औषधि खरिदभन्दा भ्रमण खर्च बढी

औषधि खरिदभन्दा भ्रमण खर्च बढी

जाजरकोट : जाजरकोटको सबैभन्दा दुर्गम एवं पिछडिएको गाउँपालिका हो, जुनीचाँदे। यो गाउँपालिकामा अहिले पनि मोटरबाटो पुगेको छैन। टेलिफोन र बिजुलीको सुविधा पनि छैन। स्वास्थ्य संस्था नाम मात्रका छन्। स्वास्थ्यकर्मी र औषधि अभाव सधैँको समस्या हो।

विद्यालयमा शिक्षक र विद्यार्थी हुन्छन्। नियमित पढाइ हुँदैन। कोर्स पूरा नभएरै विद्यार्थी परीक्षा दिन बाध्य हुन्छन्। दुई दिन पैदल हिँडेर खाद्यान्न ल्याउनुपर्छ। गाउँपालिकाको कार्यालय सदरमुकामै हुँदा स्थानीय सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन्। गाडी नपुगे पनि विकासका नाममा जथाभावी एस्काभेटर र डोजरले बाटो खन्दा गाउँ नै बगाउने खतरा बढेको छ। विकासका नाममा हुने अनियमितता उत्तिकै छ। यीलगायतका स्थानीय नागरिकको प्रत्यक्ष जनजीवनसँग सम्बन्धित थुप्रै समस्या छन्। गाउँलेको जनजीवन निकै कष्टकर छ। यस्ता समस्या समाधानकोे साटो स्थानीय जनप्रतिनिधि भने करिब महिना दिनदेखि भ्रमणमा निस्किएका छन्।

वैशाख १ मा भएको रारा महोत्सवपछि भ्रमणमा निस्किएका जनप्रतिनिधि अहिलेसम्म जिल्ला फर्किएका छैनन्। गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी, उपप्रमुख शिवा आचार्य , ६ जना वडाध्यक्ष र चारजना कार्यपालिका सदस्य अहिले पनि भ्रमणमै छन्। राराबाट फर्किएलगत्तै उनीहरू अर्को भ्रमणमा निस्केका हुन्। उनीहरू इलामदेखि छिमेकी भारतको दार्जिलिङसम्म पुगेर केही दिनमै फर्कंदै छन्। रारामा करिब ८५ हजार र दार्जिलिङ भ्रमणमा साढे दुई लाख रुपैयाँ सकेर उनीहरू फर्कंदै छन्।

गाउँपालिकामा सामान्य औषधिसमेत नपाएर सर्वसाधारण छटपटाइरहेको बेला गरिएको भ्रमणको स्थानीयले विरोधसमेत गरेका छन्। गत पुसमा प्रकोपका रूपमा फैलिएको भाइरल ज्वरो र रुघाखोकीले १३ जनाको ज्यान लियो भने सयौँ बिरामी परेका थिए। स्वास्थ्य सेवाकोे पहुँच निकै कमजोर रहेको यस गाउँपालिकामा सधैँ स्वास्थ्य समस्याले सताइरहन्छ।

स्वास्थ्य सेवा प्रवाहको अवस्था पनि निकै नाजुक हुँदा सामान्य रोगले पनि महामारीको रूप लिने गरेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बजेट भने न्यून मात्रामा विनियोजन गरिएको छ। भ्रमणमा अहिलेसम्म करिब तीन लाख ३५ हजार रुपैयाँ खर्च भइसकेको छ। तर स्वास्थ्य जस्तो नागरिकसँग प्रत्यक्ष जोडिएको विषयमा भने तीन लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ।

‘गाउँमा सिटामोल नपाएर मानिस हैरान छन्’, स्थानीय बेगवान बस्नेतले भने, ‘तर यहाँका जनप्रतिनिधिलाई सयर गर्नमै फुर्सद छैन।’ स्वास्थ्य संस्थामा भरपर्दो उपचार सेवा नहुँदा मानिस अहिले पनि धाँमीझाँक्रीको विश्वास गर्न बाध्य छन्। आर्थिक वर्षको नौ महिनाको अवधिमा पुँजीगततर्फ करिब ४० प्रतिशत बजेट मात्र खर्च भएको छ। आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी छ। कार्यालयमा बसेर काम गर्नुको साटो जनप्रतिनिधि लामो समय भ्रमणमा निस्कँदा महŒवपूर्ण कामकाज ठप्प भएको स्थानीयको भनाइ छ।

जुनीचाँदे मात्र होइन, रारा भ्रमणका नाममा यहाँका सबै नगर र पालिकाले कम्तीमा एक लाख रुपैयाँ खर्च गरेका छन्। सरकारी रकममा जनप्रतिनिधिले आफ्ना नातागोता र नेतालाई रारा भ्रमण गराएर अख्तियारको दुरुपयोग गरेको स्थानीय दीपबहादुर घर्तीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.