अबको युग विद्युतीय सवारीको

अबको युग विद्युतीय सवारीको

काठमाडौं : सरकारले मुलुकमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने शंकेत देखाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले नाडाको वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा सरकारको प्राथमिकता विद्युतीय सवारीमा रहेको बताएका थिए। उनी भन्दै थिए, ‘विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सघाउन सरकार तयार छ।’

‘अब वातावरण नबिगार्ने विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिनुपर्छ, व्यवसायीले पनि यसतर्फ जोड दिनुप¥यो’ कार्यक्रममै खतिवडाले व्यवसायीसँग आग्रह गरे, ‘विद्युतीय सवारीको प्रवद्र्धनका लागि के–कस्तो सुविधा दिनुपर्छ ? भन्नुस्, सरकार सहयोग गर्न तयार छ।’ छिमेकी मुलुक भारत, चीनलगायत विश्वका धेरै देशले समय सीमा तोकेरै मुलुकलाई विद्युतीय सवारीमय बनाउने घोषणा गरिसकेका छन्। नेपालमा पनि विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउनुपर्ने बहस चर्किंदै छ।

मुलुकमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले अग्रसरता नलिएको पनि होइन, भन्सार दर कम तोकेकै छ, अन्य करबाट पनि मुक्त गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा विद्युतीय सवारी खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ। जबकी पेट्रोलियम सवारीमा ६५ प्रतिशतमात्र कर्जा पाइन्छ। सरकारको पहल आवश्यक ठहर्दै राष्ट्रिय योजना आयोगले विद्युतीय गाडी नै किन्यो। तर पनि अपेक्षाकृत विद्युतीय सवारीसाधनको प्रयोग बढ्न सकेको छैन। यसको मुख्य कारण हो, मुलुकमा अपर्याप्त बिजुली र विद्युतीय सवारीमा कम जानकारी।

नेपालमा विद्युतीय कार र स्कुटर चल्न थालेको दशक पुगिसक्यो। सन् २००७ मा पहिलो पटक विद्युतीय कार रेभा भित्रिएको थियो। भारतीय कम्पनी महिन्द्राले रेभा कम्पनी किनेपछि अहिले ‘महिन्द्रा ईटूओ’को नामबाट विद्युतीय कार भित्रिएको छ। यसका पनि विभिन्न अपग्रेडेड भर्सन नेपाल भित्रिसकेका छन्।

कोरियन ब्रान्ड किया र चिनियाँ ब्रान्ड बीवाईडीको पनि विद्युतीय कार नेपाल भित्रिसकेका छन्। विद्युतीय स्कुटर र तीनपांग्रे रिक्सा बिक्री गर्दै आएको जापानिज टेर्रा मोटर्सले पनि सन् २०१८ मा विद्युतीय कार भिœयाउने योजना बनाएको छ। यस्तै, आधा दर्जन विद्युतीय स्कुटर नेपाली बजारमा पाइन्छन्। विद्युतीय स्कुटरको बिक्री पनि बढ्दै गइरहेको बिक्रेता बताउँछन्।

नेपालमा अगामी दुई वर्षभित्र प्रशस्त विद्युत् उत्पादन हुँदैछ। चार सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउँदैछ। फालाफाल विद्युत् उत्पादन भएपछि स्वतः विद्युतीय गाडी प्रयोगमा आउने बताउँछन्, नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)का नवनिर्वाचित अध्यक्ष सम्भु दाहाल। ‘सरकारले कम भन्सारमै विद्युतीय सवारी भित्रिने व्यवस्था मिलाउनुपर्छ’, उनी भन्छन्, ‘विद्युतीय सवारीसाधनको पहुँच सर्वसाधारणसम्म पु¥याउनुपर्छ।’ विश्वबजार विद्युतीय सवारीसाधनतर्फ लागेपछि नेपाल पनि सँगसँगै अगाडि नबढी नहुने उनको तर्क छ।

विश्वका धेरै देशले समय सीमा तोकेरै विद्युतीय सवारी मात्र चलाउने घोषणा गरिसकेका छन्। नेपालले पनि विद्युतीय सवारी प्रयोगमा ल्याउनुपर्ने बहस चर्किंदै छ।

