रोनाल्डोको ‘ब्याक हिल’ गोल
म्याड्रिड : खेलको अन्तिम समयतिर पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले आकर्षक गोल गरेपछि बलियो टोली रियल म्याड्रिड बिहीबार बिहान स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदानमै सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियलका लागि निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि रोनाल्डोले आकर्षक ‘ब्याक हिल’ गोल गरेपछि रिलले भ्रमणकारी टोली एथलेटिक बिल्बाओलाई १—१ को बराबरीमा रोक्यो ।
जारी सिजनको घरेलु लिगमा अपेक्षित प्रदर्शन गर्न नसकेको रियल उपाधि होडमा भने निकै पछि परिसकेको छ । खेलमा अग्रता भने बिल्बाओले लिएको थियो । खेल सुरु भएको १४औं मिनेटमा बिल्बाओका लागि इनाकी विलियम्सले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बिल्बाओ अगाडि रह्यो । यसबीचमा जवाफी गोल गर्ने रियलको थुप्रै प्रयास विफल भएको थियो ।
डीबक्सभन्दा बाहिरबाट लुका मोड्रिचले उपलब्ध गराएको बललाई रोनाल्डोले विपक्षीको पोस्टतिर पनि नहेरी कुर्कुच्चाले सीधै पछाडि धकेलेर गोल गरेका थिए । रोनाल्डोको उक्त गोलपछि जितको अत्यन्तै नजिक पुगिसकेको बिल्बाओका गोलरक्षक केपा एरिजाबालागा र अन्य खेलाडीसमेत जिल्लिएका थिए । रोनाल्डो क्लबका लागि पछिल्ला १२ खेलमा लगातार गोल गर्दै आएका छन् । पछिल्ला १२ खेलमा रोनाल्डोले २२ गोल गरेका छन् भने पछिल्ला १५ खेलमा उनको गोल संख्या २६ पुगेको छ ।
घरेलु लिगमा हालसम्म ३३ खेल खेलेको रियल ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । लिग उपाधिको अत्यन्तै नजिक रहेको ‘लिग लिडर’ बार्सिलोनाले भने ३३ खेलबाट ८३ अंक बटुलिसकेको छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७१ अंकसहित दोस्रो स्थानमा छ । बिल्बाओ भने ३३ खेलबाट ४० अंक हात पार्दै तालिकाको १३औं स्थानमा छ । यघिल्लो दिन खेलिएको खेलमा बार्सिलोना पनि सेल्टा भिगोसँग २—२ गोलको बराबरीमा रोकिएको थियो ।
‘रियलको रंगशालामा विपक्षी टोलीले उत्कृष्ट नतिजा निकाल्न गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्नै पर्छ’, खेलपछि बिल्बाओका गोलरक्षक केपाले भने । आफ्नो टोलीले खेलमा सुरुवाती गोल गरे पनि खेल अवधिभर रियलले निकै दबाब दिएको बताए । रियलले गोलरक्षक केपालाई क्लबमा भित्राउने तयारी गरिरहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले भने आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक भए पनि नतिजा चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए ।
घरेलु लिगमा उपाधिको आस मारिसकेको रियल म्याड्रिड जर्मन क्लब बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने तयारीमा छ । बलियो टोली भ्यालेन्सिया भने घरेलु मैदानमै गेटाफेसँग २—१ गोलले पराजित भयो । ३३ खेल खेलेको भ्यालेन्सिया ६५ अंकसहित तालिकाको चौथो स्थानमा छ । इबरले पनि स्पान्योललाई उसेको मैदानमा १—० गोलले पाखा लगायो ।