भीरबाट खसेर छोरीको मृत्यु, बाबु गम्भीर घाइते
प्रदीपचन्द्र राई
भोजपुरः यहाँको ट्याम्के मैयुङ्ग गाउँपालिकामा भीरबाट लडेर बालिकाको ज्यान गएको छ । ट्याम्के मैयुङ्ग गाउँपालिका–५ खावा र ४ को नागीस्थित वाचिम्ले खोलाको झोलुङ्गे पुल नजिकै पिशाब गर्ने क्रममा भीरबाट खसेर बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याम्के मैयुङ्ग गाउँपालिका–३, अन्नपुर्णका ३३ वर्षीय भोजराज श्रेष्ठकी ५ वर्षीया छोरी जेनिसा श्रेष्ठ रहेकी छन् ।
अन्नपूर्णबाट ससुराली वडा नं ६ स्थित, कोट जाने क्रममा मंगलबार बिहान करिब साढे ७ बजे पुलनजिकै पिसाब गर्न गएकी जेनिसा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबु, आमा र छोरी कोटतर्फ जाँदै गर्दा घटना भएको हो । छोरी भीरबाट खसेपछि बाबु पनि छोरीलाई खोज्न जाँदा भीरबाट खसेका थिए । त्यसक्रममा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।
उनलाई हेलिकोप्टरबाट मंगलबार नै काठमाडौँ लगिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।