विद्युतीय सवारी नेपाल सुहाउँदो छ। जलविद्युत्को प्रशस्त सम्भावना बोकेको नेपालमा विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्नैपर्ने नाडा अध्यक्ष दाहाल बताउँछन्। विद्युतीय सवारीको भन्सार दर १० प्रतिशतमात्र छ। पेट्रोलियम गाडीको क्षमता हेरिकन २४१ प्रतिशतसम्म भन्सार बुझाउनु पर्छ। विद्युतीय गाडीमा वार्षिक रूपमा बुझाउनुपर्ने सडक कर शून्य सरह छ। साथै, सर्भिसिङ, मर्मतसम्भार, पेट्रोलियममा पनि मोटो रकम खर्चिनुपर्ने बाध्यता रहँदैन। विद्युतीय कार÷स्कुटर एक÷डेढ रुपैयाँमा एक किलोमिटर कुदाउन सकिन्छ।

लामो समय पेट्रोल गाडी चढ्दै आइरहेका पूर्वअर्थसचिव रामेश्वर खनाल अहिले विद्युतीय कारमा हुइँकिन्छन्। विद्युतीय कार चढ्न थालेपछि उनको खर्च पनि घटेको छ, मासिक सर्भिसिङ गर्नुपर्ने झन्झट पनि छैन। एक वर्षदेखि कियाको ‘सोल’ चढिरहेका खनालको अनुभव छ, ‘विद्युतीय कार चढ्नुको मज्जा बेग्लै हुँदो रैछ।’

विद्युतीय कार चढ्दा मासिक खर्च हजार नाघ्दैन। कारको ब्याट्री फुल चार्ज गरेपछि डेढसय किलोमिटरभन्दा बढी कुद्छ। ‘सय किलोमिटर यात्राको खर्च सवा सयको हाराहारी पर्छ’, खनाल भन्छन्, ‘महिनामा चार पटक चार्ज गरेपछि पुगिहाल्छ।’ पेट्रोलको पैसा जोगियो नै, हरेक महिनाजसो मर्मत, सर्भिसिङ, इन्जिन आयल, पार्टपुर्जामा लाग्ने हजारौं खर्च पनि जोगिन्छ। यतिमात्र होइन, सडक दस्तुरलगायत विभिन्न खर्चबाट पनि बचिन्छ।

संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले महिन्द्राको विद्युतीय कार ईटूओ किनेका छन्। विभिन्न प्रोजेक्टका कर्मचारी पनि विद्युतीय कारमा हुइँकिएको सडकमा देखिन्छ। सानो आकारको विद्युतीय कार राजधानीको ट्राफिक सुहाउँदो र पार्किङ गर्न पनि सजिलो हुन्छ।

आकर्षण स्कुटरमा

भारतीय नाकाबन्दी अगाडि विद्युतीय कार तथा स्कुटर त्यति बिक्री हुँदैनथ्यो। सबैको रोजाइमा पट्रोल इन्जिनका स्कुटर पर्थे। नाकाबन्दीपछि मुलुकभर पेट्रोलियमको हाहाकार भयो। एक लिटर पेट्रोलका लागि घन्टौं लाइन लाग्नुपर्ने। ब्ल्याकमा पेट्रोल किनी बाइक र स्कुटर चलाउन महँगो पथ्र्यो।

नाकाबन्दीले नेपाली जनजीवन प्रभावित भए पनि विद्युतीय स्कुटरको बिक्री भने ह्वात्तै बढेको व्यवसायी सम्झन्छन्। नाकाबन्दीपछि विद्युतीय सवारीसाधन बिक्रेतालाई माग धान्न धौ–धौ भएको थियो। फेरि नाकाबन्दी खुलेपछि बिक्री पुनः सेलाउँदै गएको बजार लोडसेडिङ कम भएपछि फेरि बढ्न थालेको बिक्रेता बताउँछन्।

मुलुकमा प्रशस्त बिजुली उत्पादन हुने र ठाउँ ठाउँमा चार्जिङ स्टेसन बनेमा विद्युतीय सवारीसाधनको बिक्री बढ्ने देखिन्छ। कतिपय कम्पनीले आफैं चार्जिङ स्टेसन बनाएर विद्युतीय गाडीको प्रवद्र्धनमा जुटिसकेका छन्। सरकार पनि ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाइदिएरै भए पनि विद्युतीय गाडी प्रवद्र्धन गर्ने मनसायमा छ।

