सहर: एक लत

सहर: एक लत

४० हजार वर्षअघि 'क्रो म्याग्नन्' मानव भौतारिरहेको युरोपको अनकन्टार जंगलबाट आज विज्ञान र प्रविधिको पछिल्लो विकास, साइब्रोग मानव बस्ने महानगरसम्मको यात्रा एक मीठो कल्पनाझैं लाग्छ। तर यो सग्लो सत्य आँखाअघि उभिएको छ। समय न रहेछ। यतिखेर एकैछिन घोत्लिनु छ समयसँगै बनेका यी आधुनिक नगर र महानगरबारे।

एक अनकन्टारको एकलास गाउँ समयसँगै बिस्तारै आफ्ना पुराना चेहरा, बानी, रहनसहनभन्दा पर अर्कै केही भइसक्दोरहेछ। सहर बनिसक्दो रहेछ। समाजशास्त्री लुइस मम्फोर्डको भनाइ घतलाग्दो छ। उनी भन्छन्, सहरहरू समयका उत्पादन हुन् (दि कल्चर अब सिटिज)। समय। निश्चय नै समय नै त रैछ 'क्रो म्याग्नन्'बाट साइब्रोगसम्म पुर्‍याउने। गाउँबाट नगर र महानगरसम्म पनि।

सहरबारे आ–आफ्नै बुझाइ छन्। भारतीय लेखक निर्मल बर्माका लागि सहरको कम्तीमा दुई अनुहार हुन्छ। एउटा, पोस्टकार्ड वा गाइडबुकमा देखिने आम अनुहार। अर्को, उसको आफ्नो निजी अनुहार जसमा दुःख, खुसी, अवसाद सबै झल्किन्छन्। बर्माको बुझाइमा सहर केवल निर्जीव संरचनाको थुप्रो नभई एक पहिचान बोकेको अस्तित्व हो।

टर्किस लेखक ओरान पामुकको आफ्नो सहर प्रेम झनै बिछट्टैको छ। उनी भन्छन्, इस्तानबुलको भाग्य नै मेरो भाग्य हो। उनलाई उही सहर, उही गल्ली, र उही घर प्रिय लाग्छ। अट्टोमन साम्राज्यको पतनसँगै टर्कीमा फैलिएको अनिश्चितता, हिउँ कुहिरोको चोटले ग्रस्त इस्तानबुलको

हुजुनयुक्त गल्लीहरू उनलाई खुब मन पर्छ। उनले त सहर सम्झनामा एउटा पुस्तक नै तयार पारेका छन् 'इस्तानबुलः मेमोरिज अफ ए सिटी।' अजीव लाग्छ लेखकहरूको सहर बुझाइ र सहर प्रेम।

मेरो लागि सहर एक कोलाज हो। रंगीचंगी सपनाको कोलाज। स्वतन्त्रताको उडान हो सहर। सपनाको खोजी र लक्ष्य प्राप्तिको हुटहुटी। सहर कोलाज हो, विचार, संस्कृति, अनेकन जीवनहरूको। सहर हो एक शून्यता। भीडभित्रको एकान्त। कोलाहलभित्रको निरवता। आवाजभित्रको मौनता। र हो एक रहस्य पनि।यस्तै सहरीपनले बनेको छ काठमाडौं।

बैजनी सहर

वैशाख फक्रिएको छ सहरमा आजकल। बैजनी बनेको सहर भएको छ काठमाडौं। यही स्वप्नील र रहस्यमयी मौसममा यतिखेरको मेरो सहर चिन्तनमा जोडिन आइपुग्छ कफी सप। चोक र गल्लीहरूमा उम्रिएका छन् अनेकन् कफी क्याफेहरू।

अपरिचितका लागि एस्प्रेसो सट जस्तै टर्रो हुन्छ सहर।पछि बिस्तारै बानी पर्दोरहेछ। त्यो टर्रोपना कतिखेर स्मुद लात्ते बनिसक्छ पत्तै नहुने। सहर भन्नु एक लत पनि त रहेछ।

काठमाडौं पहिलो पटक टेक्दाको त्यो सुदूरसम्झना अब धुमिल भइसकेको छ। तर, अझै पनि हरियै छन् चक्रपथ वरिपरिका रहरलाग्दा रूख सम्झनामा। समयसँगै ती हरियाली गायब भए। सायद विकाससँगै सहरको अनुहार फेरिन्छ र भित्रिन्छ एउटा भिन्दै संस्कृति। जस्तै आज कफी संस्कृति भित्रिएको छ हाम्रो सहरमा।

