बाह्रैमास पानीकै पिरलो

बाह्रैमास पानीकै पिरलो

गुल्मी : मदाने गाउँपालिका-७ भनभने गुल्मीका स्थानीयले वर्षौंदेखि बाह्रै महिना खानेपानीको समस्या झेल्दै आएका छन्। गाउँमा खानेपानीको समस्या विकराल बन्दै गएको उपभोक्ताले गुनासो गरेका छन्। बस्तीदेखि तलको भागमा पानीको मुहान भएकाले गाउँमा खानेपानी ल्याउन नसकिएको स्थानीयको गुनासो छ। स्थानीय बुकखोलाबाट डोकामा पानी बोकेर घरमा पानीको जोहो गर्ने गरिएको स्थानीय कृष्णबहादुर परियारले बताए।

 ‘हिउँद बर्खा जहिल्यै पनि पानीको चिन्ताले सताइरहन्छ’, उनले भने, ‘पानीको समस्या भएको वर्षौं भइसक्यो। छोराछोरीले राम्रोसँग पढ्न पनि पाएका छैनन्।’ गाई-भैँसीलाई समेत पानी बोकेर खुवाउनुपरेको उनले गुनासो गरे। गाउँका परियार टोल, सिमलेपाटीलगायत बस्तीमा खानेपानीको समस्या अझ बढी हुने गरेको उनले बताए। ‘छोरी पाँच कक्षामा पढ्छिन्’, उनले भने, ‘बिहानभरि पानी बोक्दैमा बित्छ। धेरैजसो छोरीको स्कुल छुट्छ।’ श्रीमतीले घरको काम गर्नुपर्ने भएकाले बाबुछोरीको दैनिकी पानी बोक्दैमा बित्ने गरेको उनले सुनाए।

गाउँका करिब सय घरधुरीले पानीको समस्यामा दैनिकी बिताइरहेको स्थानीय ६० वर्षीय हरिकला नेपालीले गुनासो पोखिन्। ‘वनको बीचमा रहेको सानो मुहानमा बर्खाको बेला जुका पन्छाउँदै पानी बोकेर ल्याउनुपर्छ’, उनले भनिन्, ‘चुनाव आउँदा नेताले घरघरमा पानी ल्याइदिन्छौँ भने, जितेर गएपछि फर्केर हेर्दैनन्।’ दिनमा ५÷६ गाग्री पानी नबोक्दासम्म घरको अन्य काम गर्ने फुर्सद नै नहुने उनले सुनाइन्। पानीकै चिन्ताले अन्य काममा बाधा पुगिरहेको नेपालीको दुखेसो छ। बर्खा, हिउँद सधैँभरि गाउँमा खानेपानीको जोहो गर्ने पिरलो गाउँलेलाई हुने गरेको छ।

गाउँपालिकामा चुनाव जितेर आएका जनप्रतिनिधिलाई गाउँको समस्या समाधान गर्नतर्फ चासो दिन उनले आग्रह गरिन्। ‘गाउँले सबैको एक मात्र माग खानेपानीको सुविधा गराइदिन छ’, उनले भनिन्, ‘बरु बाटोघाटो फेरि खनौंला पहिला पानी चाहियो।’ गाउँदेखि तल कुँडापानी सामुदायिक वननजिकै रहेको सानो मूलमा घण्टौं लाइन बसेर गाउँलेले पानी भर्ने गरेको उनले जानकारी गराइन।

झण्डै एक घण्टा लगाएर घरमा पानी बोक्ने गरेको नेपालीको गुनासो छ। ‘खानेपानी पुग्दैन’, उनी भन्छिन्, ‘खेतबारीमा सिँचाइ गर्ने सपनाजस्तै लाग्छ।’ परिवारको संख्या थोरै हुनेलाई पानी बोक्न अझ बढी समस्या हुने गरेको स्थानीयको गुनासो छ। खानेपानीको पिरलोले गर्दा गाउँका अधिकांश बालबालिकाको पठनपाठनसमेत प्रभावित हुने गरेको स्थानीयले गुनासो गरेका छन्। व्यक्तिगत सरसफाइ गर्नसमेत उनीहरूलाई समस्या छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.