३ वर्षमा सात प्रतिशत मात्रै घर बने

३ वर्षमा सात प्रतिशत मात्रै घर बने

बनेपा : भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले अझै गति लिन सकेको छैन । भूकम्पपीडितले निजी आवास बनाउन चासो नदिएसँगै काभ्रेमा ७ प्रतिशत मात्रै आवास निर्माण भएको छ ।

आवास निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समय अवधि तोकेर ताकेता गरे पनि आवास निर्माणका लागि चाहिने निर्माण सामग्री, खेताला, पानी समस्या भएको बताउँदै आवास निर्माण गर्न नसकेको गुनासो भूकम्पपीडितको छ ।

‘गाउँमा युवा र दक्ष जनशक्ति नभएकाले समयमै घर बनाउन सकेका छैनौं’, बेथानचोक गाउँपालिका-५ का मनीष तामाङ भन्छन्, ‘डकर्मी अभावमा डीपीसी गरेको चार महिना बितिसक्दा पनि सुरु गर्न पाइएन ।’

उनले थपिन्, ‘कहिले सिकर्मी, कहिले डकर्मी नपाएर घर बनाउन सकिएन ।’ त्यस्तै, महाभारत गाउँपालिका-६ बनखुचौरका सुरथसिंह लामाको पनि पीडा उस्तै छ । ‘खेताला पाउन मुस्किल छ, पाए पनि महँगो ज्याला भन्छन्, त्यसैले घर बनाउन सकेको छैन’, गाउँभरि घर बन्न लागेकाले कामदार नपाएर आवास निर्माण रोकेको लामाले बताए ।

‘गाउँघरमा दक्ष डकर्मी नहुँदा आलोपालो भूकम्पपीडितको आवास निर्माण गरिरहेका छन् । डकर्मीले ज्यालामा समेत मनलाग्दी रकम लिने गरेका छन्’, उनले थपे, ‘भूकम्प अघिको भन्दा झन्डै दोब्बर ज्याला भएको छ ।’

निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कामदारले समेत ज्यालामा दोब्बर मूल्यवृद्धि भएको भूकम्पपीडितको गुनासो छ ।

जिल्लामा ७२ हजार ४२० लाभग्राहीमध्ये ६७ हजार पहिलो किस्ताबापत रकम लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभे्र शाखाका प्रमुख धु्रव गैंडाले जानकारी दिए ।

उनका अनुसार हालसम्म दोस्रो किस्ता लैजाने २९.९५ प्रतिशत मात्र छन् भने ७ दशमलव ४२ प्रतिशतले (८ हजार ४९ जनाले) मात्र आवास निर्माण सम्पन्न गरेका छन् ।

नगरमा भन्दा गाउँमा पुनर्निर्माणको गति

पछिल्लो समय नगरपालिकाभन्दा गाउँपालिकामा पुनर्निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काभ्रेले जनाएको छ । जिल्लाका १३ वटा स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकामा सबैभन्दा कम आवास निर्माण भएको छ भने सबैभन्दा बढी डाडाँपारि निर्माण भएको प्राधिकरण धुलिखेलका इन्जिनियर रोशन केशरीले जानकारी दिए ।

उनका अनुसार नमोबुद्ध नगरपालिकामा दोस्रो किस्ता लिने १२ प्रतिशत छन् भने तेस्रो किस्ता लिने ३.५ प्रतिशत छन् । त्यस्तै, सबैभन्दा बढी जिल्लाको विकट डाडाँपारि महाभारत गाउँपालिकामा ७५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् भने ६.२५ प्रतिशतले मात्र तेस्रो किस्ता लगेका छन् ।

पछिल्लो समय ग्रामीण भेगमा आवास बनाउने बढेको भए पनि सहरी क्षेत्रमा भने निकै कम छ । ‘नगरपालिकामा नक्सापास, सडक मापदण्ड, कम जग्गामा नक्सा पास नहुनुलगायत विभिन्न कारणले आवास पुनर्निर्माणमा ढिलाइ भएको हो’, उनले भने ।

दोस्रो किस्ता पाउनै मुस्किल

सम्बन्धित निकायको व्यवस्था, कर्मचरीको लापरबाहीले पहिलो चरणको काम सकेर दोस्रो किस्ताका लागि निवेदन दिएको ५÷६ महिना बितिसक्दासमेत पनि भूकम्पपीडितले दोस्रो किस्ता पाउन सकेका छैनन् । प्राधिकरणले भनेबमोजिम मापदण्ड पुर्‍याएर दोस्रो किस्ताका लागि निवेदन पेस गरे पनि लामो समयसम्म आफूहरूले पैसा नपाएको गुनासो भूकम्पपीडितको छ ।

‘दोस्रो किस्ताका लागि निवेदन दिएको ५ महिना बित्यो अझै पाएको छैन’, पनौती-१२ की मल्लिका पहरी भन्छिन्, ‘कर्मचारी र प्राधिकरणले विभिन्न बहाना बनाएर पटक पटक भोलि-पर्सि हुन्छ भनेर टार्छन्’, उनले थपिन्, ‘डीपीसी सकियो अब त्योभन्दा माथि उचाल्न पैसा छैन, दोस्रो किस्ता आउँला र बनाउँला भनेको ५ महिना बित्यो अझै आएको छैन ।’

पहरीजस्तै दोस्रो किस्ताका लागि महिनैां अघिदेखि आफूहरूले फारम भरे पनि रकम नपाएको गुनासो पोख्दै आएका छन् ।

पुनर्निर्माण प्राधिकरण काभे्र शाखाका प्रमुख धु्रव गैंडाले भने दैनिक किस्ताबारे गुनासो बडेसँगै सम्बन्धित निकायमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘दैनिक सयैाँ संख्यामा रकम नपाएको गुनासोका फोन र निवेदन आउने गरेको छ ।’ उनले पर्याप्त कर्मचारी अभाव र कोष तथा लेखा नियन्त्रण कार्यालयले ढिलाइ गर्दा समस्या विकराल बन्दै गएको गुनासो पोखे ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.