शौचालय नबनाई खुला दिसामुक्त घोषणा !

शौचालय नबनाई खुला दिसामुक्त घोषणा !

सिन्धुली : शौचालय नै नबनाई जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको सरोकारवालाले गुनासो गरेका छन् । दातृ निकायलाई रिझाउनकै लागि मात्र जिल्लालाई ४९औं खुला दिसामुक्त जिल्ला घोषणा गरेको गुनासो आएको हो ।

गत बिहीबार मात्र सिन्धुलीमाढीमा भव्य समारोह आयोजना गरी सिन्धुलीलाई खुला दिसामुक्त जिल्ला भएको घोषणा गरिएको थियो । तर, सरोकारवालाले ०७२ सालको विनाशकारी भूकम्पले क्षतविच्छेद बनाएको घर र शौचालयको पुनर्निर्माण नै नगरी हचुवाको भरमा खुला दिसामुक्त जिल्ला घोषणा गरेको आरोप लगाएका हुन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा ६९ वटै वडामा ५८ हजार ७ सय ९६ घरधुरी छन् । तीमध्ये ३४ हजार नौ सय घर भूकम्पबाट पूर्ण रूपमा ध्वस्त भएका थिए । सँगै शौचालय पनि पूर्ण रूपमा ध्वस्त भएका थिए।

तर ती शौचालय निर्माण गरिएको छैन । अस्थायी टहरा र त्रिपालमुनि बस्दै आएका हजारौं भूकम्पपीडित अझै खुला स्थानमा शौचालय बसिरहेका छन् । तर, सरकारी निकायले हचुवाको भरमा खुला दिसामुक्त जिल्ला घोषणा गर्नु लज्जाको विषय भएको भूकम्पपीडितको भनाइ छ ।

सन् २०१२ बाट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अभियान थालिए पनि २०१५ सम्म निर्मित शौचालय भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण हुनै नसकेको कपिलाकोटका भूकम्पपीडित तथा शिक्षक अमृत घिसिङले गुनासो गरे । ‘गाउँमा एक हजारभन्दा बढी घरसँगै शौचालयमा समेत भूकम्पले क्षति पुर्‍याएको थियो । तर ती घर पुनर्निर्माण हुन नसक्दा शौचालय पनि बनेका छैनन् ।’

कपिलाकोटजस्तै जिल्लाका कमलामाई नगरपालिकाभित्रका १४ वडा, तीनपाटन, गोलन्जोर, फिक्कल, हरिहरिपुरगढी, सुनकोसी, घ्याङलेख गाउँपालिकालगायत बस्तीमा भूकम्पले क्षति पुर्‍याएका शौचालयको पुनर्निर्माण नै नगरी हचुवाका भरमा जिल्लामा ९७ प्रतिशतभन्दा बढी घरमा शौचालय निर्माण भएको गलत तथ्यांक देखाएर खुला दिसामुक्त जिल्ला घोषणा गरिएको आरोप छ ।

कमलामाई नगरपालिका–३ जलकन्यामा पनि भूकम्पले चार सय ४५ घरधुरीमध्ये ३ सय ८१ घरमा क्षति पुर्‍याउँदा सोहीको संख्यामा शौचालयमा समेत क्षति पुगेको स्थानीय रमेश देवकोटाको भनाइ छ । ‘भूकम्पअघि गाउँमा ४० प्रतिशत मात्र शौचालय भएको तथ्यांक सार्वजनिक गरिएको थियो’, उनले भने, ‘तर, भूकम्पको केही दिनमै गाउँलाई खुला दिसामुक्त गाउँ घोषणा गरिएको थियो । गाउँका अधिकांश त्रिपालमा बसेका बेला शौचालय भने पूरै निर्माण सम्पन्न भयो भनेर घोषणा गरिएजस्तै जिल्लालाई पनि घोषणा गर्न हतार भएको प्रस्ट हुन्छ ।’

जिल्लामा भूकम्पले भत्काएका शौचालय अझै बनेका छैनन् । तर हचुवाको भरमा खुला दिसामुक्त घोषणा गरिउको छ ।

भूकम्पलगत्तै गरिएको एक तथ्यांकमा पनि जिल्लामा ३४ हजार ९ सय घर पूर्णरूपमा ध्वस्त भएको र ती घरमा बनेकामध्ये ६० प्रतिशत शौचालयमा समेत क्षति पुगेको बताइएको थियो । भूकम्प गएको ३ वर्ष पूरा हुँदासम्म ३४ हजार ९ सयमध्ये बल्ल तीन हजार वटा मात्र घर पुनर्निर्माण भएका छन् । यही तथ्यांकलाई आधार मान्ने हो भने पनि जिल्लामा अझै ३० हजार घर पुनर्निर्माण हुन बाँकी छन् । यस्ता घर साविकभन्दा केही आसपासमा पुनर्निर्माण हुने चरणमा भएकाले त्यस्ता घरमा शौचालय बन्दै नबेको धेरै प्रमाण जुटाउन सकिने देवकोटाको दाबी छ ।

तर सरकारी निकायले भने ५८ हजार ७ सय ९६ घरधुरीमध्ये ५८ हजार दुई सय १० वटा घरमा शौचालय बनेको भन्दै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको दाबी गरेको छ । भूकम्पका कारण जिल्लाका चार सयभन्दा बढी सरकारी, सामुदायिक विद्यालय, गुम्बालगायत संघसंस्थाका भवनमा क्षति पुगेको थियो । ती भवनभित्र भएका शौचालयसमेत असुरक्षित छन् । तर, तिनै भवनमा भएका शौचालयलाई समेत तथ्यांकमा राखेर जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नु गलत भएको चौतर्फी गुनासो आएको छ ।

निर्माण नै नगरी खुलाक्षेत्रमा शौच गर्ने गरेको सत्यलाई जिल्लामा बिर्सिएर खुला दिसामुक्त घोषणा गरिएको कांग्रेस सिन्धुलीका नेता दीपक मि श्रको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.