इँटा भट्टामै विद्यार्थी भर्ना

इँटा भट्टामै विद्यार्थी भर्ना

धुनीबेंसी (धादिङ) : जिल्लाका इँट उद्योग बाल श्रममुक्त बनाउन र मजदुरका बालबालिकालाई विद्यालय शिक्षा दिलाउन उद्योगमै भर्ना अभियान चलाइएको छ। इँट उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई भर्ना गरी उद्योग परिसरमै पढ्ने व्यवस्था मिलाइएको छ।

यसै वर्षको शैक्षिक सत्रबाट नेपाल सरकारले विद्यालय भर्ना अभियानलाई कडाइसाथ लागू गरेपछि धादिङका इँट उद्योगमा काम गर्दै आएका श्रमिकका बालबालिकालाई विद्यालय भर्ना गर्न सुरु गरिएको हो। स–साना बालबालिकाका लागि उद्योग परिसरमै शिक्षकको व्यवस्था गरी बाल विकासको कक्षा सुरु गरिएको छ भने विद्यालय जान सक्ने बालबालिकालाई पायक पर्ने विद्यालयमै लगेर भर्ना गरिएको छ।

सरकारी टोलीसहित विद्यालयका शिक्षकले उद्योगमै भर्ना अभियान चलाएका हुन्। धुनीबेंसी नगरपालिकाको इँट उद्योगमा काम गर्दै आएकी महोत्तरी जिल्लाकी सुक्रिमाया घलेले आफ्ना तीन छोरीलाई भर्ना अभियानको टोली पुगेपछि नजिकै रहेको महेश धर्म माध्यमिक विद्यालयमा भर्ना गरिदिएकी थिइन्। आफूले पढ्न नपाएको गुनासो गर्दै सुक्रिमायाले भनिन्, ‘हामी काम खोज्दै महोत्तरी छाडेर हिँडेपछि नानीहरूलाई पढाउन पाएका थिएनौं, यहाँ काम गरेकै ठाउँमा बसेर पढाउन पाइने भइयो, खुसी लागेको छ।’ श्रीमान्सँगै इँट उद्योगमा काम गर्दै आइरहेकी घले बिहानदेखि बेलुकासम्म उद्योगमै काम गरेर बिताउने गर्छन्। छोरीहरूलाई पढाएर ठूलो मान्छे बनाउने रहर भए पनि आर्थिक अभाव र काम गर्नै पर्ने बाध्यताले आफूहरूले सँगै लिएर हिँड्नुपरेको गुनासो गरिन्।

धादिङमा दर्ता भएका ३३ वटा इँट उद्योग छन्। तीमध्ये ५ वटा उद्योगमा बालबालिकाको भर्ना र शिक्षादीक्षाका लागि परियोजनाकै रूपमा प्रयास नेपाल नामक गैरसरकारी संस्थाले जिम्मा लिई काम गरिरहेको छ। प्रयास नेपाल र ग्लोबर फेयर नेसनल साझेदारीमा बेटर ब्रिक परियोजनाअन्तर्गत इँट उद्योगका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको हो।

धुनीबेंसी नगरपालिकास्थित महालक्ष्मी इँट उद्योग, हिमाल इँट उद्योग, थाक्रे–७ को एभरेष्ट इँट उद्योग, थाक्रे–८ को यती टाइल एन्ड ब्रिक इन्डस्ट्रिज र गजुरी–५ को राजधानी इँट उद्योगमा रहेका बालबालिकालाई श्रममुक्त गर्ने र शिक्षादीक्षा दिलाउने अभियान सञ्चालन गरिएको वेटर ब्रिक परियोजनाका संयोजक प्रदीप श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भर्ना गर्ने मात्रै होइन, वर्षभरि उनीहरूको पढाइ अनुगमन पनि गर्नेछौं। ५ उद्योगका २ सय बालबालिकालाई भर्ना गरिसकेका छौँ।’ मजदुरका बालबालिकाको शिक्षादीक्षाका साथै उद्योगलाई बाल श्रममुक्त बनाउँदै लैजाने श्रेष्ठले बताए।

इँट उद्योगमै पुगेर भर्ना अभियान सञ्चालन गरिए पनि त्यहाँ काम गर्ने मजदुर भने अस्थायी रूपमा घरपरिवारसहित कामका लागि आउने र केही महिना काम गरेपछि फर्केर जाने गर्नाले बालबालिकाको पढाइ छुट्ने गरेको छ। बीचबीचमा घर आउने–जाने गर्दा पढाइ छुट्ने गरेको शिक्षक बताउँछन्। महेशधर्म उमाविका निमित्त प्रधानाध्यापक घनश्याम अधिकारीले भने, ‘विद्यालय भर्ना अभियान कार्यक्रममा मजदुरका बालबालिकाको पनि उत्साहजनक सहभागिता रहन्छ तर उनीहरूलाई टिकाइराख्नचाहिँ साह्रै गाह्रो हुन्छ।’

भूकम्पपछि जिल्लाको धुनीबेंसी नगरपालिका, थाक्रे र गजुरी गाउँपालिकामा इँट उद्योग सञ्चालनमा छन्। सञ्चालित कतिपय इँट उद्योगमा बालबालिका प्रयोग भइरहेका छन्। बालबालिकालाई श्रममुक्त गराई विद्यालयमा पठनपाठनका लागि सम्बन्धित पालिका तथा विभिन्न संघसंस्थाले पनि अभियानका कार्यक्रम सञ्चालन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.