११ उत्तर कोरियाली पक्राउ

११ उत्तर कोरियाली पक्राउ

काठमाडौं : प्रहरीले श्रम स्वीकृति नलिई अवैध रूपमा काठमाडौंमा काम गरिरहेका ११ जना उत्तर कोरियाली पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले शुक्रबार साँझ दरबारमार्गस्थित याक एन्ड यती होटलको प्रवेशद्वार नजिक उत्तर कोरियालीद्वारा सञ्चालित प्योङयाङ आरिराङ रेस्टुरेन्टबाट १० युवती र एक युवक गरी ११ जना उत्तर कोरियाली पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले पक्राउ उत्तर कोरियालीमाथि अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, ‘उनीहरूले श्रम स्वीकृतिबिनै काम गरेको पाइएको छ। यसबाहेक अन्य विषयमा समेत अनुसन्धान भइरहेको छ।’ प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाउनेछ। त्यसपछि विभागले थप अनुसन्धान गर्नेछ। स्रोतका अनुसार उनीहरू यसबाहेक पनि अन्य शंकास्पद गतिविधिमा संलग्न हुन सक्ने आशंका गरिएको छ। उनीहरूविरुद्ध अध्यागमन ऐन÷नियमावली उल्लंघन, करछलीलगायत विभिन्न आरोप छन्।

काठमाडौंस्थित उत्तर कोरियाली दूतावासको प्रत्यक्ष निगरानीमा सञ्चालित उक्त रेस्टुरेन्टमा केही नेपाली कुकबाहेक सबै उत्तर कोरियाली कामदार काम गर्छन्। ती सबै उत्तर कोरियाली कामदार व्यापारिक भिसामा यहाँ बसेर काम गरिरहेको खुलासा भएको छ। डिपेन्डेन्ट भिसामा आएका उत्तर कोरियालीहरूले समेत अध्यागमन ऐन÷नियमविपरीत श्रम स्वीकृतिबिनै उक्त रेस्टुरेन्टमा काम गरिरहेका छन्। दरबारमार्गस्थित एउटा भवन भाडामा लिएर उनीहरूले रेस्टुरेन्ट सञ्चालन गरेको पाइएको छ। उनीहरूले रेस्टुरेन्टको तेस्रो तलालाई आवासका रूपमा प्रयोग गरिरहेको खुलेको छ।

उत्तर कोरियाली हो क्वाङ अध्यक्ष रहेको प्योङयाङ आरिराङ रेस्टुरेन्टमा छुट्टै कोठा लिएर खाजा मात्र खाए पनि करसहित बिल रकमबाहेक प्रतिघण्टा हजार रुपैयाँ तिर्नुपर्छ। उत्तर कोरियालीले सञ्चालन गरेको उक्त रेस्टुरेन्टले ग्राहकसँग कर लिए पनि सरकारलाई कर नबुझाएको फेला परेको छ। त्यसरी छुट्टै कोठा लिने ग्राहकलाई आफूले गीत गाउने (काराओके) व्यवस्था मिलाइएको छ। त्यहाँ कार्यरत उत्तर कोरियाली युवतीहरू ग्राहकसँगै गीत गाउने र नाच्ने गरेको खुलासा भएको छ।

सामान्य टेबलमा बस्ने ग्राहकले काराओकेको रमाइलो लिन पाउँदैनन्। रेस्टुरेन्टले सधैं घाटामा गएको विवरण देखाएर कर कार्यालयलाई झुक्याउँदै आएको स्रोतले जानकारी दियो। रेस्टुरेन्टका उत्तर कोरियाली सञ्चालकले आयकर मात्र नभई बिलअनुसार ग्राहकसँग लिने कर रकम पनि नतिर्ने गरेको स्रोतको भनाइ छ। वेटर, बिलिङ, अतिथि सत्कारलगायत सबै काम उत्तर कोरियाली युवतीले गर्दै आएका छन्।

यसैगरी, तनहुँको दमौलीस्थ्ति उत्तर कोरियालीद्वारा सञ्चालित ‘ने कोर्यो’ अस्पतालमा समेत व्यापारिक भिसा लिएका उत्तर कोरियाली चिकित्सकले नै उपचार गर्दै आएको खुलासा भएको छ। उद्योग विभागले विदेशी लगानीअन्तर्गत सबै प्रक्रिया पूरा गरेपछि व्यापारिक भिसाको सिफारिस गर्ने गरेको पाइएको छ। त्यही सिफारिसका आधारमा अध्यागमन विभागले उनीहरूलाई व्यापारिक भिसा दिने गरेको छ। उत्तर कोरियालीले व्यापारिक भिसा दुरुपयोग गर्दै अस्पतालमा काम गरिरहेका छन्।

महानगरीय अपराध महाशाखाले श्रम स्वीकृतिबिना काम गरेको र विभिन्न अवैध गतिविधिमा समेत संलग्न रहेको हुन सक्ने उजुरी परेपछि उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरेको थियो। उत्तर कोरियाली दूतावासका अधिकांश कार्यक्रम उक्त रेस्टुरेन्टमा आयोजना हुने गरेका छन्। दरबारमार्गस्थित रेस्टुरेन्टमा कार्यरत उत्तर कोरियालीले नजिकैको राइजिङ मलमा चिनियाँद्वारा सञ्चालित रेस्टुरेन्टमा समेत काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.