घरसँगै ऋण पनि ठडियो

घरसँगै ऋण पनि ठडियो

 धादिङ : तीन वर्षको हिउँद र वर्षा टहरामै गुजारेका भूकम्पपीडितले यसपालि घर बनाए पनि घरसँगै ऋण पनि ठडिएको गुनासो गरेका छन् । नेपाल सरकारले प्रत्येक भूकम्पपीडितलाई घर बनाउन अनुदान उपलब्ध गराएको भए पनि अनुदान सहज रूपमा नपाउँदा ऋण गरेर घर बनाउनुपरेको भूकम्पपीडितले बताएका छन् ।

एकातिर सरकारले दिने अनुदानबाट मात्रै घर बनाउँदा आफ्नो आवश्यकता पूरा नहुने सानो घर बन्ने र अलिक ठूलो बनाउँदा ऋण खोज्नुपर्ने बाध्यतामा भूकम्पपीडित छन् । बाहिरबाट पैसाको जोहो गर्न नसक्नेले भूकम्पपीडितले अनुदानको पैसा लिनकै लागि भनेर १ कोठे सानो घर बनाएका छन् ।

नीलकण्ठ नगरपालिका-९ का बाबुराम लम्सालले भने, ‘तीन वर्षसम्म टहरा र चर्केकै घरमा टेको लगाएर बसियो, यसपालि घर बनाए, २ तलाको घर बनाउँदा ४ लाख त ऋण नै लाग्यो ।’ पहिलो किस्ताको अनुदान लिएको १ वर्षपछि मात्रै घर बनाउन थालेका लम्सालले अझै दोस्रो किस्ता पाएका छैनन् । ‘दोस्रो किस्ताका लागि निवेदन दिएको छु, सहकारी र समूहबाट निकालेको पैसाको ब्याज बढिरहेको छ, यता अनुदानको पैसा पनि अल्झिरहको छ ।’ लम्सालले भने, ‘दोस्रो किस्ता लिने दिनसम्म त ब्याजै आधा तिर्नुपर्ने अवस्था आउने भयो ।’

नेपाल सरकारले नै अनुदानको रकम लिने समयसीमा तोकेर कडाइ गरेपछि घर बनाउने संख्यामा केही वृद्धि भएको छ । नेत्रावती गाउँपालिका-४, माथिल्लो घोर्मुका धनबहादुर घलेले घर ठड्याएका छन् । उनले ढुंगा-सिमेन्टको गारोमा जस्तापाताले छाएको दुईकोठे घर बनाएका छन् । सरकारले दिएको ५० हजारबाट घर बनाउन सुरु गरेका उनले दोस्रो, तेस्रो किस्ताबापत ३ लाखमा डेढ लाख थपेर साढे ४ लाख रुपैयाँमा घर बनाएका हुन् ।

‘घर बनाउँदा बनाउँदै पैसा पुगेन,’ धनबहादुरले भने, ‘छरछिमेकबाट डेढ लाख ऋण खोजेर घर ठड्याए । भूकम्पपछि टहरामै बास थियो । अहिले बल्ल पक्की घरमा बस्न पाएको छु ।’ उनको ११ जनाको परिवार छ । छोराछोरी पढ्न अन्यन्त्र बस्छन् । चाडपर्व र परिवारका सबै सदस्य जम्मा भएका बेला दुईकोठे घरमा सुत्ने ठाउँ अभाव हुने उनले बताए ।

त्यस्तै, नीलकण्ठ-९ कै अम्बिका दुवाडीले पनि घर बनाउँदा २ लाख ऋण लागेको बताइन् । आफ्नै शैलीमा घर निर्माण गर्दा इन्जिनियरले घर पास नगरिदिने हो कि भनेर सरकारको मापदण्डअनुसार घर बनाउन थालेपछि सरकारले दिएको पैसाले नपुगेर ऋण खोज्नुपरेको दुवाडीले बताइन् । ‘सरकारले अनुदानमा दिएको भनेको अहिलेसम्म जम्मा २ लाख हो ।’ दुवाडीले भनिन्, ‘घर बनाउँदा बनाउँदै अलपत्र छाड्न भएन, ऋण धन गरेर घर बनाइसकी तेस्रो किस्ताका लागि निवेदन दिएको छु, तेस्रो किस्ताको रकम लिएर ऋण तिर्दा पनि डेढ लाख त तिर्न बाँकी नै रहने भयो ।’

धादिङ जिल्लामा भूकम्पपछि पुनर्निर्माणका लागि ७३ हजार २ सय ७६ लाभग्राही सूचीमा परेका थिए । त्यसमध्ये ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता गरेकामध्ये ६८ हजार १ सय ६४ जनाले पहिलो किस्ताबापत रकम लगेका छन् । पहिलो किस्ताको रकम लिई घरको जग हालेपछि मात्रै दोस्रो किस्ता पाइने प्रावधान छ । ०७५ वैशाख पहिलो सातासम्म जम्मा ४१ हजार ५ सय ६९ घरधुरीको मात्रै दोस्रो किस्ता सिफारिस भएको जिल्ला आयोजना कार्यान्वयन इकाइप्रमुख दिलीप भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.