नेपालमा आधा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर उपलब्ध छन्। याडी, बेला, हिरो, ताइलिङ, एभोन, टेर्रा चल्तीका विद्युतीय स्कुटर हुन्। थप ब्रान्डमा विद्युतीय स्कुटर भित्रिने क्रम पनि जारी छ। विद्युतीय स्कुटरको मूल्य पनि कम हुन्छ। सवा लाखमै राम्रो स्कुटर किन्न पाइन्छ। स्कुटरको ब्याट्री फुल चार्ज गरेपछि १०० किलोमिटर कुद्छ। ब्याट्री फुल चार्ज गर्न ८÷१० घन्टा लाग्छ। फुल चार्ज गर्दा तीन÷चार युनिटमात्र बिजुली खपत हुन्छ।

भारतमा विद्युतीय गाडी उत्पादन

छिमेकी मुलुक भारतको केन्द्र सरकारले सन् २०३० सम्म भारतीय बजारमा डिजेल र पेट्रोलबाट चल्ने कार हटाएर विद्युतीय कारमा पूर्णनिर्भर गराउने नीति लिएको छ। विश्वका धेरै मुलुकले पनि विद्युतीय कारको प्रयोगलाई बढावा दिन थालेका छन्। भारतले विद्युतीय कारलाई प्रोत्साहन गरेपछि गाडी उत्पादक कम्पनी विद्युत्बाट चल्ने कार निर्माणमा लागिसकेका छन्।

भारतमा महिन्द्रा, टाटा, हुन्डाई, मारुती सुजुकीलगायत गाडी निर्माता कम्पनी विद्युतीय गाडी उत्पादनमा जुटिसकेका छन्। टाटा कम्पनीले पहिलो चरणमा पाँच सय विद्युतीय भर्सन टिगोर भारत सरकारका विभिन्न निकायलाई हस्तान्तरण गरिसकेको छ। टाटाको गुजरात प्लान्टबाट धमाधम विद्युतीय कार उत्पादन भइरहेको छ। टाटाले चर्चित मोडल टियागो, बोल्ट, इन्डिका भेस्टा र नानो पनि विद्युतीय भर्सनमा ल्याउन लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

टाटाले नानो गाडीलाई ट्याक्सीमा प्रयोग हुनेगरी विद्युतीय भर्सनमा ल्याउन लागेको बताइन्छ। नानो फुल चार्ज भएपछि दुई सय किलोमिटरसम्म कुदाउन सकिने कम्पनीको दाबी छ। नेपालमा विद्युतीय भर्सनको माग भएमा टाटा टिगोर तत्कालै ल्याउन सकिने सिप्रदी टे«डिङ बताउँछ। मारुती सुजुकीले पनि छिट्टै इलेक्ट्रिक भर्सनका कार पेस गर्न लागेको छ।

‘चिनियाँ ब्रान्ड टेर्राको विद्युतीय कार छिट्टै ल्याउँदै छौं’, टेर्रा मोटर्सको नेपाली बिक्रेता फेयर अटो प्रालिका बिजनेस हेड श्याम सापकोटाले भन्छन्, ‘बजार यत्तिकै बढ्दैन, बजार बढाउन हामी आफै कस्सिएर लाग्नुपर्छ।’ विद्युतीय कार भिœयाएपछि विभिन्न ठाउँमा चार्जिङ स्टेसन खोल्ने फेयर अटोको योजना छ। फेयरले काठमाडौंमा दुईपांग्रे र तराईमा तीनपांग्रे विद्युतीय सवारी बिक्री गरिरहेको छ।

लोकप्रिय महिन्द्रा ईटूओ

नेपालमा सर्वाधिक लोकप्रिय विद्युतीय कार हो, महिन्द्रा ईटूओ। नेपाली बिक्रेता अग्नि इन्कर्पोरेटका प्रमोद भन्डारीका अनुसार महिन्द्रा ईटूओ अढाई सयभन्दा बढी बिक्री भइसकेको छ।। सन् २००७ मा सानो आकारको रेभा भित्रियो। यसपछि महिन्द्राले सन् २०१३ मा अलि ठूलो आकारको रेभाको अपग्रेडेड भर्सन ईटूओ ल्यायो। २०१७ जनवरीमा नयाँ भर्सनमा इटूओ स्पोटर््स आयो। सेप्टेम्बरमा चारवटा ढोका भएको ईटूओ प्लस पीएट पनि नेपाल आइसकेको छ।