काठमाडौंलाई मनमा खेलाउँदै गर्दा सोचाइको अर्को शृंखला जोडिन पुगिसक्छ लन्डनका स्टारबक्स कफी सपहरूमा। एक टुक्रा स्वप्नील समय बिताएँथे उता। अपरिचितका लागि एस्प्रेसो सट जस्तै टर्रो हुन्छ सहर। पछि बिस्तारै बानी पर्दोरहेछ। त्यो टर्रोपना कतिखेर स्मुद लात्ते बनिसक्छ पत्तै नहुने। सहर भन्नु एक लत पनि त रहेछ।

लाग्छ, सहर या महानगर भन्नु हतार र डेडलाइनका पर्याय हुन्। संसारको एक वाचाल महानगर लन्डनमा बेतोडले दौडिरहने लाखौं खुट्टा यसैका उदाहरण। लन्डनवासीलाई कहाँ फुर्सद र घरमा ब्रेकफास्ट तयार गर्न। त्यसैले बिहानै कफी पसलहरूमा देखिन्छ अफिस दौडिन हतार कारिन्दाको लामो लर्को। केही टुक्रा केक र टेकअवे कपमा बोकेको कफीसँगै सबेरै ब्यँझिन्छ महानगर।

तर, काठमाडौं अल्छे पारामा ढिला जाग्छ। यहाँको चियापसलको बिहानी चहलपहलमा सामेल हुनेहरू (प्रायः पुरुष)लाई चियाको सुर्कोसँगै गरमागरम राजनीतिक गफका लागि पनि प्रशस्त समय छ। हाम्रो सहरमा फुर्सद बढी सल्बलाउँछ। त्यसैले काठमाडौं सहरको बिहानी ढिला सुरु हुन्छ। सुस्त हिँड्छ कि जस्तो समयको टिक् टिक् पनि। तर, छिट्टै ब्यूँझिनु पर्छ कामकाजी आमाहरू यही सहरमा। उनीहरूका लागि भान्साको प्रभातकालीन महायुद्धदेखि बालबच्चाको तयारीसम्मको चटारो एक्लैले छिचोल्ने जिम्मा जो हुन्छ।

एउटै ठाउँ तर सबैका लागि फरकफरक गरी समय बग्ने सहर हो काठमाडौं। हतार र हतास, फुर्सद र पट्यारसँगसँगै हिँड्ने सहर हो काठमाडौं। ममचा, बारादेखि पिजा र सिज्लर अनि अयलादेखि लेटेस्ट अग्र्यानिक कफीसम्मको संगम हो काठमाडौं। सहरमा बढेको कफी कल्चरले मलाई कट्टिसार्कको स्यानो तर न्यानो स्टारबक्समा पुर्‍याउँछ जहाँ प्रत्येक टेबलमा उडिरहेको कफीको बेफिक्री, बाफसँगै किताब र ल्यापटमा मग्न मानिसहरू भेटिन्थे।

त्यही त हो मैले ओरान पामुकको देशको एक साहित्यप्रेमी ओमरलाई भेटेको। उसले एडुवार्डो ग्यालिआनोको 'ओपन भेन्स अफ ल्याटिन अमेरिका' पढ्न सुझाएका थिए। तर, जब म हाम्रो सहरको कफी कर्नरबाट नियाल्छु, मात्र देखिन्छन् गफगाफमा मात्रै मग्न फुर्सदिला मान्ठाहरू। आशा छ यो बैजनी सहरको कफी कर्नरमा कुनै दिन ओमरजस्तै कोही भेटिएलान्।

सुनौलो सहर

मानवशास्त्री जेरेड डायमन्डले उनको प्रसिद्ध पुस्तक 'गन्स, जम्र्स एन्ड स्टिल'मा इन्का सम्राट अटाहुअल्पाको पतन र उसको साम्राज्यमाथि स्पेनीहरूको हस्तक्षेपको एक प्रसंग उल्लेख गरेका छन्। सन् १५३२ नोभेम्बर १६ मा जम्मा एक सय ६८ जना सैनिकका साथ काजामार्का पुगेका फ्रान्सिस्को पिजारोले विशाल इन्का साम्राज्य नै हात पार्न सफल भए। कारण थियो, युरोपको सभ्यता, आधुनिक हतियार र चेतना।

अपरिचितका लागि एस्प्रेसो सट जस्तै टर्रो हुन्छ सहर। पछि बिस्तारै बानी पर्दोरहेछ। त्यो टर्रोपना कतिखेर स्मुद लात्ते बनिसक्छ पत्तै नहुने। सहर भन्नु एक लत पनि त रहेछ।

