आन्दोलन फिर्ता लिएपछि सिन्डिकेट समर्थक व्यवसायी रिहा
![आन्दोलन फिर्ता लिएपछि सिन्डिकेट समर्थक व्यवसायी रिहा](https://annapurnapost.prixacdn.net/media/albums/20180505111903_yatayat_crime_news_fA8vKOrGJ7.jpg)
राजविराज : सगरमाथा यातायात संघमा आबद्ध सवारी साधन तत्काल सुचारु गर्ने लिखित प्रतिबद्धता गरेपछि सप्तरीकको राजविराजबाट पक्राउ परेका तीनजना यातायात व्यवसायी रिहा भएका छन् । सिन्डिकेट कायम राख्न माग गर्दै सवारी साधन ग्यारेजमा थन्काएर हड्तालमा उत्रिएको आरोपमा सप्तरी प्रहरीले संघका सचिव दिनेश साह, सदस्यहरु दिनेश गुप्ता र गजेन्द्र भगतलाई शुक्रबार पक्राउ गरेको थियो ।
रिहा भएका यातायात व्यवसायीले सिन्डिकेट कायम राख्नु पर्ने पक्षमा नभई नेपाल सरकारको नीति निर्देशनअनुरुप सार्वजनिक सवारी साधनहरु निर्वाध रुपले सञ्चालन गर्ने प्रतिबद्धता गरेको बताएका छन् । प्रतिबद्धता पालना नगरी सिन्डिकेट कायम राखे प्रचलित कानुन बमोजिम कारवाही हुने प्रतिबद्धतापछि व्यवसायीलाई रिहा गरिएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए । यातायात व्यवसायीको आन्दोलनविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि उनीहरु पछि हट्ने अवस्थामा पुगेका हुन् ।
सार्वजनिक यातायात सञ्चालन नगरेपछि प्रहरीले शुक्रबार देशभरीबाट सयौं यातायात व्यवसायीलाई पक्राउ गरेको थियो । हडतालमा उत्रिएका यातायात व्यवसायीहरु सेवामा फर्किएपछि शनिबार बिहानैदेखि साविककै रुटमा सवारी सञ्चालन भएका छन्। सरकारले यातायात समिती खारेज गर्दै यातायात व्यवसाय गर्न कम्पनी दर्ता अनिवार्य गरेको छ । त्यस्तै देशभरी रुट परमिट समेत खुला गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)