नेपाली उपभोक्तामाझ विद्युतीय कारको उपयोगिताबारे बुझाउनुपर्ने आवश्यकता रहेको व्यवसायीको ठहर छ। विद्युतीय कार चलाउन पनि सजिलो र सञ्चालन खर्च अत्यन्तै कम छ। सरकारले विद्युतीय सवारीको प्रवद्र्धनका लागि भन्सार पनि न्यून राखेको छ। रोड ट्याक्सलगायत विभिन्न करबाट मुक्ति दिएको छ। मासिक रूपमा सर्भिसिङ गरिरहनु पर्दैन, वर्षमा एक पटक कम्पनीमा देखाए पुग्छ। विद्युतीय कारमा स्मार्ट प्रविधि जडान गरिएको हुन्छ।

‘महिन्द्रा ईटूओको खर्च प्रतिकिलोमिटर बढीमा डेढ रुपैयाँ हो’, महिन्द्राका भन्डारीले भन्छन्, ‘गाडी एक पटक फुल चार्ज गर्दा १४ युनिट विद्युत् खपत हुन्छ, फुल चार्ज भएपछि ईटूओ स्पोटर््स १२६ किलोमिटर र ईटूओ प्लस एट १४० किलोमिटरसम्म कुलाउन सकिन्छ।’ यसको मूल्य ३१ लाख हाराहारी पर्छ।

कियाको विद्युतीय भर्सन सोलमा उच्च प्रविधि जडित छ। सोलमा ब्याट्री पनि शक्तिशाली छ। सोल फुल चार्ज भएपछि एक सय ८० किलोमिटर गुड्न सक्ने कम्पनीको दाबी छ। ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ। यात्रु तथा चालकको सुरक्षाका लागि एयरब्यागसमेत राखिएको छ। यसको मूल्य ५५ लाख हाराहारी छ।

सिमेक्स प्रालिले नेपालमा ‘बीवाईडी ई सिक्स’ कार भिœयाएको छ। यो कारको मूल्य ५८ लाख रुपैयाँ छ। कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर छ। कम्पनीले देशभर र शहरमा सार्वजनिक यातायातको रूपमा चलाउन मिल्ने ‘वीवाईडी के नाइन’ पनि ल्याउने जनाएको छ।

स्कुटरका भेराइटी

नेपालमा याडी स्कुटर तीन हजार, १२ सय र हजार वाट क्षमतामा उपलब्ध छन्। जसको अधिकतम मूल्य पौनै दुई लाख रुपैयाँ छ। यस्तै, ताइलिङका आधा दर्जन मोडल छन्। ताइलिङ स्कुटरको मूल्य पनि पौने दुई लाखसम्म छ। अस्ट्रेलियन ब्रान्डको भिमोटा एलिन, इम्याक्स भी र इम्याक्स भीएक्स गरी तीन मोडल उपलब्ध छन्। भिमोटा स्कुटरको मूल्य डेढ लाखबाट सुरु हुन्छ।

चिनियाँ ब्रान्डको विद्युतीय स्कुटर एभोन नेपाली बजारमा राम्रै बिक्री भइरहेको कम्पनीको दाबी छ। नेपालमा दुई मोडेलमा एभोन स्कुटर उपलब्ध छ। यी स्कुटर एक पटक चार्ज गरेपछि ६० किलोमिटरसम्म कुदाउन सकिन्छ। टेर्रा विद्युतीय स्कुटर पनि सर्वाधिक लोकप्रिय छ। नेपालमा टेर्राका पाँचवटा मोडल उपलब्ध छन्। भियतनाममा बनेको टेर्रा स्कुटरमा डिक्स र ड्रम ब्रेक छ।

हिरो ब्रान्डको विद्युतीय स्कुटर चार मोडेलमा उपलब्ध छ। यो स्कुटरको मूल्य सवा लाखदेखि सुरु हुन्छ। बेला मोटर्सका विद्युतीय स्कुटर पनि लोकप्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.