जोड्न खोजेको हँ, ज्ञान र चेतनाको प्रसंग। युरोपका देशहरू छ/सात सय वर्षअघि नै निकै अगाडि थिए। त्यो चेतना, विशिष्ट सभ्यता र संस्कृति आज छुट्टै उचाइमा पुगिसकेको छ। लन्डन बसाइमा मैले महसुस गरेको एक सुन्दर कुरा हो, त्यहाँको पठन संस्कृति। पिक आवरको खचाखच रेल छ। यात्रुहरूलाई अडिने ठाउँ भेट्न मुस्किल पर्दैछ। तर, जसोतसो अडिनेबित्तिकै हातमा आइसकेको हुन्छ पुस्तक या किन्डल। उही दृश्य दोहोरिन्छ बस, रेस्टुराँ, क्याफे, अथवा पार्कमा पनि।

जब म हाम्रो सहर घुमाइमा निस्कन्छु तब अनायासै मेरो नजरले खोज्न थाल्छ पुस्तकमा मग्न यात्रुहरू। तर, बिरलै भेटिन्छन् सार्वजनिक स्थलमा पुस्तकमा रमिरहेकाहरू। खल्लो खल्लो हुन्छ मन। प्रविधिको प्रयोग त हातहातमा पुगिसकेको छ हाम्रो सहर, गाउँमा पनि। तर, पुस्तकप्रतिको यो दूरी र चिसोपना किन होला ?

आजकल पढालिखा अभिभावकका केटाकेटीहरू लेटेस्ट स्मार्टफोन र ट्याब्लेटका गेममा मस्त रम्दा कोर्स बाहिरका पुस्तक बुक सेल्फतिरै अलपत्र परिरहेका हुन्छन्। अत्याधुनिक भौतिक संरचना, सपिङ मल, रेस्टुराँ र अनेकन आधुनिक प्रविधिसँग हातेमालो गरिरहेको हाम्रो सहरमा अझै पठन संस्कृति विकास हुन सकेको छैन। हामी दैनिक नयाँनयाँ आयातीत संस्कृतिको लती हँदै छौ तर राम्रो संस्कृति भने ओझेलिरहेकै छन्।

लन्डन बसाइक्रममा भेटिएकी किशोरी हानाको पुस्तक प्रेम देखेर म हायलकायल पर्थे। उनको रुचि किशोरकिशोरीलाई मनपर्ने खालका उपन्यास नै भए पनि आफ्नो लन्च आवरमा समेत किताब पढिरहेको भेट्दा गजब लाग्थ्यो। सायद, त्यो उनले आफ्नो समाजबाट पाएको एक सुन्दर संस्कृति थियो।

किताबको सहज उपलब्धता अर्को गजबको पाटो हो त्यस सहरको। तर, हाम्रो सहरमा आफूले पढ्न चाहेको पुस्तक पाउनै मुस्किल पर्छ। केही सीमित पुस्तकालयहरू पनि सबैका लागि सहज छैनन्। लन्डन महानगरको एक सुन्दर पक्ष हो, पढ्न चाहनेलाई लोकल लाइब्रेरीहरूले सहजै उपलब्ध गराइदिने अनेकन पुस्तक।

थोमस म्यानको 'दि म्याजिक माउन्टेन' र आद्रे आगासिको जीवनी 'ओपन' पढ्न मन थियो तर उलिच लाइब्रेरीमा भेटिएन। आफूले खोजेको किताबको लिस्ट थमाइदिएँ त्यहाँको कर्मचारीलाई। केही दिनपछि एउटा चिठी मेरो नाममा आइपुग्यो। चिठीमा पुस्तक लिन आउनु भन्ने निम्तो थियो। त्यस बखत मेरो खुसीको सीमा रहेन। आज हाम्रो सहरको प्रत्येक चोकचोकमा बैंक, सिनेमा र सपिङ कम्प्लेक्स ठडिरहेका छन् तर पुस्तकालय ?  यही प्रश्नले अलि पिर पार्छ।

सिकारु सहर

हर्क गुरुङको काठमाडौं बुझाइ मीठो लाग्छ। लेखेका छन्, 'बाहिर (विदेश) बाट आउँदा काठमाडौं खुम्चिन्छ, भित्र (पहाड) बाट आउँदा त्यही काठमाडौं फैलिन्छ। जहाँबाट आए पनि यसको चोला फेरिएको हुन्छ।' (विषय विविध )

सायद उनले भने जस्तै यो सहर अनेकन अनुहार र स्वरूपसहितको एक मायावी सहर हो। पाइलैपिच्छे देवीदेउताको बास भएको आस्थाको सहर। श्यामश्वेत बागमती घिस्रिरहेको लोसे सहर। ज्याकाराण्डाको वैजनी चञ्चलता बोकेको वाचाल सहर। रंगीचंगी सपनाहरू बाँडिरहेको एक स्वप्नील सहर। साथै राम्रा संस्कृतिहरू विकास गर्न बाँकी रहेको एक सिकारु सहर पनि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.