पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार
इस्लामावाद : पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको जानकारी दिएका छन् । खानले भने, ‘गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको छ । उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।’
प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडि बढेको उनले बताएका छन् । यसबारे थप जानकारी आउन बाँकी छ । यसैबीच प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले दिएको अस्वाभाविक टिप्पणीसँगै आएको छ । उनले निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने जस्तो हास्यास्पद तर्क दिएका थिए । यद्यपि उनको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने बताएका थिए ।
अब्बासीले शनिबार आफ्नो दलको प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुने बताएका थिए । पाकिस्तानमा जुलाईमा संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।
विस्फोटमा १८ को मृत्यु
पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनामा १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । हराएकाहरूको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तस्थित कोइलाखानीमा ती विस्फोट भएका थिए ।
पहिलो विस्फोट बलुचिस्तानको राजधानी क्वेटा नजिकै पर्ने पिर इस्मेल भन्ने ठाउँमा भएको थियो । त्यस दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव निकालिएको छ । घटनास्थलमा प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणको टोलीले उद्धार तथा खोजी कार्यको नेतृत्व गरेको थियो ।
कम्तीमा पाँचजना मजदुर अझै पनि पुरिएकाले अधिकारीहरूले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने बताएका छन् । राजधानी क्वेटा नजिकैको मार्गीतमा भएको अर्को छुट्टै कोइलाखानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा दुईजना मारिएका छन् भने १३ जना घाइते भएका छन् । घटनामा दर्जनभन्दा बढी हराईरहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य भईरहेको अधिकारीले बताएका छन् ।
घाइतेहरूलाई स्थानीय मार्गीत अस्पतालमा लगिएको छ भने घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमध्ये चारजनालाई क्वेटामा रहेको सिभिल अस्पतालमा लगिएको छ । दुर्घटनामा पर्नेमा अधिकांश मजदुरहरू रहेका छन् । उनीहरू साङ्ला जिल्लाका बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस !