम्बरको ट्याङकर इन्धन लोड हुन नसकेपछि रित्तै फर्किएको थियो ।

रक्सौलबाट रित्तै फर्किएको ट्याङ्करका चालक चितवन घर भएका सन्तोष प्रसाईलाई वीरगन्ज भन्सार नाकाको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरीले कुटपिट गर्दै रातभर थुनामा राखेपछि विरोधमा ट्याङकर चालकहरु आन्दोलित भएका हुन् । 

इन्धन ढुवानी ठप्प पारेर आन्दोलित चालकहरुले वीरगन्जस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयमा सोमबार धर्ना दिनुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

आइतवार साँझ चालक सन्तोषलाई इनर्वामा कार्यरत प्रहरी नायव निरीक्षक विनोद मल्लिकले सडकजाम गरेको भन्दै भन्सार नाका नजिक कुटपिट गर्दै नियन्त्रण लिएर राति ११ बजे छाडेको नेपाल ट्याङकर चालक संघका अध्यक्ष विनोद मानन्धरले बताए । 

इन्धन लोड गर्न रक्सौल जाने क्रममा  इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मल्लिकले चालकलाई कुटपिट गरेर नियन्त्रणमा लिएको भन्दै त्यसैको विरोधमा सोमबारदेखि संघमा आबद्ध तीन सय चालक आन्दोलनमा उत्रिएको उनले बताए । 

सोमबार कुनै पनि ट्यांकरहरु इन्धन लोड गर्न रक्सौल नगएको बताउँदै उनले भने, ‘प्रहरीको ज्यादती बन्द हु्नुपर्छ, दोषी सईलाई कारवाही हुनुपर्छ, अनि मात्र हामी आन्दोलन स्थगित गर्छौँ, होइन भने इन्धन ढुवानी ठप्प नै हुन्छ ।’ 

इनर्वा प्रहरी चौकीमा इन्चार्जका रुपमा प्रहरी नायव निरीक्षक मल्लिक आएदेखि उनीबाट ट्याङ्कर चालकहरु दिनहुँ पीडित बन्दै आएको अध्यक्ष मानन्धरले बताए ।

‘बस, ट्रकहरुसँग पैसा लिएर छोड्दिन्छ, तर ट्याङ्कर चालकले पैसा दिँदैनन्’, उनले भने,  ‘त्यही भएर सईले ट्याङकर चालकलाई दुःख दिँदै आएका छन् । मल्लिकलाई कारवाही नभएसम्म हामी इन्धन लोड गर्न रक्सौल जाँदैनौ ।  

नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रबन्धक प्रदीप यादवले ट्याङ्कर चालकहरुको आन्दोलनका कारण सोमबार वीरगन्ज नाका हुँदै इन्धनको ढुवानी अवरुद्ध भएको बताए ।

यसबारेमा आपूिर्त मन्त्रालय र गृहमन्त्रालयलाई जानकारी गराइसकेको भन्दै उनले थपे, ‘समस्या समाधानका लागि स्थानीय प्रहरी प्रशासन र आन्दोलित ट्याङ्कर चालक संघबीच छलफल गराउने प्रयासमा लागेको छु ।’

ट्याङ्कर चालकहरुको आन्दोलनका कारण इन्धन लोड गर्न रक्सौल जाने तीन सय भन्दा भन्दा बढी खाली ट्याङ्करहरु वीरगन्ज नाकामा थन्किएका छन् ।

ट्याङकर चालकहरु आन्दोलनमा उत्रिएका कारण सोमबार भारतको रक्सौलबाट वीरगन्ज नाका हुँदै एउटा ट्याङ्कर पनि इन्धनसहित नेपाल नभित्रेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवतन्क पोखरेलले बताए । 

नेपाल तर्फबाट पनि सोमबार कुनै पनि ट्याङ्कर इन्धन लोडका लागि रक्सौलस्थित आइओसीको डिप्पोमा नगएको पोखरेलले बताए । ‘सबै रित्ता ट्याङ्करहरु मितेरी पुल वारि नै चालकले पार्किङ गरेर राखेका छन् ।’ 

नेपालका लागि आवश्यक पर्ने कुल इन्धनको ७० प्रतिशत इन्धनको आपूर्ति वीरगन्ज नाकाबाट हुने गरेको छ । वीरगन्ज नाकाबाट हुने इन्धन आयातबाट दैनिक आठदेखि नौ करोड रुपैयाँ राजश्व संकलन हुने गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख पोखरेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.