काष्ठकलामा रम्दै दाजुभाइ
बुटा कुदेर मासिक लाख
बनेपा ः रोजगारी र पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई काभ्रे पनौती नगरपालिका दुई दाजुभाइले गलत साबित गरिदिएका छन् । घरमै विभिन्न काठमा बुट्टा कुदेर उनीहरूले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
‘घरमै बसेर मासिक एक लाख रुपैयाँ कमाउँछु’, २७ वर्षे सांगडुप लामाले भने, ‘काम गर्ने इच्छा शक्ति र जागर चाहिन्छ । पैसा त नेपालको हावापानीमै घुमिरहेको छ । चिन्न मात्र सक्नु पर्छ ।’ उनले खाडीको टन्टलापुर ५० डिग्रीको घाममा रगत पसिना बगाउने मेरो सोच कहिले नआएको बरु स्वदेशमै १८ घण्टासम्म काम गर्ने बताए । १६ वर्षको उमेरदेखि हस्तकलामा रुची राख्दै भक्तपुरको पाटनबाट काष्ठकलाको नौ महिने तालिम लिएका लामाले १० वर्षअघि आफ्नै व्यवसाय सुरु गरेका थिए । उच्च शिक्षामै पढाई रोकी काष्ठकलामै लिप्त भए उनी ।
सानो उमेरदेखि नै पैसा कमाउने उद्देश्यले यहीँ काममा दक्षता हासिल गरेका लामाले आफ्नो काममा मद्दतका लागि भाइ सुनसागर लामालाई काष्ठकलाको तालिम दिए । निम्नस्तरको परिवारमा जन्म भएकाले सानो उमेरदेखि घर व्यवहारमा परेको उनले सुनाए । अरुको काम गर्नुभन्दा आफ्नै काममा सहज हुने भन्दै उनले भाइलाई पनि सीप सिकाए र यहीँ व्यवसायमा लगाए । लामाका दाजुभाइले काष्ठकला उद्योगसमेत दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कमाएको पैसाले नयाँ घर, जग्गा खरिद र पारिवारिक खर्च कटाएर बचेको रकम सहकारीमा बचत गर्ने गरेका लामा दाजुभाइले दैनिक १८ घण्टा काममा लाग्ने गरेको बताउँछन् ।
लामा दाजुभाइ हातले काठका झ्याल, ढोका र मूर्ति बनाउने गरेका छन् । पछिल्लो समय घरमा बुट्टेदार झ्याल ढोका राख्ने प्रचलन बढेसँगै माग अनुसारको काम गर्न नसकेको उनी बताउँछन् । ‘एउटा ढोकामा बुट्टा कुदेको ८० हजारदेखि ६ लाख रुपैयाँसम्म पर्ने गर्छ । अहिले भ्याइनभ्याइ छ । दैनिक १६ घण्टा दाजुभाई काममा लाग्दासमेत भ्याएका छैनौं’, उनले भने, ‘पैसा मात्र कमाएका छैनौं लोप हुन लागेको हस्तकला, काष्ठकलाको जगेर्नासमेत गर्ने गरेका छौं ।’ पछिल्लो समय युवा पुस्तामा आफ्नो कलासंस्कृति हराउँदै गए पनि जर्गेना गर्न यसले थप मद्दत पुगेको बताए ।
पछिल्लो समय ठुल्ठूला घर र कार्यालयमा बुट्टेदार झ्याल ढोका राख्ने परम्परा र होडबाजी चल्दै गएकाले ग्राहकले बुट्टा र त्यसको डिजाइनअनुसार तोकिएको मूल्य दिन नहिच्किचाउने गरेको अनुभव सुनाए । उनले दुई सयभन्दा बढी सरकारी कार्यालय र एक हजारभन्दा बढी घरमा बुट्टेदार झ्याल ढोका बनाएको बताए । काठलाई विभिन्न आकार प्रकारमा र बुट्टा भर्ने गर्छन् । काठबाट खराची, हुक्का, मूर्ति, फोस पिल्लर, झ्याल ढोकामा बुट्टा भर्ने काम गर्दै आएको उनी बताउँछन् । ‘एउटा ढोकामा बुट्टा भर्न दुई हप्ता लाग्छ भने अन्य देवी देउताका मूर्तिसमेत बनाइ बिक्रीवितरण गर्ने गरेका छौं’, उनले भने । तयार गरिएका हस्तकलाका सामान काभ्रे, भक्तपुर, ललितपुर, चितवन, सुनसरी, विराटनगर, लहान, सप्तरी, विराटनगर, र अन्य जिल्लालगायत भारत, हल्यान्ड,फ्रान्स, जर्मन, आइसल्यान्डलगायत मुलुकबाट समेत माग आउने गरेको लमाले बताए । अगराठको झ्याल ढोका, लोकल काठ लाकुरी, चिलाउने, साल र कडा जातका काठमा बुट्टा राम्रो हुने लामाले बताए ।
व्यावसायिक रूपमा राज्यलाई कर तिर्ने उद्देश्यले उद्योग दर्ता गरी सञ्चालन गरे पनि सरकारले कुनै चासो नदिएको लामाले गुनासो गरे । ‘एक त हामी युवा त्यसमाथि पनि लोप हुन लागेको काष्ठकलाको काम गर्छौं । प्रोत्साहान र सहयोग परैजाओस् कामको समेत सम्मान गर्दैन ।’ लामा दाजुभाइले कोही कसैबाट साथ सहयोग पाए स्वदेश मात्र नभई विदेशमासमेत सामान निर्यात गर्ने सोच रहेको बताए । लामा दाजुभाइबाहेक अन्य तीन जनालाई रोजगारी दिई वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !