नाम मात्रैकाे फार्मेसी

नाम मात्रैकाे फार्मेसी

बुटवल : आफन्त बिरामी भएर बुटवलको लुम्बिनी अञ्चल अस्पताल आएकी कपिलवस्तुकी शान्ति शर्मालाई अञ्चल अस्पतालमा फार्मेसी छ भन्ने थाहा छैन। अस्पतालको फार्मेसीबारे थाहा नपाएपछि उनी छेउमै रहेको निजी फार्मेसीमा गइन्। उनी मात्र होइन, अस्पतालमा आउने धेरै बिरामी सरकारी फार्मेसीबारे थाहा नहुँदा निजीमा जान बाध्य छन्। लुम्बिनी अञ्चल अस्पतालले इमर्जेन्सी नजिकै फार्मेसी खोलेको डेढ वर्ष भयो। तर, फार्मेसीमा न पर्याप्त औषधि छ न कसैलाई जानकारी नै ! सरकारले बाध्यकारी बनाएपछि फार्मेसी त खुल्यो तर औषधि राखिएन।

०७३ फागनु १५ गतेदेखि अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन सुरु गरेको हो। सुरुमा फार्मेसीमा दैनिक २५ हजारसम्मको औषधि बिक्री हुन्थ्यो। तर, अहिले देखावटी मात्रै छ। ‘दैनिक हजार रुपैयाँको औषधि पनि बिक्री हुँदैन’, फार्मेसीका कर्मचारी मुकेशकुमार राउतले भने। अस्पतालको फार्मेसी सबैले देख्ने ठाउँमा छैन। पूर्वीगेटबाट प्रवेश गर्ने र निस्कनेले अस्पतालको फार्मेसी देख्दै देख्दैन। अस्पतालको उत्तरतर्फको गेट प्रयोग गर्नेमध्ये केहीको आँखा मात्र फार्मेसीमा पर्छ। उत्तरी गेटछेउमै जनप्रिय फार्मेसीले टेन्डरमार्फत औषधि पसल चलाएको हो।

जनप्रियबाट अस्पतालले मासिक १४ लाखजति भाडा उठाउँछ। अस्पतालले मुनाफा पाएपछि आफ्नो फार्मेसी व्यवस्थित गर्नतर्फ ध्यान नदिएको कतिपयको आरोप छ। आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पतालले गतिलो पूर्वाधार बनाउन सकेको छैन। भएको फार्मेसीमा पर्याप्त औषधि छैन। ‘चार वटा औषधि लिस्ट लिएर आए भने एक÷दुईवटा मात्र दिन सकिन्छ’, फार्मेसीका कर्मचारी राउतले भने, ‘त्यसैले यता र उता ओहोरदोहोर गर्नुभन्दा एकै ठाउँबाट औषधि खरिद गर्न निजी औषधि पसल खोज्छन्।’

फार्मेसी खोल्नुको उद्देश्य कमजोर आयस्रोत भएका बिरामीलाई सस्तो आषधि उपलब्ध गराउनु हो। 

अस्पतालको फार्मेसीमा १० देखि १५ प्रतिशत छुटमा औषधि पाइन्छ। २४ सै घण्टा खुल्नुपर्ने अस्पतालको फार्मेसी अहिले ८ घण्टा मात्र खुल्छ। सस्तो औषधि भए पनि अस्पतालले फार्मेसीमा ध्यान नदिँदा बिरामी महँगो औषधि खरिद गर्न बाध्य छन्। ‘मान्छे आउँदैनन् जनशक्ति पनि कम छ’, फार्मेसीका राउतले भने, ‘फार्मेसी शाखामा ४ जना छौं। आलोपालो बस्छौं।’ सेवाग्राही नआउँदा र बिक्री नहुँदा कतिपय औषधिको म्याद गुज्रिन्छ। अस्पतालमा भेटिएका सेवाग्राही विजय ढकालले अस्पतालको फार्मेसी व्यवस्थित गर्नुपर्ने बताए। ‘सबैले देखिने ठाउँमा व्यवस्थित गरी फार्मेसी राख्नुपर्छ। जनताले सुलभ दरमा औषधि पाए भने अस्पतालको फार्मेसी राम्ररी चल्छ’, उनले भने।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले छिट्टै अस्पतालको फार्मेसी व्यवस्थित गरिने प्रतिबद्धता जनाए। ‘अस्पताल परिसरभित्र भाडामा फार्मेसी चलाउनेको अब नवीकरण गर्दैनौं। त्यही ठाउँमा आफ्नै फार्मेसी सञ्चालन हुन्छ’, उनले भने। अस्पताल परिसरमा फार्मेसी सञ्चालन गर्ने जनप्रिय फार्मेसीको म्याद असोजमा सकिँदै छ। असोजपछि त्यही ठाउँमा अस्पतालले नै फार्मेसी चलाउने मेसु खनालले बताए।

लुम्बिनी अञ्चल अस्पतालमा दैनिक एक हजारसम्म बिरामी आउँछन्। विपन्न समुदायका व्यक्ति उपचारमा आउने अस्पतालले फार्मेसी सञ्चालनमा भने लापरबाही गरेको छ। सरकारले फार्मेसी खोल्नुको उद्देश्य कमजोर आयस्रोत भएका बिरामीलाई सस्तो औषधि उपलब्ध गराउनु हो। तर, अस्पतालले त्यसलाई बेवास्ता गरेको सरोकारवालाको भनाइ छ।

लुम्बिनी अञ्चल अस्पताल मात्र नभई भैरहवाको जिल्ला अस्पतालको अवस्था पनि उस्तै छ। उपचारका लागि गएका बिरामीले सरकारी फार्मेसीबाट खासै औषधि पाउन सक्दैनन्। सरकारीमा औषधि नराखी निजीमा जान बाध्य गराउन कमिसनको खेल भएको आशंका बिरामीका आफन्तले गर्दै आएका छन्। भीम अस्पतालको फार्मेसीमा पुगेको लुम्बिनीका पवन यादवले भने, ‘बिरामीलाई देखाउन मात्रै फार्मेसी राख्ने तर औषधि नहुने’, उनले भने, ‘नक्कली फार्मेसी राखेर बिरामीलाई महँगो औषधि किन्न बाध्य पारिएको छ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.