चार ठाउँमा सिग्नेचर पुल

काठमाडौं : राजधानीको टेकुसहित विभिन्न चार स्थानमा सिग्नेचर पुल निर्माण हुने भएको छ । नेपालमा पहिलोपटक आकर्षक र टिकाउ हुने सिग्नेचर पुल निर्माण हुने भएको हो । सिग्नेचर पुल बनाउन सहरी क्षेत्रका विभिन्न चार स्थान तय गरिएको र आवश्यक डिजाइनसमेत सुरु भइसकेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) नरेशमान शाक्यले जानकारी दिए ।
विभागले हाल नेपालमा निर्माण गरिएका परम्परागत मोटरेबल पुलको विकल्पमा आकर्षण, पुलबाटै दृश्यावलोकन गर्न सकिने र सुरक्षित तथा थोरै पिलर प्रयोग गरेर बन्ने सिग्नेचर पुल बनाउन लागेको हो । शाक्यका अनुसार विश्व बैंकको सहयोगमा पुलको डिजाइनको काम अगाडि बढिसकेको छ । आगामी पाँच वर्षभित्र पुल निर्माण हुने र आवश्यक आर्थिक स्रोतको जोहो पनि विश्व बैंकबाटै हुने भएको छ ।
शाक्यका अनुसार साधारण पुलको तुलनामा ४० प्रतिशत बढी खर्च लाग्ने यस्तो सिग्नेचर पुल बनाउन कम्तीमा प्रतिमिटर ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शाक्यका अनुसार भरतपुर र गैंडाकोट जोड्ने नारायणी नदी, सर्लाही र रौतहट जोड्ने महेन्द्र राजमार्गमा पर्ने वाग्मती नदी, बुटवलको तिनाउमा र नेसनल ट्रेडिङसँगैको टेुकबाट कालिमाटी जोड्न सिग्नेचर पुल बन्ने भएको हो ।
पुल बनाउने विषयमा नेपाल सरकार र विश्व बैंकसँग आवश्यक सहमति भइसकेको र चारवटै पुलको डिजाइनका लागि आवश्यक रकमसमेत आएकाले काम अगाडि बढेको छ । पुल निर्माण आगामी पाँच वर्ष भित्रै सकिनेछ । विभागका अनुसार जति काम गरेको छ सोही आधारमा रकम आउने गरी विश्व बैंकसँग सहमति भएको छ । जसका कारण पुल निर्माणमा रकम अभाव नहुने र समयमा नै सकिने बुझाइ शाक्यको छ ।
शाक्यका अनुसार टेकुमा हाल सडक विस्तारका क्रममा सडकभन्दा माथि नयाँ पुल बनिरहेको छ । यो पुल सडक विस्तारका क्रममा आवश्यक पुल निर्माण भएको हो । निर्माणाधीन यो टेकुको पुल सञ्चालनमा आएपछि हालको पुल भने भत्काएर सिग्नेचर निर्माण गरिनेछ ।
के हो सिग्नेचर पुल ?
हेर्दा आकर्षक देखिने, दायाँबायाँ पुलमा फुटपाथ हुने भएकाले पैदल यात्रुले सोही स्थानबाट दृश्यावलोकन गर्न, फोटो खिच्न र नदी र वरपरको वातावरण नियाल्न सक्छन् । सामान्य मोटरेबल पुलभन्दा फरक हुने भएकाले लागत पनि ४० प्रतिशत बढी हुन्छ । माथिबाट घुमाएर ल्याइने भएकाले एक प्रकारको आर्क पुलको रूपमा सिग्नेचरलाई बुझिन्छ । कम संख्यामा पिलरको प्रयोग हुने, बत्ती रहने, दायाँबायाँ फराकिला पैदल यात्रुका लागि स्थान छाडिनेछ । नारायणी र तिनाउमा भने पुलमुनि रेस्टुरेन्ट नै रहनसक्ने गरी डिजाइन भइरहेको छ ।
पुलको दायाँबायाँ फुटपाथ हुने भएकाले पैदल यात्रुले सोही स्थानबाट दृश्यावलोकन गर्न, फोटो खिच्न र नदी र वरपरको वातावरण नियाल्न सक्छन् ।
अन्तर्राष्ट्रियस्तरमा यस्ता पुललाई पर्यटकीय आकर्षणको रूपमा प्रयोग गरिने भएकाले नेपालमा पनि पहिलोपटक सिग्नेचर पुल बनाउन लागिएको शाक्य बताउँछन् । यस्तो पुल बनाउन विश्व बैंकले आगामी पाँच वर्षभित्र खर्चनुपर्ने गरी दिएको करिब १४ अर्ब रुपैयाँमध्येबाट केही अंश डिजाइनमा खर्च गरिनेछ । पुल निर्माणमा आवश्यक रकम भने विश्व बैंकबाटै आउने भएको छ ।
डिजाइन गर्न चिनियाँ परामर्शदाता
सडक विभागले सिग्नेचर पुल निर्माण गर्न १८ लाख रुपैयाँ खर्चिएर चिनियाँ प्रोफेसर डा. डिउई चेनलाई परामर्शदाताको रूपमा नियुक्त गरेको छ । चेनले लिने पारि श्रमिक एकैपटक भुक्तानी गर्ने नभएर उसले नेपालमा आएर करब ८ महिनासम्म परामर्शका क्रममा दिइने सडक विभागले जनाएको छ । नेपालले पहिलोपटक बनाउन लागेको सिग्नेचर पुलमा नेपालीसँग आवश्यक ज्ञान नभएकाले चिनियाँ परामर्शदाताबाट आफूले सिक्ने गरी ल्याइएको उल्लेख छ । चेनले एउटै पुलको डिजाइनमा चीनमा लिने यस्तो पारि श्रमिक ६२ लाख रुपैयाँभन्दा बढी भए पनि नेपालले भने विशेष आग्रहमा कम पारि श्रमिकमै ल्याएको पनि उल्लेख छ । चेनले मुम्बईको वल्र्डले सिलिङको डिजाइन गरेका थिए । उनले अन्तर्राष्ट्रियस्तरमा ठूला र आकर्षक पुल डिजाइन गरेकाले पनि पराशर्मदाताका रूपमा नेपालमा पनि ल्याइएको जानकारी विभागले दिएको छ ।
पुल निर्माण समयमै
विश्व बैंकको ऋण सहयोगमा बन्ने यस्तो पुलमा जति काम भयो उति रकम भुक्तानी हुँदै जाने विधि अवलम्बन गरिने भएको छ । यो विधिबाट काम गर्दा हामीले हाल गरिरहेको पुल निर्माणभन्दा फरक अभ्यास हुनेछ । हाल देशैभर पुल निर्माण अलपत्र भइरहको र समयमा नै नसकिने समस्या सिग्नेचर पुलमा नहुने भएकाले निर्धारित पाँच वर्षभित्रकै समयमा सकिने दाबी पनि विभागको छ । नयाँ पुलमा रकमको अभाव नहुने भएकाले पनि समयमा नै सक्न सहयोग हुने बुझाइ विभागको छ ।
प्रतिक्रिया दिनुहोस !
